धनुषाको लक्ष्मीनिया गाउँपालिकाका वृद्धवृद्धाले असारदेखि पाएनन् सामाजिक सुरक्षा भत्ता

  २०८१ मंसिर १४ गते १७:४३     विकासन्युज

काठमाडौं । धनुषाको लक्ष्मीनिया गाउँपालिकाका वृद्धवृद्धाले असार महिना यताको सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् ।

लक्ष्मीनिया गाउँपालिकाको गाउँसभा हुन नसक्दा खातासम्म सञ्चालन नभएकाले वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता पाउन नसकेका हुन् ।

आफूहरुले असार महिनायताको भत्ता पाउन नसकेको लक्ष्मीनिया गाउँपालिकाकी कुमारी मण्डलले गुनासो गरिन् । भत्ता नपाउँदा धेरै समस्यामा परेको उनले बताइन्।

उनले भनिन्, ‘मेरै गाउँको अध्यक्ष हुन् तर पटकपटक भेटेरै गुनासो गर्दा समेत सुन्नुहुन्न ।’

यता अर्का वृद्धले छोराछोरीले घरमा खर्च नदिने र पालिकाले पनि भत्ता नदिँदा निकै मर्कामा परेका बताए । उनले भने, ‘भत्ताकै भरमा आफ्नो खर्च चलाइरहेका थियौं तर पटकपटक धाउँदासमेत असारपछि भत्ता पाएका छैनौं ।’

लक्ष्मीनिया गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष दिलिप यादवले प्रमुख प्रशासकीय अधिकृतका कारण यो समस्याको सिर्जना भएको आरोप लगाए ।

उनले प्रमुख प्रशासकीय अधिकृतको असक्षमताका कारण गाउँसभा नहुँदा पालिकाको खातासम्म सञ्चालन हुन नसकेको बताए ।

पालिकाको खाता सञ्चालन नभएकै कारण भत्ताहरुका साथै कर्मचारीहरूले तलवसम्म पाउन नसकेको बताए ।

यही विषयलाई लिएर लक्ष्मीनिया गाउँपालिकाको कार्यालय पुगेर जनप्रतिनिधिहरूका साथै नागरिक समाजले दबाबमूलक कार्यक्रमसमेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.