सरकार परिवर्तनको हल्ला सेयर बजारमा, ‘छिट्टै उच्च बिन्दुमा पुग्छ’

  २०८१ कार्तिक ५ गते १५:४०     विकासन्युज

काठमाडाैं । दशैंपछि लगातार बढेको सेयर बजार पछिल्लो दुई दिनदेखि फेरि घट्न थालेको छ । पछिल्लो दुई दिनमा सेयर बजार परिसूचक नेप्से १०५.४३ अंकले घटेको छ ।

हिजो आइतबार ४७.४४ अंकले घटेको बजार सोमबार ५७.९९ अंकले घटेर नेप्से परिसूचक २ हजार ६ सय ३९.९२ बिन्दुमा रोकिएको छ । आज १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९० करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

यस दिन २२१ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा २३ वटा कम्पनीको मूल्य वृद्धि भएको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले वृद्धि हुँदा कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.८२ अंकले वृद्धि भएको छ । न्यादी ग्रुप पावरको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यस कम्पनीको सेयर मूल्य ९.२० प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । हिमालय रिको २२ करोड ३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

किन घट्यो ?

सेयर बजारका जानकारहरूले राजनैतिक हलचलका कारणले सेयर बजार घटेको बताउँछन् । सेयर लगानीकर्ता राधा पोखरेलले पछिल्लो समय सरकार ढल्छ भन्ने समाचारहरू आएकाले त्यसको असर सेयर बजारमा देखिएको बताउँछिन् । उनले भनिन्,  ‘रवि लामिछाने पक्राउ परेपछि सरकार ढल्छ भन्ने हल्लाहरू आएका छन् । यस्ता हल्ला रवि पक्रिनुपूर्व पनि आएका थिए । यिनै कुराले सेयर बजार घटेको हुनसक्छ ।’

इन्भेष्टर्स फोरम नेपालका अध्यक्ष छोटेलाल रौनियार पनि सरकार परिवर्तन हुने कुराले बजार घटेको बताउँछन् । उनले भने, ‘दुई तिहाइको सरकार ढल्ने समाचारहरू आएका छन् । यसले लगानीकर्ताको मनोबल खस्किएको हुनसक्छ । त्यसले गर्दा सेयर बजार घटेको हो ।’

तर, उनले अहिले सरकार परिवर्तन भएपनि बजारलाई असर नगर्ने बताए । उनका अनुसार अहिले बैंकको ब्याजदर न्यून रहेको छ । बैंकले तरलता पनि प्रशस्तै छ । चाहिए जति ऋण बैंकले दिने अवस्थामा रहेको उल्लेख गर्दै उनले भने, ‘यो बेला भनेको सेयर बजार उकालो लग्ने बेला हो ।’

रौनियारले यथार्थलाई नबुझेर विभिन्न हल्लाको पछि नलाग्न पनि लगानीकर्तालाई अनुरोध गरेका छन् । उनले एक-दुई दिन बजार ओरालो लागे पनि खासै चिन्ता लिनु पर्न अवस्था नहरेको बताए ।

उनका अनुसार केही दिनमै बजारले आफ्नो लय पक्रिने छ । उनले बजार उकालो लागेर बजारले नयाँ रेकर्ड राख्ने दाबीसमेत गरे । उनले भने, ‘बजारले एक-दुई दिनमै उकालो यात्रा तय गर्छ । पहिलाको उच्चतम बिन्दुको रेकर्ड पार गरेर अघि बढ्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.