बैंकहरूको खुद नाफा १६ अर्ब हुँदा वितरणयोग्य नाफा २६ अर्ब, झुक्किरहेका छन् सेयर लगानीकर्ता

  २०८१ कार्तिक ११ गते १५:३८     सन्तोष रोकाया

काठमाडौं । नबिलले बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको वित्तीय विवरणमा नाफाभन्दा बढी वितरणयोग्य नाफा देखायो । बैंकले पहिलो त्रैमासमा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गर्दा ४ अर्ब ९८ करोड अर्थात् करिब ५ अर्ब अर्ब रुपैयाँ कुल वितरणयोग्य नाफा देखाएकाे हाे ।

यो विषयलाई अधिकांश सञ्चारमाध्यमले निकै प्राथमिकताका साथ समाचारका शीर्षक बनाए- ‘नाफाभन्दा वितरणयोग्य नाफा दोब्बर, २ अर्ब नाफा ५ अर्ब वितरणयोग्य नाफा ।’

जुन अस्वाभाविक हो । जहिल्यै पनि खुद नाफाभन्दा वितरणयोग्य नाफा कम हुन्छ ।

नबिलको मात्रै होइन, प्राइम कमर्सियल बैंकको पनि पहिलो त्रैमासको खुद नाफाभन्दा वितरणयोग्य नाफा साढे १ अर्ब बढी छ । बैंकको १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा हुँदा कुल वितरणयोग्य नाफा भने २ अर्ब ७३ करोड रुपैयाँ छ ।

सानिमा बैंकको पनि पहिलो त्रैमासमा खुद नाफा ३९ करोड रुपैयाँ हुँदा कुल वितरणयोग्य नाफा भने १ अर्ब ७१ करोड रुपैयाँ देखिन्छ । नेपाल एसबिआई बैंकको पनि पहिलो त्रैमासमा खुद नाफा ८१ करोड ४६ लाख रुपैयाँ हुँदा कुल वितरणयोग्य नाफा भने १ अर्ब ८६ करोड रुपैयाँ छ । बैंकको नाफाभन्दा कुल वितरणयोग्य नाफा १ अर्ब ५ करोड रुपैयाँ बढी हो ।

पहिलो त्रैमासमा अधिकांश बैंकको कुल वितरणयोग्य नाफा खुद नाफाभन्दा बढी छ । वाणिज्य बैंकहरूको खुद नाफा १६ अर्ब २२ करोड ७९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा २६ अर्ब २८ करोड रुपैयाँ छ । तीन बैंकको कुल वितरणयोग्य नाफा भने ऋणात्मक छ ।

आखिर पहिलो त्रैमासमा बैंकहरूको खुद नाफाभन्दा कुल वितरणयोग्य नाफा कसरी बढी दखियो ? यो प्रश्नको उत्तर हामीले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई सोध्यौं ।

उनले जवाफमा भने, ‘अधिकांश बैंकहरूले गत आर्थिक वर्षको नाफाको प्रतिफल वितरण गरेका छैनन्, साधारणसभा गरेपछि मात्रै त्यो नाफा सेयरधनीको खातामा जाने हो, पहिलो त्रैमासको वित्तीय विवरणमा बैंकहरूले गत आर्थिक वर्षको वितरणयोग्य नाफा पनि देखाएका छन्, त्यसैले नाफाभन्दा बढी वितरणयोग्य नाफा देखिएको हो ।’

सीईओ खनालले भनेजस्तै अधिकांश बैंकको साधारणसभा हुन बाँकी छ । आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वित्तीय संस्थाले साधारणसभा गरिसक्नुपर्ने कानूनी प्रावधान छ । सोही प्रावधानमा रहेर वित्तीय संस्थाले पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्ने रणनीतिका साथ अगाडि बढेका हुन्छन् ।

लाभांश वितरणका लागि नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिसँगै बैंकको साधारणसभाले पारित गर्नुपर्ने हुन्छ । त्यसैले पनि बैंकहरूले गत आवको नाफाबाट वितरण गर्नुपर्ने वितरणयोग्य नाफा पनि पहिलो त्रैमासको वित्तीय विवरणको कुल वितरणयोग्य नाफाको शीर्षकमा राख्दा खुद नाफाभन्दा कुल वितरणयोग्य नाफा बढी देखिएको हो ।

त्यसो भए चालु आर्थिक वर्षको पहिलो त्रैमासका वाणिज्य बैंकहरूको कुल वास्तविक वितरणयोग्य नाफा कति हो त ? आउनुहोस्, अब यस विषयमा चर्चा गरौं ।

बैंकका सेयरधनी, विभिन्न सञ्चारमाध्यम र सेयर बजारका लगानीकर्ताहरूले पनि सोचे र भनेजस्तो बैंकहरूको पहिलो त्रैमासको वितरणयोग्य नाफा खुद नाफाभन्दा बढी छैन । बैंकहरूले वित्तीय विवरणमा यसलाई प्रष्ट रूपमा देखाएका छन् ।

पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा कुल ११ अर्ब ७ करोड रुपैयाँ छ । जुन खुद नाफाभन्दा ५ अर्ब १५ करोड रुपैयाँ कम हो ।

पहिलो त्रैमासमा नबिलको वितरणयोग्य नाफा १ अर्ब १२ करोड, ग्लोबल आइएमईको १ अर्ब ४० करोड, नेपाल इनभेष्टमेन्टको १ अर्ब २९ करोड र प्राइम कमर्सियल बैंकको १ अर्ब ५२ करोड रुपैयाँ छ । पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरभिजन विभागका प्रमुख रामु पौडेलले पनि गत आवको नाफाबाट वितरण नगरेको वितरणयोग्य नाफा पहिलो त्रैमासको वित्तीय विवरणमा राख्न पाउने भएकोले अहिले खुद नाफाभन्दा वितरणयोग्य नाफा बढी देखिएको हुन सक्ने धारणा राखे । उनका अनुसार दोस्रो त्रैमासमा त्यो रकम स्वतः घट्नेछ । पुस मसान्तसम्म गत आर्थिक वर्षको लाभांश वितरण भइसक्ने भएकाले त्यो रकम स्वतः घट्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.