ठूलो विपतमा पनि सर्भेयरले काम पाएनन्, स्वतः अपग्रेट हुने व्यवस्था गलत छ : अध्यक्ष ढकाल

  २०८१ मंसिर २० गते १२:१०     लक्ष्मण लम्साल

काठमाडाैं । भइपरि आउने जोखिम हस्तान्तरणका लागि मानिसहरूले आफ्नो धन सम्पत्तिको बीमा गर्छन् । सम्पत्तिको बीमा गरेर बीमितले जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गर्छन् । कुनै कारणले त्यो सम्पत्तिमा क्षति भएपछि सर्भेयरको काम सुरु हुन्छ । बीमा कम्पनीले त्यो क्षतिको मूल्याङ्कन गर्न सर्भेयर खटाउँछ र सर्भेयरले क्षतिको मूल्याङ्कन गर्छन् । सर्भेयरको सोही मूल्याङ्कनको रिपोर्टका आधारमा बीमा कम्पनीहरूले बीमितलाई क्षतिपूर्ति अर्थात् दाबी भुक्तानी गर्छन् ।

नेपालमा हाल १३ सयको हाराहारीमा सर्भेयरहरू रहेका छन् । जो बाढी-पहिरो होस् या भूकम्प नै किन नहोस् ज्यानलाई दाउमा राखेर घटनास्थलमा पुगेर क्षतिको मूल्याङ्कन गर्छन् । विगत तीन दशकदेखि सर्भेयरको काम गर्दै आएका बीमा सर्भेयर्स एसोसिएसनको अध्यक्ष मोहनपुरुष ढकालसँग विकासन्यूजका लागि लक्ष्मण लम्सालले कुराकानी गरेका छन् । सोही कुराकानीको सम्पादित अंश :

सर्भेयर बन्ने प्रक्रिया के हो ? सर्भेयरले कसरी काम गर्दछन् ?

नेपाल बीमा प्राधिकरणले सर्भेयरको परीक्षा लिन्छ । सो परीक्षा पास गरेपछि प्राधिकरणले सर्भेयरको लाइसेन्स दिन्छ । त्यो लाइसेन्स पाएपछि सर्भेयरसम्बन्धि काम गर्न सकिन्छ । यसरी लाइसेन्स पाएपछि सर्भेयरले बीमा कम्पनीहरूमा सूचीकृत गर्न जान्छन् । कम्पनीहरूले सर्भेयरको रोस्टममा लिस्ट राख्छन् । कतै केही कारणले धनसम्पत्तिको क्षति भएको अवस्थामा बीमा कम्पनीहरूले सोही लिस्टबाट सर्भयरलाई घटना भएको ठाउँमा खटाउँछन् ।

कम्पनीले खटाएको ठाउँमा गएर सर्भेयरले काम गर्छन् । सर्भेयरको काम एकदमै सेन्सेटिभ हो । क्षति भएपछि बल्ल सर्भेयरको काम सुरु हुन्छ । क्षति भएपछि बीमितलाई पीडा भएको हुन्छ । मानिसहरू पीडाको समयमा खुलेर बोल्दैनन्, सर्भेयरले क्षतिको मूल्याङ्कन गर्दा पीडित बीमितसँग सबैकुरा सोधपुछ गर्नुपर्ने हुन्छ । अर्थात् उनीहरूसँग भिज्नु पर्ने हुन्छ । त्यो कठिन काम हो । बीमा गर्दाको बखतको कागजात, क्षति भएको सम्पत्ति (बीमा गरिएको सम्पत्ति) सबै कागजात सर्भेयरले हेर्नुपर्ने हुन्छ । यसरी सबै काजगात संकलन गरेर भएको क्षतिको मूल्याङ्कन गर्नुपर्ने हुन्छ । त्यस अवस्थामा बीमितसँग एकदमै नजिक रहेर काम गनुपर्ने हुन्छ । कम्पनीले सर्भेयरलाई खटाएदेखि सर्भेयरले त्यो क्षतिको रिपोट कम्पनीलाई बुझाउँदैमा सर्भेयरको काम सकिँदैन । बीमितले दाबी भुक्तानी पाएपछि मात्र सर्भेयरको काम सकिन्छ ।

सर्भेयरको वर्गीकरण कसरी गरिएको छ ? वर्गीकरण र अपग्रेटसम्बन्धी कस्तो व्यवस्था छ ?

