जीडीपीमा ठूलो हिस्सा ओगटेको बंगलादेशको गार्मेन्ट उद्योग संकटमा, भारततिर ‘सिफ्ट’ हुने योजनामा उद्योगी

  २०८१ मंसिर २३ गते १२:२०     विकासन्युज

काठमाडौं ।  बंगलादेशको कपडा (गार्मेन्ट) उद्योग अहिले संकटमा परेको छ । बंगलादेशको कपडा उद्योग चीनपछि विश्वको दोस्रो ठूलो कपडा उद्योग हो । संसारका धेरै ठूला ब्रान्डहरूले आफ्नो कपडा बंगलादेशमा बनाउँछन् वा त्यहाँबाट किन्छन् । यहाँ बनाइएका कपडाहरू संसारको कुना-कुनामा ठूला शोरुममा बेचिन्छन् ।

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि देशको स्थिति झन् नाजुक बन्दै गइरहेको छ । यसको सबैभन्दा ठूलो असर त्यहाँको कपडा उद्योगमा परेको छ । अहिलेको अवस्था यस्तो बनेको छ कि धेरै कम्पनीहरू बन्द हुने बाटोमा छन् ।

बंगलादेशको वर्तमान अवस्थालाई हेर्दा विश्वव्यापी ब्रान्डहरू बंगलादेशसँग व्यापार गर्न असहज महसुस गरिरहेका छन् ।

बंगलादेशको जीडीपीमा ठूलो हिस्सा

बंगलादेशको गार्मेन्ट उद्योगको जीडीपीमा ठूलो हिस्सा छ । बंगलादेशको गार्मेन्ट उद्योगले देशको जीडीपीमा ११ प्रतिशत योगदान दिने गर्छ । यस क्षेत्रमा धेरै राजस्व (८० प्रतिशत) निर्यातबाट आउँछ ।

बंगलादेशको कपडा उद्योगले घाटा बेहोरेमा त्यहाँको आर्थिक अवस्था झन् बिग्रिन सक्ने अनुमान गरिएकाे छ । कामदारले पनि जागिर गुमाउनु पर्ने हुर्ने र बंगलादेशले फेरि ठूलो ऋण लिनुपर्ने सम्भावना पनि देखिएको छ ।

ठूला ब्रान्डको नजर भारततिर

विश्वका धेरै ठूला ब्रान्डहरू अहिले भारतमा नजर लगाइरहेका छन् । इकोनोमिक टाइम्सका अनुसार गुजरातको सूरतमा धेरै कम्पनीले सोधपुछ गरिरहेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनीहरूले तयारी पोशाकको उत्पादन र आपूर्तिको लागि सोधपुछ गरिरहेका छन् ।

सम्झौता भएको खण्डमा सूरतको कपडा उद्योगको वृद्धि प्रतिवर्ष १२ प्रतिशतले बढी २०-२५ प्रतिशतसम्म बढ्ने बताइएको छ । सुरतका साथै तमिलनाडुको तिरुपुर र कोइम्बटूर, पञ्जाबको लुधियाना र उत्तर प्रदेशको नोएडाले पनि फाइदा लिनसक्ने जनाइएको छ ।