२०८१ कार्तिक १२ गते १२:०३ विकासन्युज
काठमाडौं । ग्लोबल कलेज इन्टरनेसनलले गुणस्तर प्रत्याभूति तथा प्रत्यायन प्रमाणपत्र पाएको छ । विश्वविद्यालय अनुदान आयोग (यूजीसी) द्वारा प्रदान गरिने उच्च शिक्षाको गुणस्तर प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त गर्दै ग्लोबल कलेज इन्टरनेसनल मध्य–पश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नेपालको पहिलो कलेज बन्न सफल भएको छ ।
कलेजलाई यो प्रमाणपत्र २५ अक्टुबरमा विश्वविद्यालय अनुदान आयोगले प्रदान गरेको हो । गुणस्तर प्रत्यायन प्रक्रियामा प्रवेश गर्न अनुमति पाएपछि कलेजले सन् २०१९ मा स्व-अध्ययन प्रतिवेदन पेस गरेको थियो ।
साथै, यूजीसीका विशेषज्ञहरूको टोलीले विस्तृत मूल्यांकन गरी गुणस्तरका ८ मापदण्ड र १२० सूचकांक पूरा गर्न सफल भएपछि ग्लोबल कलेजलाई प्रत्यायन प्रमाणपत्र प्रदान गरिएको हो ।
समारोहमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा. देवराज अधिकारीको प्रमुख आतिथ्यमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. ध्रुवकुमार गौतम, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा. तीर्थराज खनियाँ, पीआरटी संयोजक प्राडा. मनप्रसाद वाग्ले र अन्य विशिष्ट अतिथिहरूको उपस्थिति थियो ।
ग्लोबल कलेज इन्टरनेसनलका अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझाले कलेजका शिक्षक, कर्मचारी, विद्यार्थी र व्यवस्थापन टोलीको सामूहिक प्रयास र समर्पणलाई कदर गरी आगामी दिनमा नवीन प्रविधिको उपयोग गर्दै उच्च शिक्षामा नयाँ मार्गप्रशस्त गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.