२०८१ मंसिर ६ गते १६:३४ विकासन्युज
काठमाडौं । बैतडीमा जग्गा विवादका कारण विद्युत सबस्टेसनको सञ्चालन प्रक्रियामा समस्या भएको छ ।
विद्युत लाइन तान्नको लागि स्थानीयहरूले जग्गा नदिँदा पाटन नगरपालिका र मेलौली नगरपालिकाको सबस्टेसन सञ्चालनमा ढिलाइ भएकाे हो ।
पाटन नगरपालिका- ६ को सुर्नया खोला विद्युत गृहदेखि पाटन सबस्टेसनसम्मको ३३ केभी प्रशारण लाइन तान्नको लागि स्थानीयहरूले जग्गा नदिएपछि पाटन र मेलौली सबस्टेसन सञ्चालनमा आउन नसकेको हो ।
स्थानीयहरूसँग पटक-पटक सहमतिको लागि छलफलको प्रयास भए पनि ठोस सहमति नजुटेको विद्युत वितरण केन्द्र बैतडीका प्रमुख जनार्दन पौडेलले विकासन्यूजलाई जानकारी दिए ।
उनले भने, ‘स्थानीयहरूको गाउँ र खेत हुँदै लाइन तान्ने योजना थियो, सहमति नै दिँदैनन्, पुनः छलफल हामीले जारी राखेका छौं । उनीहरूलाई सहमतिमा ल्याउनका लागि अहिले पालिकासँग समन्वय भइरहेको छ ।’
यसअघि पनि स्थानीय जग्गाधनी र जनप्रतिनिधिहरूबीच छलफल भएको तर सहमति नजुट्दा काम अघि बढ्न नसकेको उनको भनाइ छ ।
स्थानीय कृष्णसिंह ऐरलगायतको खेतीयोग्य जमिन रहेको र उनीहरूले उक्त जमिन नदिने बताउँदै आएपछि ३३ केभी लाइनको सब स्टेसन सञ्चालनमा आउन नसकेको हो ।
लाइन सर्भेका बेला कुनै समन्वय नगरेको र अहिले लाइन विस्तारको लागि जग्गा दिन चाहिं नसकिने स्थानीयहरूको भनाइ छ ।
‘हाम्रो लालपुर्जा भएको जमिन हो । जग्गा दिँदा खेतीयोग्य जमिन मासिन्छ । यदि सरकारले यसको क्षतिपूर्ति दिन्छ भने सहमतिमा आउँछौं । नत्र हामी जमिन दिदैनौं, ’ पाटन ६ का स्थानीय कृष्णसिंहले भने ।
हाल बैतडीमा विद्युतीकरणको काम तीव्र गतिमा भइरहको विद्युत वितरण केन्द्र, बैतडीले जनाएको छ । दोगडाकेदार गाउँपालिका, डिलासैनी गाउँपालिका, पूर्चौडी नगरपालिका, सूर्नया गाउँपालिका, सिगास गाउँपालिका र पाटन नगरपलिकामा अहिले विद्युतीकरण सबस्टेसनको काम धमाधम भइरहेको हो ।
विद्युतीकरण भएपछि नागरिकहरूलाई सहज हुने विश्वास विद्युत वितरण केन्द्र, बैतडीको छ । पालिकालाई पूर्ण विद्युतीकरण गर्ने योजनालाई विद्युत वितरण केन्द्र, बैतडीले प्राथमिकतामा राखेकाले यो कार्यमा सहयोग गर्न सबैलाई आग्रहसमेत गरेकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.