२०८१ कार्तिक २ गते १४:३३ विकासन्युज
काठमाडौं । अधिकांश विद्यार्थीले पढ्नका लागि रुचि राख्ने विद्यालय हो- युलेन्स स्कुल । ललितपुरको खुमलटारमा रहेको यस स्कुल ‘युलेन्स एजुकेशन फाउण्डेशन ट्रस्ट’ ले सञ्चालन गरेको हो । यो स्कुल सञ्चालनमा आएको को १८ वर्ष पुगिसकेकाे छ । प्रगतिशील शिक्षा (प्रोग्रेसिभ एजुकेशन)लाई जोड दिइरहेको यो स्कुललाई धेरैले महँगोको ट्याग पनि लगाएका छन् ।
युलेन्समा कक्षा १ देखि १० सम्म दुइटा सेक्सन छन् । प्रत्येक सेक्सनमा ३० जना विद्यार्थी छन् । यसरी हेर्दा कक्षा १ देखि १० सम्म ६ सय जना विद्यार्थी छन् । युलेन्समा तहअनुसार शुल्क पनि फरक छ ।
२२ रोपनी क्षेत्रफलमा फैलिएको युलेन्सको १७ रोपनी आफ्नै र ५ रोपनी जग्गा भाडामा छ । तीनवटा आफ्नै भवन छन् भने दुइटा भवन भाडामा लिएर पठनपाठन सञ्चालन हुँदै आएकाे छ । यो भव्य विद्यालयसँग बेलाबखत नेपाली कांग्रेसकी नेतृ तथा वर्तमान परराष्ट्र मन्त्री डा. आरजु राणाको नाम पनि जोडिन्छ ।
यसअघि आरजु विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएकाले धेरैले उनको स्कुल भएको पनि चिन्छन् । तर, अहिले व्यवस्थापन समितिको नेतृत्व सोमप्रसाद पनेरुले गरिरहेका छन् । अहिले स्कुलको पाँच सदस्यीय व्यवस्थापन समिति छ ।
देशकै महँगो स्कुलको ट्याग लागेको यो स्कुलको वार्षिक कमाइ चाहिं कति होला ? यस विषयमा सबैको चासो हुनु स्वाभाविक हो ।
कम्पनीले यस वर्ष रेटिङ गराएको छ । केयर रेटिङ नेपालले गरेको रेटिङमा यस स्कुलले सन् २०२४ मा ७५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अपरिष्कृत वित्तीय विवरण हो । यो आम्दानी मात्रै हो, नाफा भने हाइन । स्कुलले सन् २०२३ मा ७५ करोड ५० लाख र सन् २०२२ मा ६३ करोड रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२२ को तुलनामा सन् २०२४ मा यस स्कुलले २० प्रतिशत बढी आम्दानी गरेको देखिन्छ ।
यस स्कुलले ६० करोड दीर्घकालीन र ५ करोड रुपैयाँ अल्पकालीन गरी कुल ६५ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । स्कुलले केयर एनपी ए थ्रीको रेटिङ पाएको छ ।
युलेन्स एजुकेशन फाउन्डेसन गैर-नाफामूलक संस्था हो । नेपालमा विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको स्कुलले विद्यार्थीको सामाजिक विकास र संवेगात्मक विकासमा जोड दिइरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.