१२ वटा हवाई कम्पनीले बुझाए मन्त्रालयलाई हवाई भाडादरको विवरण

  २०८१ मंसिर ७ गते १२:२१     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने १२ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएका छन् ।

मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार अन्तर्राष्ट्रिय उडानमा कृत्रिम अभाव सिर्जना गरी यात्रुलाई दुःख दिएको गुनासो बढेपछि पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र भाडादर उपलब्ध गराउन बुधबार निर्देशन दिएको थियो । त्यहीँ निर्देशनबमोजिम एयरलाइन्सले हिजो बिहीबार मन्त्रालयलाई भाडादरसहित विवरण बुझाएका हुन् ।

प्रवक्ता रामकृष्ण लामिछाने भने, ‘हवाई भाडा महँगिएको थियो । यसलाई हामीले सहजै बनाउनुपर्छ भन्ने गुनासो आउन थाले । त्यसपछि पहलका लागि भाडादरको विवरण हामीले मागेका हौं ।’

विवरण बुझाउने एयरलाइन्समा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), कतार एयरवेज, सिङ्गापुर एयरलाइन्स, फ्लाइ दुबई, इण्डिगो एयरलाइन्स, एयर अरेबिया, टर्किस एयरलाइन्स, कोरियन एयरलाइन्स, सिचुवान एयरलाइन्स, मलेसियन एयरलाइन्स र जजिरा एयर रहेका प्रवक्ता लामिछाले जानकारी दिए ।

यसैबीच, अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यदल गठन गरेको समेत उनले बताए ।