प्राधिकरणले क, ख, ग र घ गरी सर्भेयरलाई ४ वर्गमा छुट्याएको छ । कुनै पनि एक व्यक्ति तथा संस्थाले सर्भेयरको लाइसेन्स लिँदा सुरुमा घ वर्गको लाइसेन्स पाउँछ । हरेक ५ वर्षमा सो सर्भेयरको अपग्रेट हुने कानुनी प्रावधान छ । कसैले यो वर्ष सर्भेयरको घ वर्गको लाइसेन्स लियो भने ५ वर्षपछि उसले कुनै काम नै नगरे पनि अपग्रेड भएर ग वर्गमा उक्लिन्छ । सोही क्रमअनुसार क र ख वर्गमा सर्भेयर अपग्रेड हुन्छ । सर्भेयरले के कति काम गर्‍यो ? कस्तो काम गर्‍यो भनेर केही मूल्याङ्कन नै हुँदैन । ५ वर्ष पुगेपछि स्वतः अपग्रेट हुने व्यवस्था छ । त्यसले गर्दा काम नै नगरेका सर्भेयर पनि अपग्रेट हुने गर्दछन् । यो व्यवस्थालाई प्राधिकरणले पुनरावलोकन गर्नुपर्ने देखिन्छ ।

यसैगरी, प्राधिकरणले सर्भेयरको वर्गअनुसार काम गर्ने अपर लिमिट (अधिकतम सीमा) रकमका आधारमा तोकिदिएको छ । तर, लोअर लिमिट (न्यूनतम सीमा) भने तोकिदिएको छैन । अर्थात् कुनै घ वर्गको सर्भेयरले ५ लाख रुपैयाँसम्मको सर्भे गर्न पाउँछ । ग वर्गकोले १५ लाख रुपैयाँसम्मको सर्भे गर्न पाउँछ । तर, क वर्गकोले पनि सोही ५ लाख रुपैयाँको पनि सर्भे गर्न पाउँछ । यस व्यवस्थाले ५ लाखको सर्भे कले पनि गर्न पाउँछ, घले पनि गर्न पाउँछ ।

न्यूनतम सीमा तोकिएको भए क वर्गले ५० लाख रुपैयाँमुनिको नपाउने वा १० लाख मुनिको नपाउने व्यवस्था गरेको ५ लाखसम्मको काम घ वर्गले मात्रै पाउँथ्यो । त्यसैले पनि सीमा तोक्नुपर्छ । नेपालको भौगोलिक अवस्था प्राकृतिक विपतको दृष्टिकोणले जोखिमपूर्ण नै छ । जलवायु परिवर्तनले हिमताल फुटेर हुने क्षति, बर्सेनि आउने बाढी-पहिरो र भूकम्पको दृष्टिले पनि जोखिम नै मानिन्छ ।

बेला-बेखत हुने यस्ता विपतले अहिले भएको सर्भेयरको संख्याले काम गर्न सकिरहेको छ ?

यस विषयमा केही वर्षअघि बीमा प्राधिकरणमा एउटा छलफल पनि भएको थियो । त्यस पटकको छलफलमा बीमा कम्पनीका सीईओहरूले सर्भेयरको संख्या पर्याप्त छैन । सर्भेयर उत्पादन गर्नुपर्ने धारणा राखेका थिए । त्यसपछि सर्भेयर उत्पादन गरेर अहिले १३ सयको हाराहारीमा पुर्‍याइएको छ । तर, प्राधिकरणको व्यवस्थाअनुसार एउटा व्यक्तिगत सर्भेयरले ५ वटा भन्दा बढी र संस्थागत सर्भेयरले १० वटा भन्दा बढी काम लिन नपाउने व्यवस्था छ । अर्थात् उसले ५ वटाबाट एउटा काम सकेपछि ४ वटा बाँकी हुन्छ । फेरि उसले एउटा काम थप्न पाउँछ ।

