२०८१ मंसिर १२ गते ९:५९ विकासन्युज
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २४औं वर्षमा प्रवेश गरेको छ । लघुवित्तले बुधबार २३औं वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा संस्थाले आफ्नो यात्रामा साथ दिने सदस्य, नियामक निकाय, सञ्चालक, सेयरधनी, कर्मचारी र शुभचिन्तकहरूप्रति कृतज्ञता व्यक्त गरेको छ । २००१ मा स्थापना भई नेपाल राष्ट्र बैंकबाट माइक्रोफाइनान्स बैंकिङ लाइसेन्स प्राप्त गरेको छिमेक लघुवित्तले गरिब र सीमान्तकृत महिलाको आर्थिक पहुँच विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । प्रारम्भमा महोत्तरी र चितवन जिल्लामा नेबरहुड सोसाइटी सर्भिस सेन्टरको पहलमा सञ्चालन भएको माइक्रोफाइनान्स कार्यक्रमको संस्थागत रूप हो ।
छिमेकले गरिब र सीमान्तकृत महिलालाई वित्तीय सेवामा पहुँच पुर्याउनु, बचतको संस्कार प्रबर्द्धन गर्नु, आम्दानी वृद्धि गर्न उत्प्रेरित गर्नु, साना उद्यम विकासमा सहयोग पुर्याउनु, र सदस्यहरूको सामाजिक सुरक्षालाई सुदृढ बनाउने मुख्य उद्देश्य राखेको बताएको छ ।
छिमेकले ६९ जिल्लामा फैलिएका १९७ शाखाहरूमार्फत ४ लाखभन्दा बढी गरिब र सीमान्तकृत महिला सदस्यहरूसँग प्रत्यक्ष सम्पर्क स्थापना गरेको छ। स्थापना कालमा १ करोड रुपैयाँको चुक्ता पूँजीबाट सुरु भएको छिमेकले आफ्नो कोर फण्डलाई १८० गुणाले बढाउँदै आजको अवस्थामा पुर्याएको छ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.