जेमी डिमोनको भविष्यवाणी : हप्तामा साढे तीन दिनमात्र काम, १०० वर्षको जीवन

  २०८१ मंसिर १२ गते ११:२२     विकासन्युज

काठमाडौं । जेपी मोर्गन चेसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेमी डिमोन कृतिम बौद्धिकता (एआई) लाई लिएर धेरै सकारात्मक छन् । उनी एआईले मानिसको जागिर खोस्ने भविष्यवाणी गलत भएको बताउँछन् ।

एआईले व्यापारमात्र सुधार नगरी कर्मचारीहरूको कार्यजीवन सन्तुलनमा पनि सुधार गरिरहेको डिमोनको धारणा छ । यसले गर्दा मानिसले हप्ताको कम दिनमात्र काम गरे पुग्नेछ । द फर्च्यूनको रिपोर्टअनुसार डिमोन परम्परागत कामका तरिकाको समर्थक हुन् । जस्तै- कडा परिश्रम र कार्यालयमा काम गर्ने प्रवृत्ति । तर, एआईका कारण आगामी पुस्ताले हप्तामा साढे तीन दिनमात्र काम गर्न सक्ने उनको विश्वास छ ।

डिमनको यो भविष्यवाणी यस्तो समयमा आएको हो, जब हालै इन्फोसिसका संस्थापक एनआर नारायण मूर्तिको कामको घण्टाको बारेमा बयान आएको थियो । उनले युवाहरूलाई हप्ताको ७० घण्टा काम गर्न आग्रह गरेका थिए ।

भविष्यमा मानिसहरू १०० वर्षसम्म बाँच्ने

जेमी डिमोन विश्वास गर्छन् कि एआईको मद्दतले कर्मचारीहरूले हप्तामा साढे तीन दिनमात्र काम गर्नेछन् । वर्तमानमा कर्मचारीहरूले जुन काम गर्न ६० प्रतिशतदेखि ७० प्रतिशत समय लिन्छन्, ती काम एआईद्वारा स्वचालित ढंगले सम्पन्न हुनेछन् ।

उनले भविष्यमा मानिसहरू सय वर्षसम्म बाँच्न सक्ने भविष्यवाणी पनि गरेका छन् ।

ब्लूमबर्ग टिभीसँगको अन्तर्वार्तामा डिमोनले भनेका छन्, ‘तपाईंका बच्चाहरू १०० वर्षसम्म बाँच्नेछन् र प्रविधिका कारण उनीहरूलाई क्यान्सर हुने छैन । सायद उनीहरूले हप्तामा साढे तीन दिनमात्र काम गर्नेछन् ।’

एआईको डर अस्वीकार

जेपी मोर्गन अमेरिकाको सबैभन्दा ठूलो बैंक हो । यसले पहिले नै एआईलाई आफ्नो धेरै कार्यमा समावेश गरिसकेको छ । यी कार्यहरूमा गल्ती भेटाउन , व्यापार, अनुसन्धान र हेजिङ समावेश छन् ।

डिमोनले ब्लूमबर्ग टिभीसँगको अन्तर्वार्ताको क्रममा एआई समयसँगै परिवर्तन हुने पनि बताए । धेरै क्षेत्रमा यसले मानिसलाई प्रतिस्थापन गर्ने डर छ । गोल्डम्यान साक्सले प्रविधिका कारण करिब ३० करोड रोजगारी गुम्ने भविष्यवाणी गरेको छ । लगभग एक चौथाई अमेरिकी कामदारहरू डराउँछन् कि एआईले भविष्यमा उनीहरूको जागिर खोस्नेछ ।

यद्यपि डिमोनले प्रविधिको विकाससँगै समाज परिवर्तन हुँदै गएको र एआईले जीवनस्तरमा सुधार ल्याउन ठूलो अवसर प्रदान गर्ने बताए ।

जेपी मोर्गन चेस अमेरिकाको मल्टीनेसनल फाइनान्स कम्पनी हो, जसकाे हेडक्वार्टर न्यूयाेर्कमा रहेकाे छ । जेमी डिमोन सन् २००५ देखि यस कम्पनीकाे सीईओकाे रूपमा कार्यरत छन् । (एजेन्सीहरूको सहयाेगमा )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.