कानुनमा यस्तो राम्रो व्यवस्था भएपनि त्यो व्यवहारमा लागू भएको छैन । असोजमा गएको बाढी-पहिरोपछि केही सर्भेयरले ५ वटा पनि काम नपाएर बसेका छन् भने केहीले काम नै नपाएर पनि बसेका छन् । केही सर्भेयरले यति धेरै काम पाएका छन् कि उनीहरूलाई काम गर्न भ्याईनभ्याई छ । उनीहरूले तोकिएको सीमाभन्दा धेरै काम लिएको अवस्था छ ।

यति ठूलो क्षति हुँदा पनि कसैले काम नै नपाउने अवस्थाको सिर्जना कसरी भयो ?

बीमा कम्पनीहरूले व्यक्तिगत सम्बन्धका आधारमा सर्भेयरको छनौट गर्ने गर्दछन् । धेरै सम्बन्ध भएका सर्भेयरले धेरै काम पाउँछन् । सम्बन्ध नभएकाहरूले जतिसुकै ठूलो क्षतिको अवस्थामा पनि काम नै नपाउने अवस्था छ । जबसम्म एउटा सीईओले त्यो सर्भेयरको बारेमा जानकार हुँदैन, तबसम्म उसले त्यो सर्भेयरलाई पब्लिक दायित्व जिम्मा लगाउन सक्दैन । त्यो कुरोलाई नकारात्मक तरिकाले लिनु पनि हुँदैन । विगतदेखि नै यस विषयमा ध्यान दिइएको भए विपतका बेला सबैले काम पाउँथे ।

सर्भेयरले सर्भे रिपोट समयमा नबुझाउँदा बीमितहरूले समयमा दाबी भुक्तानी पाउन नसकेको अवस्था छ । सर्भेयरले समयमा रिपोर्ट बुझाउन नसक्नुको कारण के हो ?

सर्भेयरले सर्भे गर्दा क्षति भएको सम्पत्तिको सबै कागजात अध्ययन गर्नुपर्ने हुन्छ । सर्भेयरलाई यस्तो कागजात जुटाउन समय लाग्छ । यहाँ बीमा कम्पनीले इनीसीएसन लिन आवश्यक छ । क्षति भएको अवस्थामा बीमा कम्पनीका अभिकर्ताले कागजात संकलनमा सहजीकरण गर्दा सर्भेयरलाई काम गर्न केही छिटो हुने गर्थ्यो । केही अवस्थामा सबै कागजाग संकलन गर्न बीमितलाई पनि समय लाग्छ । धेरैजसो अवस्थामा सम्पत्तिको कागजाग सम्पत्तिको मालिकसँग भन्दा पनि उसको अडिटरसँग हुन्छ । त्यो कागजात खोज्नु पर्‍यो । केही कागजात सरकारको निकायबाट माग गर्नुपर्ने हुन्छ । मैले काम गर्दा पनि यस्तो अवस्था भोगेको छु । कागजात जुटाउन बीमित स्वयंलाई ४० दिन लाग्यो । यस्तै विविध कारणले समय लाग्छ । प्राधिकरणले रिपोर्ट बुझाउन १५ दिनको सीमा दिएको छ । यो सीमा पनि व्यावहारिक छैन । यसलाई रिभ्यू गर्न आवश्यक छ ।

सर्भे रिपोर्ट बनाएर बीमा कम्पनीमा बुझाएपछि सर्भेयरलाई कम्पनीहरूले बीमितसँग मिलेर रकम बढाएर रिपोर्ट बनाएको आरोप पनि लाग्ने गरेको छ, तपाईं यस्तो आरोप कतिको भोग्नु पर्‍यो ?

कम्पनीले सर्भेयर व्यक्तिगत सम्बन्धका आधारमा छनौट गर्छन् । कम्पनीले कसैलाई काम दिनुको मतलब कम्पनीले उसलाई विश्वास गरेर हो ।तर, कहीं कतै कम्पनीले क्रस भेरिफिकेसन गर्न सक्छन् । यसमा हाम्रो आपत्ति छैन । केही सीईओहरूले कहिलेकाहीं यसमा केही रिभ्यू गर्ने पर्छ कि भनेर पनि सोध्नुहुन्छ ।

बीमितको पक्षबाट यस्तो आरोप कतिको आउने गर्छ ?

