सेयर विभाजन गर्ने एनएलजीको तयारी, बीमा प्राधिकरणसँग राय माग

  २०८१ मंसिर २५ गते २१:११     विकासन्युज

फाइल फोटो

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले अंकित सेयर मूल्य विभाजन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणलाई मंसिर २४ गते एक पत्र लेख्दै सेयर मूल्य विभाजनको लागि आवश्यक प्रक्रियासहितको निर्देशनात्मक राय माग गरेको हो ।

सेयर विभाजन गर्ने कम्पनीको प्रयाससँगै यसको सेयर मूल्यमा सकारात्मक प्रभाव देखिएको छ । मंगलबार कम्पनीको अन्तिम सेयर कारोबार प्रतिकित्ता ९२० रुपैयाँमा भएको छ । हालै निष्काशन गरिएको हकप्रद सेयर बाँडफाँड पछि एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर पुँजी २ अर्ब ५० करोड रुपैयाँ हुँदैछ ।

हाल प्रचलिक कम्पनी ऐन २०६३ को दफा ५६ (२)मा रहेको प्रावधान अनुसार नियमावलीको अधिनमा रही कम्पनीको सबै वा केही सेयर पुँजीलाई अंकित मूल्य भन्दा बढी वा घटी मूल्यको सेयरमा एकिकृत वा विभाजन गरेर सेयर पुँजी हेरफेर गर्न सक्ने अधिकारको व्यवस्था रहेको जनाउँदै एनएलजी इन्स्योरेन्स कम्पनीले उक्त व्यवस्था कार्यान्वयन गर्न चाहेको प्राधिकरणलाई लेखेको पत्रमा उल्लेख छ ।

एनएलजीले उक्त व्यवस्था कार्यान्वय गर्न बीमा प्राधिकरणले तोकेको प्रक्रियाबारे पनि जानकारी माग गरेको छ । साथै, यस प्रक्रिया अगाडि बढाउनु प्रधिकरणबाट आवश्यक निर्देशन पनि माग भएको छ ।

कम्पनी ऐनको दफा ५६ मा शेयर पुँजी हेरफेर गर्ने कम्पनीको अधिकारको बारेमा उल्लेख छ । त्यसमा कम्पनीको नियमावलीमा गरिएको व्यवस्थाको अधीनमा रही साधारण सभामा विशेष प्रस्ताव पारित गरी कुनै कम्पनीले आफ्नो शेयर पुँजी हेरफेर गर्न सक्ने उल्लेख गरिएको छ ।

कम्पनीले उपयुक्त ठानेको रकमको नयाँ शेयर सिर्जना गरी कम्पनीको अधिकृत शेयर पुँजीमा वृद्धि गरेर, कम्पनीको सबै वा केही शेयर पुँजीलाई अङ्कित मूल्यभन्दा बढी वा घटी मूल्यको शेयरमा एकीकृत वा विभाजन गरेर  प्रस्ताव पारित हुँदाका दिनसम्म कसैले पनि नलिएको वा शेयर लिन मञ्जुर नगरेको वा नियम बमोजिम जफत भएको शेयर खारेज गरी सो खारेज भएको शेयरको मूल्य बराबरको कम्पनीको शेयर पुँजीको रकम घटाएर सेयर पुँजी हेरफेर गर्न सक्ने व्यवस्था गरिएको छ ।

उपदफा २ मा पुँजीको हेरफेर गर्ने विशेष प्रस्ताव साधारणसभाबाट पारित भएमा सोही हदसम्म सम्बन्धित कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन भएको मानिने उल्लेख छ ।

तर यसअघि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पनि १०० रुपैयाँ अंकित सेयरलाई विभाजन गरी प्रतिकित्ता १० रुपैयाँ अंकित सेयर बनाउने निर्णय साधारणसभाबाट गरेर नियामकसँग स्वीकृत माग गरेको थियो । तर तत्कालिन बीमा समितिले उक्त प्रस्ताव अस्वीकृत गरेको थियो ।

हाल सोल्टी होटलको सेयरको अंकित मूल्य प्रतिकित्ता १० रुपैयाँ रहेको छ । अरु सबै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ । नेपालको पुँजीबजारमा अधिकांस म्यूचल फण्डको अंकित मूल्य १० रुपैयाँ रहेको छ भने ऋणपत्रहरुको मूल्य १००० रुपैयाँ रहेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.