ट्रम्पको शुल्कको धम्कीले युरोपका अटो दिग्गज सशंकित, फरारीलाई भने छैन तनाव

  २०८१ मंसिर १४ गते ११:१५     विकासन्युज

काठमाडौं । युरोपका धेरै अटो कम्पनीहरू अमेरिकी शुल्कको खतराबाट दबाबमा छन् ।

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो कार्यकालको सुरुवातमै चीन, क्यानडा र मेक्सिकोमा भारी शुल्क लगाउने वाचा गरे, जसले अटो उद्योगका आपूर्ति श्रृंखलामा खलल पुर्‍याउने र लगानीकर्ताहरूलाई उच्च लागतबारे चिन्ता जगाउने सम्भावना छ ।

ट्रम्पले प्रस्ताव गरेका उपायहरूमा चिनियाँ उत्पादनहरूमा १० प्रतिशत थप शुल्क र क्यानडा तथा मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत शुल्क समावेश छ ।

ट्रम्पले ट्यारिफ लगाउने कुरा गरेसँगै अटो सेयरहरू घटे । यसले अमेरिका र युरोपका निर्माताहरूका लागि गम्भीर परिणामहरू निम्त्याउन सक्छ । तीमध्ये धेरैले मेक्सिकोमा कारखाना बनाएका छन् र अटो पार्ट्स आपूर्तिकर्ताहरूमा निर्भर छन् ।

ट्रम्पको पहिलो शुल्क घोषणामा युरोपको उल्लेख नभएको कुरा युरोपेली संघका नीति निर्माताहरूका लागि सुखद समाचार मानिनेछ । तर २७ राष्ट्रको यो समूहले ट्रम्पले चाँडै नै युरोपको अटो क्षेत्रमा ध्यान दिने सम्भावनाबारे चिन्ता गरेको छ ।

यता फरारी भने अधिकांश असरबाट सुरक्षित रहने अपेक्षा गरिएको छ ।

‘चाहे शुल्क जुनसुकै होस्, उनीहरूले फरारी अमेरिकामा उत्पादन सुरु गर्ने छैनन् । सबै कुरा इटालीको मारानेल्लोमै हुन्छ,’ मर्निङस्टारकी इक्विटी विश्लेषक रेल्ला सस्किनले सीएनबीसीलाई बताइन् ।

‘फरारीको कुरा गर्दा चाहे १० प्रतिशत, २० प्रतिशत वा ३० प्रतिशत शुल्क भए पनि उनीहरूले सजिलै उपभोक्ताहरूमा मूल्य हस्तान्तरण गर्न सक्छन् । किनभने गाडीको मूल्य पहिलै नै महँगो भए पनि उनीहरूका लक्षित ग्राहकहरू छन्,’ उनले थपिन् ।

मर्निङस्टारकी सस्किनका अनुसार युरोपबाट आउने सबै सामानमाथि ३० प्रतिशत जति उच्च अमेरिकी शुल्कले पनि सम्भावित ग्राहकहरूलाई फरारी किन्नबाट रोक्न सक्दैन । ‘यो हास्यास्पद छ, तर यस्तै हो,’ उनले भनिन् ।

आरबीसी क्यापिटल मार्केट्सका ग्लोबल अटो विश्लेषक टम नारायणले यस विचारलाई दोहोर्‍याउँदै फरारीले मूल्य वृद्धिलाई सजिलै ग्राहकमाझ हस्तान्तरण गर्न सक्ने देखिने बताए ।

‘यो समयले मात्र बताउने कुरा हो, तर यो सहीजस्तो देखिन्छ,’ केप्लर चुभ्रेक्सका थमस बेसनले बताए ।

फरारी यस वर्ष युरोपमा आफ्ना प्रतिस्पर्धी कार निर्माताहरूलाई पछि पार्दै उत्कृष्ट प्रदर्शन गरिरहेको छ । मिलान-सूचीबद्ध कम्पनीको सेयर मूल्य यस वर्ष ३४ प्रतिशतभन्दा बढीले बढेको छ, जुन फ्रान्सको रेनल्ट वा जर्मनीको मर्सिडिज-बेन्ज ग्रुपजस्तै अन्य कम्पनीहरूसँगको तुलनामा निकै बढी हो ।

‘हामी फरारीले अमेरिकामा उत्पादन सुरु गर्ने अपेक्षा गर्दैनौं,’ ओड्डो बीएचएफका अटो विश्लेषक एन्थोनी डिकले बताए ।

पोर्शे केही फरक

जर्मनीको पोर्शेका लागि भने थप अमेरिकी शुल्क ‘धेरै ठूलो चुनौती’ हुने सम्भावना रहेको बेसन बताउँछन् ।

फरारीजस्तै, पोर्शे पनि केवल इटालीमा उत्पादन हुन्छ, फक्सवागन स्वामित्वमा रहेको पोर्शेले परम्परागत रूपमा जर्मनीमा आफ्नो लक्जरी मोडलहरू उत्पादन गर्दै आइरहेकाे छ ।

‘पोर्शे केही फरक छ,’ मर्निङस्टारकी सस्किनले भनिन् ।

‘उनीहरूले १० प्रतिशत शुल्क हस्तान्तरण गर्न सक्नेछन् । तर ३० प्रतिशतजस्तो ठूलो शुल्क ग्राहकमा हस्तान्तरण गर्न केही कठिन हुन सक्छ,’ उनले भनिन् ।

पोर्शेको सेयर मूल्य यस वर्ष झण्डै २६ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.