२०८१ मंसिर २५ गते ११:४९ इन्द्रसरा खड्का
काठमाडौं । नेपाली नर्सहरूमा चुनावी सरगर्मी बढेको छ । मंसिर २८ गते हुने नेपाल नर्सिङ संघको २०औँ केन्द्रिय कार्यसमितिको निर्वाचनको मिति नजिकिएसँगै नर्सहरूमा चुनावी सरगर्मी बढेको हो । अहिले नर्सहरू चुनावी प्रचारप्रसारमा जुटेका छन् । जिल्लादेखि केन्द्रका नर्सहरू आ-आफ्नो पक्षमा मत माग्न दौडधुप गरिरहेका छन् । चुनावका लागि प्रजातान्त्रिक र प्रगतिशील दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रगतिशील समूहबाट बागी उम्मेद्वार पनि अध्यक्षको प्रतिस्पर्धामा रहेकाले यो पटकको चुनाव अझै रोचक बन्ने देखिएको छ । विशेषगरी चार राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी निकट नर्सहरू चुनावी मैदानमा उत्रेका छन् । उनीहरूले दुई दुई दल मिलाएर प्यानल बनाएका छन् ।
नेकपा एमाले र नेकपा माओवादी निकटका नर्सहरूले संयुक्त प्रगतिशील प्यानलमा दिएर उम्मेद्वारी घोषणा गरेका छन् भने, नेपाली कांग्रेस र एकीकृत समाजवादी निकट नर्सहरूको संयुक्त नर्सिङ पेशागत प्यानल समूह बनाएर उम्मेद्वारी दिएका छन् । प्रगतिशील तर्फबाट चन्द्रकला शर्मा र पेशागत तर्फ गंगा थापा अध्यक्षका लागि मैदानमा उत्रेका छन् । दुवै समूहलाई टक्कर दिदैँ प्रगतिशील समूहबाट एमाले निकट बसन्ती थापाले बागी उम्मेदवारका रुपमा अध्यक्षको मैदानमा आएकी छन् ।
यतिबेला नर्सिङ संघको अध्यक्षका लागि तीन जना उम्मेद्वार मैदानमा छन् । अध्यक्ष पदका तीनै जना उम्मेद्वार आ आफ्नो जितका लागि कसरत गरिरहेका छन् । अहिले चुनावी मैदानमा उत्रेका तीनै जना उम्मेदवारहरू आफैमा सक्षम र योग्य व्यक्ति हुन् । उनीहरू करिब चार दशकदेखि यही विषयमा काम गर्दै आएका छन् । आउनुहोस् जानौँ कसको अनुभव कति
गंगा थापा
नेपाली कांग्रेस र एकीकृत समाजवादी निकट नर्सहरूको संयुक्त नर्सिङ पेशागत प्यानलबाट अध्यक्ष पदकी उम्मेद्वार हुन् गंगा थापा । उनी त्रिवि शिक्षण अस्पताल नर्सिङ अफिसरको रुपमा कार्यरत छिन् । ३६ वर्षदेखि नर्सिङ पेशमा आवद्ध उनी अहिले पनि यही पेशामा आवद्ध रहेकी छिन् ।
उनी यो भन्दा अघिको कार्यकालमा संघको उपाध्यक्षमा पदमा थिइन् । नेपाली नर्सहरूको समस्या र उनले भोग्दै आएको कुराबारे लामो समयदेखि जानकार उनले अध्यक्षमा निर्वाचित भइसकेपछि यो विषयमा आवाज उठाउने पहिलो काम भएको बताएकी छन् । नर्सहरूको पेशागत सुरक्षा सुनिश्चता गर्नेदेखि यो पेशालाई गुणस्तर, आधुनिक तरिकाले लैजाने र देशभर विस्तार गर्ने उनको योजना छ ।
बसन्ती थापा
बसन्ती थापा नेपाल नर्सिङ संघको अध्यक्ष पदको स्वतन्त्र उम्मेद्वारी हुन् । सरकारी अस्पताल र कलेजमा विगत ३८ वर्षदेखि कार्यरत उनी अहिले अवकाश प्राप्त प्राध्यापक हुन् । करिब ४ दशकदेखि स्वास्थ्य क्षेत्रमा आवद्ध उनी स्थापनाको ६३ वर्षसम्म पनि कुनै काम हुन नसकेको बताउँदै अब राजनीतिबाट अलग भएर काम गर्नुपर्नेबेला आएको बताउँछिन् ।
लामो समयदेखि काम गर्दा नर्सहरूको समस्या नजिकबाट थाहा भएको बताउँदै उनले यो अवधिसम्म प्रयास धेरै भएको तर, कार्यान्वयन गर्न नसकिएको बताउँदै अब पदभन्दा संस्थालाई दिगो बनाएर लैजानुपर्ने बताइन् । अघिल्लो कार्यकालमा महासचिव बनेकी थापा संस्था र पदाधिकारी गरेको कामप्रति सन्तुष्ट नहुँदा आफै मैदानमा आउनु परेको बताउँछिन् ।
