२०८१ मंसिर २५ गते १७:१६ बबिता तामाङ
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको बबरमहलबाट सञ्चालनमा ल्याएको ‘पेलिकन क्रसिङ’ अर्थात् पुस बटन प्रविधि प्रभावकारी बन्दै गएको छ ।
२०८० मंसिर ११ गतेबाट सञ्चालनमा आएको सो प्रवधि थप प्रभावकारी बन्दै गएको काठमाडौं महानगरका ट्राफिक प्रहरी सल्लाहकार जगतमान श्रेष्ठले बताए । उनका अनुसार महानगरले अब छिट्टै नै ३६ ठाउँबाट पुस बटन प्रविधि सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।
पहिलोपटक २०७९ फागुन १३ गते बागदरबारमा परीक्षणको रूपमा सञ्चालनमा आएको यो प्रविधि बबरमहलबाट सुरु भएको थियो । पैदलयात्री आफैले बटन थिचेर सडक पार गर्न सकिने प्रविधि भएकाले यसलाई पुस बटन अर्थात् अन डिमाण्ड क्रसिङ भनिएको हो ।
यो प्रविधि नेपालको लागि नौलो भएपनि पैदलयात्रु विस्तारै अभ्यस्त हुँदै गएको महानगरका ट्राफिक प्रहरी सल्लाहकार श्रेष्ठ बताउँछन् । यो प्रविधि सञ्चालनमा आएपछि बबरमहल क्षेत्रमा दुर्घटना न्युनीकरण हुँदै गएको श्रेष्ठले बताए ।
उनले भने, ‘विगतमा काठमाडौं जिल्ला अदालतअघि धेरै नै सडक दुर्घटना हुने गर्थ्यो, हामीले त्यस ठाउँलाई केन्द्रित गरेर पुस बटन लाइट जडान गर्यौं, अहिले त्यसको प्रभावकारिता देखिएको छ, दुर्घटना न्यूनीकरण भएको छ ।’
श्रेष्ठका अनुसार त्यहाँ लाइट राखेपछि सवारी चालक पनि सचेत बन्दै गएकाले दुुर्घटना न्युनीकरणमा सहयोग पुगेको हो । सडकमा निकै कम ट्राफिक लाइट भएको अवस्थामा यसले सर्वसाधारण पैदल यात्रुलाई ठूलो राहत मिल्ने उनको भनाइ छ ।
बेलाबेला यो लाइट बिग्रेको गुनासो आइरहन्छ । यससम्बन्धमा श्रेष्ठ भन्छन्, ‘प्रविधि हो, कतिबेला के हुन्छ भन्न सकिन्न । बेलाबेला बिग्रेको गुनासो आउँछ, बिग्रेका अवस्थामा तुरुन्तै बनाएर पुनः सञ्चालमा ल्याउने गरेका छौं ।’
पछिल्लो प्रगति
काठमाडौं महानगरले पेलिकन क्रसिङको लागि २ करोड रुपैयाँ रकम विनियोजन गरेको छ । लाइट निर्माण ठेक्का भने १ करोड ७० लाखमा यार्सा टेक्नोलोजीले पाएको थियो । अहिले ३६ ठाउँमा काम धमाधाम भइरहेको महानगरका ट्राफिक सल्लाहकार श्रेष्ठले जानकारी दिए । निर्माण कम्पनीले पुसको पहिलो हप्तामा सबै काम सकाउनुपर्ने सम्झौता छ । सम्झौताअनुसार नै काम सक्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।
निर्माण पक्षका अनुसार हालसम्म ३५ ठाउँमा पोल गाडिसकेको छ भने २६ ठाउँमा लाइट जडान भइसकेको छ । ३६ वटै ठाउँको लाइट एकैपटक सञ्चालनमा ल्याउने तयारी महानगरले गरेको छ ।
सुरुमा जडान गरिएको बबरमहलको लागि साढे सात लाख रुपैयाँ लागत लागेको थियो । अब जडान हुने पेलिकन क्रसिङको लागि भने त्यो भन्दा पनि कम लागत लाग्न सक्ने श्रेष्ठको भनाइ छ ।