बीमितले यस्तो भन्नु स्वाभाविक पनि मान्न सकिन्छ । किनकि सर्भेयरलाई बीमा कम्पनीले काममा लगाएका हुन्छन् । बीमितको नजरमा सर्भेयर कम्पनीको मान्छे हो । त्यस कारण उनीहरूले यस्तो आरोप लगाउनु स्वाभाविक हो । बीमितलाई सर्भेयरले हामी बीमा कम्पनीको मान्छे होइन भन्ने बुझाउन जरुरी हुन्छ । हामी सर्भेयर भनेको मध्यस्थकर्ता मात्रै हौं । बीमितले यहाँले गरेको काम ठीक छ भनेर खुसी भएको ३० वर्षको करिअरमा एक पटक मात्र भेटें । उहाँको नाम भने बिर्सिएँ ।

हवाईजहाजहरू दुर्घटना हुँदा नेपालका सर्भेयरले काम गर्न पाउँदैनन् । नेपालका सर्भेयरसँग नागरिक उडड्यन सर्भे गर्ने क्षमता नभएर हो या सम्बन्धित निकायले तपाईंहरूको क्षमतामा नजरअन्दाज गरेको हो ?

यहाँ खुट्टा तान्ने प्रवृति व्याप्त छ । पोखरामा प्लेन क्र्यास भएपछि यहाँका सर्भेयरलाई काममा लगाउनका लागि बीमा कम्पनीका सीईओ र प्राधिकरणका कार्यकारी निर्देशकलाई अनुरोध गरेको थिएँ । पोखराका अभिकर्ता साथीहरूलाई तयार रहन पनि भनेको थिएँ । तर, उहाँहरूबाट सहयोग भएन । मैले सार्वजनिक कार्यक्रममा पनि यस विषयको उठान गरेको थिएँ । तर, कम्पनीहरूले हामीले भनेर हुँदैन भन्नु भयो । बाहिरबाट नै सर्भेयर पठाउने अभ्यास छ । बाहिरका पुनर्बीमा कम्पनी, पुनर्बीमा ब्रोकर कम्पनीहरूलाई नेपालको कामको गुणस्तरको बारेमा थाहा छैन, त्यसैले बाहिरबाट नै आएर सर्भे गर्ने काम हुने गरेको छ । नेपालका सर्भेयरलाई पनि एभिएसनको सर्भेको काम गराउन पहल गर्न प्राधिकरणका प्रवक्तासमेत रहेका निर्देशक सुशीलदेव सुवेदीले केही सहजीकरण गर्नु भएको छ । हेरौं, अब केही हुन्छ कि ?

सर्भेयरको पारिश्रमिकको विषयमा पनि धेरै चासो हुन्छ, कति पाइन्छ पारिश्रमिक ?

हाम्रो दुई किसिमको पारिश्रमिक छ । एउटा मोटर भेइकल पारिश्रमिक । जुन बीमितले माग गरेको इष्टिमेट रकमको आधारमा हामीले पारिश्रमिक पाउँछौं । जस्तो कुनै बीमितले क्षतिको इष्टिमेट ५ लाख रुपैयाँ भनेर माग गरेको अवस्था र ४० लाख रुपैयाँ भनेर बीमितले क्षतिको माग गरेको अवस्थामा त्यसको पारिश्रमिक फरक-फरक हुन्छ ।

अर्काे, एक्सेप्ट द मोटर । यसमा बीमितले जति माग दाबी गरे पनि सर्भेयरले पेस गर्ने रिपोर्टमा उल्लेख भएको रकमका आधारमा हामीले पारिश्रमिक पाउँछौं । अर्थात्, कुल नोक्सानीका आधारमा हामीले पारिश्रमिक पाउँछौं । ३० किलोमिटर भित्रको काम गर्दा पारिश्रमिक जे हो, त्यही आउँछ । ३० किलोमिटरभन्दा टाढा जानु पर्‍यो भने भत्ताको पनि सुविधा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.