‘मैले हामी प्यानुल बनाएर जानुभन्दा सबैपक्षको विज्ञहरूलाई मिलाएर जाउँ, संस्थालाई राम्रो बनाउँ भन्दा कसैले सुनेन,’ उनी भन्छिन्, यहाँ राजनीकिरण धेरै भयो संस्थालाई राम्रो बनाउनुभन्दा पदमा कसरी पुग्ने भन्ने होड चल्यो, मेरो कुराको सुनुवाइ नहुँदा आफै आउनुपर्ने बाध्यता आयो ।’ थापाले नर्सहरूको पेशागत क्षमता र दक्षता अभिवृद्धि गर्दै सेवाको गुणस्तर सुधार्न विशेष ध्यान दिने प्रतिबद्धता गरेकी छन् ।
भन्छिन्,‘नेपाली नर्सहरूले धेरै दुःख झेल्नुपरेको छ, २४ घण्टा डिउटीमा खटरे महिनमा ८ देखि १० हजार पाइरहेका छन्, मेरो योजना भनेकै उनीहरूको पेशागत सुरक्षा र दक्षता अनुसारको पारिश्रमिक उपलब्ध गराउने रहेको छ ।’
चन्द्रकला शर्मा
चन्द्रकला शर्मा नेपाल नर्सिङ संघको अध्यक्ष पदका लागि संयुक्त प्रगतिशील समूह तर्फबाट अध्यक्ष पदको उम्मेद्वार हुन् । ३३ वर्षदेखि यही क्षेत्रमा कार्यरत उनी हाल उनी सरकारी सेवाबाट अवकाश प्राप्त प्रोफेसर हुन् । उनले महाराजगञ्ज नर्सिङ क्याम्पसको सहायक प्रमुखको रुपमा पनि काम गरेकी थिइन् ।
२०७५ सालमा नेपाल नर्सिङ परिषदको अध्यक्ष समेत भइसकेकी उनी अहिले नर्सहरूले पाइरहेको समस्या समाधान गर्न अध्यक्षको पदका लागि चुनावमा होमीएको बताउँछिन् । मैले लामो समयदेखि कलेज र अस्पतालमा काम गरेकी छुँ, नर्सहरूको समस्या नजिकबाट थाहा पाएकी छुँ,’उनी भन्छि, ‘अब मैले काम गरेको अनुभव र समस्या समाधानका लागि प्यानल सहित अघि बढेका हौँ ।’
राजनीतिको गन्ध
नर्सहरू प्यानल बनाएर निर्वाचनमा जाँदा धेरैले नर्सिङ क्षेत्रमा पनि राजनीति घुसेको तर्क गरेका छन् । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा आबद्ध नर्सहरू राजनीति लगाइनु राम्रो सन्देश नभएको धेरैको भनाइ छ । नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष सरला केसी राजनीतिको गन्ध आएको बताउँछिन् । २००१८ सालदेखि नर्सिङ संघको निर्वाचन हुँदै आएपनि यसरी दलनिकट खुलेर नआएको बताउँदै उनी यो पटक खुलेरै पार्टीनिकट आवद्ध भइ चुनावमा जानु दुखद भएको बताउँछिन् ।
पहिले बामपन्थी, प्रजातान्त्रिक भन्ने थिएन, म अध्यक्ष हुँदा पनि सरला केसी समूह भनेर चुनावमा गएकी थिएँ, उनी भन्छिन्, अहिले त प्रगती शिल भनेर नै मैदानमा साथीहरू आउनुभएको छ यसमो सन्देश समाजमा राम्रो जाँदैन । उनी राजनीतिक आस्था व्यक्तिगत रुपमा भएपनि पेशागत तरिकाले लाग्दा राजनीति घरसाउनु राम्रो नहुने बताउँछिन् । राजनीति गर्ने आकाक्ष हुनेलाई खुला ठूलो ठाउँ रहेको बताउँदै उनी नर्सिङ संगमै बसेर राजनीति गन्ध आउन नहुने बताउँछन् ।
नेपाल नर्सिङ संघ नर्सहरूको एक व्यवसायिक संगठन हो । जुन गैर राजनीतिक र गैर साम्प्रदायिक संगठन हो । जुन कुनै वर्ग र धर्मको प्रभावबाट बाहिर रहने भनिएको छ । यो गैर राजनीतिक संगठन भएकाले पनि यसमा राजनीति गर्न नहुने विज्ञहरू बताउँछन् ।
निराश नर्स
नर्सहरूको पेशागत सुरक्षा र हकहितको लागि भन्दै उम्मेद्वार मैदानमा गइरँहदा केही अस्पतालमा कार्यरत नर्सहरू भने कसैलाई मत नदिने तयारीमा छन् । आफ्ना हकहितको लागि कसैले केही गर्न नसकेको बताउँदे यो निर्वाचनमा समाहित नहुने उनीहरूको भनाइ छ । वीर अस्पतालमा कार्यरत एक नर्सले यो चुनावमा कसैलाई मतदान नगर्ने बताएकी छन् ।
