भाइमसलाको मूल्य करिब ३० प्रतिशतले वृद्धि, व्यापार डाउन भएको व्यवसायीको भनाइ

  २०८१ कार्तिक १६ गते १४:२०     विकासन्युज

काठमाडौं । यस वर्षको तिहारमा भाइमसलाको मूल्य करिब ३० प्रतिशतले वृद्धि भएकाे छ ।

काठमाडौंको असनमा वर्षौंदेखि भाइमसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरूले गत वर्षभन्दा यस वर्ष भाइ मसलाको मूल्य बढेको बताएका हुन् ।

भाइमसलाको पुस्तौनी व्यापार गर्दै आएका स्थानीय व्यापारी सजीव बज्राचार्यले असोज ११, १२ र १३ गते आएको बाढी र पहिरोले पनि यस वर्ष भाईमसलाको मूल्य करिव ३० प्रतिशतले बढ्न गएको बताए ।

उनले पाकिस्तान, भारतमा पनि बाढीको प्रभाव पर्न गएकाले पनि यस पालीको तिहारमा भाइमसलाको भाउ निकै बढेको आफूलाई लागेको उल्लेख गरे । मूल्य बढेकाले यस पटक भाइमसला किन्नेहरूले पनि थोरै सामान खरिद गर्ने गरेको पाइएको छ ।

व्यापारी बज्राचार्यले भने, ‘अब भाउको हिसाव गरौं भने पोहोर सालभन्दा यसपाली यो ड्राइफुड मसला करिब ३० पर्सेन्टले महंगिएको छ । कारण के होला ? मेरो विचारमा अस्ति असोज महिनामा आएको बाढीले गर्दाखेरि यहाँ मात्रै होइन, पाकिस्तानमा पनि आयो, भारतमा आयो । पोहोर एक किलो लिने मानिसले यस पटक आधा किलो मात्रै दिनुस् भन्छन् । त्यसो भएकाले यस पटक विजनेस डाउन नै देखिन्छ ।’

यता, ग्राहकहरूले पनि यस वर्ष भाइमसलाको मूल्य धेरै बढेको प्रतिक्रिया दिएका छन् । उनीहरूले भाइमसलाको मूल्य अलि कम गरिदिन पनि व्यापारीहरूलाई आग्रह गरेका छन ।

बजारमा यस वर्ष प्रतिकेजी काजु २ हजार २००, बदाम एक हजार ७००, किसमिस ६००, कालोदाख १ हजार, ओखर ५५० खरिद मूल्य राखिएको छ । त्यसैगरी, प्रतिकेजी ओखरगुदी १ हजार ५००, अनजिर २ हजार, २००, खुरपानी १०००, नरिवल ५५०, दाना मिस्री १८०, धागो मिस्री २००, मखना २ हजार दालचिनी ८०० मूल्य राखिएको छ । तर सबै सामग्रीमा करिब २५/३० प्रतिशत मूल्य गत वर्ष भन्दा बढेको स्थाानीय व्यापारी बज्राचार्यको अनुभव छ । मूल्य बढेकाले व्यापार घटेको व्यापारी बताउँछन् ।

भाइमसलाको मूल्य बढेकाले यस वर्ष ग्राहकहरूको चहलपहल पनि कम भएको स्थानीय व्यापारीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.