२०८१ कार्तिक ६ गते १५:५१ विकासन्युज
काठमाडौं । श्री स्टील उद्योगले करिब ६ अर्ब रुपैयाँको व्यापार गरेको छ । उद्योगले सन् २०२४ को अपरिष्कृत वित्तीय विवरणअनुसार उद्योगले ५ अर्ब ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । उद्योगले सन् २०२३ मा ७ अर्ब ४ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।
उद्याेगकाे एक वर्षको अवधिमा २ अर्ब बढी कम व्यापार भएको हो । त्यो भनेको २८.८९ प्रतिशत कम हो ।
यस्तै, सन् २०२२ मा ६ अर्ब १३ करोड ८० लाख, सन् २०२१ म ७ अर्ब ४६ करोड ७० लाख र सन् २०२० मा ३ अर्ब २५ करोड ८० लाख रुपैयाँ व्यापार गरेको जनाएको छ ।
सन् २०१६ मा स्थापित यो स्टील उद्योगको वार्षिक १ लाख ५० हजार मेट्रिक टन उत्पादन क्षमता छ । तीनवटा व्यावसायिक समूहका ८ जनाको लगानी रहेको यो उद्योगमा सिद्धार्थ ग्रुपको ४३ प्रतिशत, केडियो ग्रुपको २२ प्रतिशत र मुरार्का समूहको २१ प्रतिशत सेयर स्वामित्व छ । उद्योगमा जगदम्बा इनभेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनीको १४ प्रतिशत सेयर स्वामित्व छ ।
उद्योगले ५ अर्ब ७८ करोड ६० लाख रुपैयाँ ऋणका लागि रेटिङ पनि गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले दीर्घकालीन कर्जा १ अर्ब ३३ करोड ८० लाख र अल्पकालीन कर्जा ४ अर्ब ४४ करोड ८० लाख रुपैयाँका लागि रेटिङ गरेको छ । इक्राले उद्योगलाई ए फोर रेटिङ प्रदान गरेको छ ।
यस उद्योगको नेतृत्व जगदीशकुमार अग्रवालले गरिरहेका छन् । उनी कम्पनीको सञ्चालक समितिको अध्यक्ष हुन् । उनी अर्घाखाँची सिमेन्टका अध्यक्ष पनि हुन् । उनको उत्पादन, खानी, बैंक तथा बीमा, हस्पिटालिटी, उर्जा तथा घरजग्गा क्षेत्रमा लगानी छ ।
श्री स्टील्सले टीएमटी छड पनि भारत निर्यात गरिरहेको छ । यस उद्योगले २०७९ को साउनमा भारतमा छड निर्यात गरेर पहिलो स्टील निर्यातकर्ता बनेको थियो । सुरुआतमा यस उद्योगले ३५ टन छड बेलहिया नाका हुँदै भारत महाराजगन्जको कुन सेरवामा निर्यात गरेको थियो ।
यस उद्योगले नेपालमै पहिलो पटक भूकम्प र अग्नि प्रतिरोधात्मक मानिने जापानी प्रविधिको स्वचालित प्लाण्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको दाबी गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.