करिब १ दशकदेखि अस्पतालमा कार्यरत उनी नर्सको हितको लागि काम गर्ने भन्दै भोट मागेपनि पदमा पुग्दा कसैले गुनासा समेत नसुन्ने बताउँदै कसैलाई भोट नदिने बताइन् । ‘म जस्तै भोट नहाल्ने धेरै जना हुनुहुन्छ, जो नेपालमै काम गर्ने मन हुादा समेत विदेशको तयारी गरिरहनुभएको छ,’ उनी भन्छिन्,‘नियमित डिउटीमा खटिनेहरूको दुःख उस्तै हो, आउँछन एक छिन् भोट माग्छन्, जान्छन् पीडामा परेकाहरू आवाज कसैले सुन्दैन ।
‘उनले नेपालमा नर्सिङ पढेका धेरै नर्सहरू विदेश जाने तयारीमा रहेको बताइन् । महारजगञ्ज अस्पतालमा कार्यरत अर्की नर्सको गुनासो पनि उस्तै छ । उन्ले पनि यो चुनावमा कसैलाई मतदान नगर्ने निर्णय गरेकी छिन् । ‘अहिले चुनावी प्रतिसपर्धामा रहेका दुवै समूहका प्रतिबद्धता हे¥यौँ, ति प्रतिबद्धता नयाँ होइनन्,’ उनी भन्छिन्, ‘जव चुनाव आउँछ, प्रतिवद्धता ल्याएर भोट माग्न पुग्छन्, भोट पाइसकेपछि सबै विर्सन्छन्, नर्सको हितमा भन्दा कसरी राजनीति गर्ने पद पाउने भन्ने मात्र छ ।’
अस्पतालमा कार्यरत धेरै जसो नर्सहरूको गुनासो यस्तै छ । केही नर्सले ४ वर्ष लगाएर पढेको खर्च १० वर्ष काम गर्दा पनि उठाउन नसकेको बताउँदै नेपालमा बसेर काम गर्ने वातावरण नै नरहेका बताएका छन् । प्यानल बनाएर चुनाबी प्रतिस्पर्धामा उत्रेका दुईवटै प्यानलका प्रतिबद्धता भने एकै नासका छन् ।
चन्द्रकला शर्माको प्यानलले २८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ भने गंगा थापाको प्यानलले २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । दुपैका प्रतिबद्धतामा नर्सहरूलाई नेपाल सरकारले तोके बमोजिमको तलब र सुविधा को व्यवस्था गर्नेदेखि लिएर रात्रिकालीन सेवाको एक दिनको तलब बराबर र सार्वजनिक बिदा तथा चाड पर्व बिदाका दिनहरूमा सेवा गरे बापत यथोचित भत्ताको व्यवस्थाका लागि पहल गर्ने, सुत्केरी भएको २ वर्ष सम्म र ५० वर्ष नाघेका नर्सहरूलाई नाइट ड्युटी गर्न नलगाउने नीतिगत व्यवस्थाको लागि पहल गर्ने सम्मका बुँदा रहेका छन् ।
२० मतदान केन्द्र, १५ सय मतदाता
नेपाल नर्सिङ संघ वि.सं. २०१८ सालमा स्थापना भइ नर्सहरूको पक्षमा वकालत गर्दै आएरहेको पेशागत संस्था हो । यो संस्थाले नर्सहरूको पेशागत हकहितवारे आवाज उठाउँदै आएको छ ।संघमा आवद्ध करिब एक हजार वाँच सय बढी नर्सहरू रहेका छन् । उनीहरूले आफुलाई पायक पर्ने मतदान केन्द्रमा गएर मतदान गर्न सक्ने छन् । त्यसका लागि देशभरका २० ठाउँमा चुनावी मदतान केन्द्र बनाइएको छ ।
झापाको लागि प्रादेशिक अस्पताल भदपुर, मोरङ्गको कोशी अञ्चल अस्पताल, सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धनकुटाको जिल्ला अस्पताल, राजविराजको गजेन्द्र नारायण सिंह अस्पताल, जनकपुरको प्रादेशिक अस्पताल,बिरगञ्जको विरगंज नर्सिङ क्याम्पसमा मतदान केन्द्र राखिएको छ ।
यस्तै चितवनको भरतपुर अस्पताल, काठमाडौंको केन्द्रिय कार्यलय, नेपाल नर्सिङ्ग संघ, लाम्जिपाट भक्तपुरको भक्तपुर अस्पताल, मकवानपुरको हेटौडा अस्पताल मकवानपुर,पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलको लुम्बिनी अञ्चल अस्पताल, पाल्पाको जिल्ला अस्पताल, पाल्पा, दाङ्गको दाङ्ग उपक्षेत्रिय अस्पताल,नेपालगञ्जको भेरी अस्पताल, नेपालगंज सुर्खेतको प्रादेशिक अस्पताल,जुम्लाका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,रोल्पाको जिल्ला अस्पताल र कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा मतदान केन्द्र रहेका छन् । यि मतादान केन्द्रमा पायक पर्ने नर्सहरूले मतदान गर्ने छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.