२०८१ मंसिर २३ गते १७:४८ विकासन्युज
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टीयू) को ३ हजार ७ सय २२ रोपनी जग्गामध्ये एक हजार रोपनी जग्गा हिनामिना भएको पाइएको छ । विश्वविद्यालयका पदाधिकारीले नै जग्गा विभिन्न संघसंस्थालाई बाँडेको पाइएको हो ।
जग्गा खोजबिन गर्न गठित समितिले टीयूको एक हजार रोपनी जग्गा बाँडीचुँडी गरेको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ । विश्वविद्यालय बनाउन स्थानीय जग्गाधनीबाट सुरुमै अधिग्रहण गरिएको जग्गा विश्वविद्यालयका पदाधिकारीले मनलाग्दी रूपमा बाँडेको प्रतिवेदनमा उल्लेख छ ।
विश्वविद्यालयको अतिक्रमित जग्गा खोजबिन गर्न सरकारले जेठ दोस्रो साता पूर्व सचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको थियो । त्रितालको संयोजकत्वमा समिति बनाएपनि उनी बिरामी परेपछि महेन्द्रकुमार थापा संयोजक बनेका थिए । समितिमा जानकीबल्लभ अधिकारी, प्राडा. प्रेम सागर चापागाईं सदस्य थिए ।
समितिले खोजबिन पुरा गरेर शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई प्रतिवेदन बुझाएको छ । विश्वविद्यालय स्थापना गर्दा सुरुमै जग्गा धनीहरूलाई मुआब्जा दिएर त्रिविको नाममा आएको जग्गा संरक्षण गर्न नसकेको छानविन समितिको ठहर छ ।
त्रिवि पदाधिकारीले जग्गा संरक्षण नगरी शैक्षिक संस्थाबाहेकलाई पनि जग्गा भोगचलन गर्न दिएर लापरवाही गरेको भन्दै खोजबिन समितिले जिम्मेवार पदाधिकारीमाथि छानविन गर्न सुझाव दिएको छ ।
त्रिभुवन विश्वविद्यालयको जग्गा गणतन्त्र स्मारकको नाममा ६० रोपनी, बीपी कोइराला विज्ञान संग्रहालयले १५० रोपनी, कृषि मन्त्रालय अन्तर्गतको समशीतोष्ण बागवानी केन्द्रले २८२ रोपनी जग्गा प्रयोग गरिरहेका छन् ।
यस्तै, १० रोपनी जग्गा कब्जा गरी ढुंगा, गिट्टी र बालुवाको डिपो सञ्चालन गरिएको छ भने ल्याब स्कुलले १०८ रोपनी, आर्यदेव अनुसन्धान तथा तालिम केन्द्रले ३० रोपनी, केयुकेएलले २४ रोपनी, राधा सतसंग ब्यासलाई १३ रोपनी जग्गा भोगचलन गर्न दिएको समितले बताएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.