सबै काम सकिसकेपछि एक/दुई दिन ट्रायलको लागि राखिने र त्यसपछि मात्रै प्रयोगमा ल्याउने श्रेष्ठले बताए ।
‘सुरुमा जडान गरेको ठाउँमा ट्रायलको रूपमा राख्छौं, त्यसपछि महानगरका प्रहरी आफै बसेर यात्रुहरूलाई प्रयोग कसरी गर्ने भनेर सिकाउँछौं, साथै यो लाइट राखेका नजिकका स्कुलमा गएर केही दिन विद्यार्थीलाई ओरिन्टेसन पनि गराउँछौं,’ श्रेष्ठले भने ।
महानगरले पेलिकन क्रसिङ लाइट विद्यालय र क्याम्पस एरियालाई केन्द्रित गरेर राखिएको छ । रत्नराज्य क्याम्पस, शिवपुरी विद्यालय, बागमती विद्यालय, स्वरस्वती क्याम्पस, हेराल्ड कलेजलगायत ३६ विद्यालय तथा स्कुलनजिक यो लाइट राखिने महानगरले जनाएको छ ।
ट्राफिक लाइट र पुस अन बटनमा भिन्नता
धेरैले ट्राफिक लाइट र पुस अन बटन अर्थात् पेलिकन क्रसिङलाई एउटै भनेर बुझ्ने गरेको पाइएको छ । वास्तवमा यी दुई भिन्न हुन् । ट्राफिक लाइट सिस्टमअनुसार आफै अटोमेटिकल्ली बल्ने हुन्छ । यो प्रविधि ट्राफिक चापअनुसार नै सेट गरेको हुन्छ ।
पेलिकन क्रसिङ पैदलयात्रुले आवश्यकताअनुसार आफै नै प्रयोग गर्न मिल्छ । यो प्रविधि चोकभन्दा बाहिर राखिएको हुन्छ । यात्रुले बटन थिचेपछि २ देखि तीन मिनेटमा बत्तीमा रातो बल्छ र सवारीसाधन रोकिन्छन् । त्यसपछि यात्रुले सहजै सडक पार गर्न सक्छन् ।
पेलिकन क्रसिङ कति आवश्यक ?
सडकविज्ञ सरोज प्रधान काठमाडौं उपत्यकाभित्र पेलिकन क्रसिङ सञ्चालनमा आउनु राम्रै भएपनि यसका थुप्रै चुनौतीहरू पनि रहेको बताउँछन् । काठमाडौं उपत्यकामा मान्छेको चाप बढी हुँदा धेरैले यो प्रविधि प्रयोग गर्न खोज्छन्, यसले सवारी आगमनलाई प्रभावित पार्न सक्ने उनको भनाइ छ ।
‘पेलिकन क्रसिङ सडक यात्रु आफैले प्रयोग गर्न मिल्ने हुँदा यसको सिस्टम पनि त्यहीअनुसार सेट गरेको हुन्छ । सडक यात्रुको मागअनुसार यो प्रविधि छिनछिनमै प्रयोग गर्ने हो भने यसले सवारी आगमन प्रभावित पर्न जान्छ । त्यसैले यसको सही सिस्टम हुनु आवश्यक देखिन्छ,’ प्रधानले भने ।
धेरै सर्वसाधारण यसको प्रयोगबारे अनविज्ञ भएको हुँदा सडक यात्रुहरुलाई पनि सिकाउनु जरुरी रहेको उनी बताउँछन् । त्यस्तै, आवश्यकता र प्राथामिकताको आधारमा यो प्रविधि जडान हुनुपर्ने उनको भनाइ छ ।
‘काठमाडौंको सडकमा यो प्रविधि कति आवश्यक हो या होइन, यसको अध्ययन सम्बन्धित निकायले गर्नुपर्छ । मनलाग्दो जहींतहीं यो प्रविधि जडान गर्नुभन्दा आवश्यकता कहाँ हो त्यही राख्दा यसको प्रभावकारिता हुन सक्छ,’ प्रधानले भने ।
त्यस्तै, यस्ता खालको प्रविधिहरू राखेर मात्रै नहुने उनको भनाइ छ । प्रविधिहरू राखेपछि त्यसको व्यवस्थापन, मेन्टेनेन्स पनि समयमै हुनुपर्ने सडकविज्ञ प्रधानको भनाइ छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.