२०८१ मंसिर २६ गते ९:३१ विकासन्युज
काठमाडौं । प्रभु बैंकका ठूला सेयरधनीले बैंकमा रहेको स्वामित्व घटाउने रणनीति बनाएका छन् । प्रभु बैंकका पूर्वअध्यक्ष तथा प्रतिनिधिसभा सांसद देवीप्रकाश भट्टचन परिवारले बैंकमा रहेको सेयर बिक्री गरेर विस्तारै बैंकबाट बाहिरिने रणनीति बनाएको देखिन्छ । गत वर्ष पनि पनि केही सेयर बिक्री गरेको भट्टचन परिवारले यस पटक पनि ठूलो परिमाणको सेयर बिक्रीमा राखेको छ । बैंकका ठूला सेयरधनीले नै सेयर बिक्रीका लागि राखेका छन् ।
प्रभु ग्रुपको समेत लगानी रहेको बैंकमा भट्टचनका परिवारको समेत ठूलो लगानी छ ।बैंकका ठूूला सेयरधनी राजेन्द्र भट्टचन, शिक्षा भट्टचन, सची भट्टचन र अम्बिका शर्मा लामिछानेले बैंकको सेयर बिक्री गरेर बाहिरिने तयारी थालेका हुन् ।
बैंकका अनुसार राजेन्द्र भट्टचनले १२ लाख ६९ हजार १ कित्ता, शिक्षा भट्टचनले ७ लाख ३३ हजार ७०६ कित्ता, सची भट्टचनले ६ लाख ७२ हजार ४२१ कित्ता सेयर बिक्रीमा राखेका छन् । शिक्षा भट्टचन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्ष पनि हुन् ।
यस्तै, अम्बिका शर्मा लामिछानेले ५ लाख कित्ता सेयर बिक्रीमा राखेकी छन् । उनी बैंकको छैठौं ठूलो सेयरधनी समेत हुन् । बैंकका अनुसार उनको ०.६० प्रतिशत अर्थात् १४ लाख ९ हजार ५३४ कित्ता सेयर स्वामित्व छ ।
यस्तै, सुनिल मान शेरचनले १९ हजार ९९२ कित्ता, शकुन्तला श्रेष्ठ प्रधानले २१ हजार ८३४ कित्ता, सरस्वती सुब्बा देवानले ३९ हजार ९५८ कित्ता र केशब तुलाधरले ३३ हजार ४०५ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।
बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । बैंकको सेयरमा ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा संस्थापकले आवेदन नदिए सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
यस्तै, राजेश श्रेष्ठले ४३ हजार २३५ कित्ता, गोविन्द प्रसाद ज्ञवालीले १६ हजार ७०६ कित्ता, तारा प्रसाद पोख्रेलले १९ हजार ७०२ कित्ता, सनिदेव सप्लायर्स प्रालिले ३९ हजार ४१५ कित्ता र राजेन्द्र मान सिंह बस्नेतले १६ हजार २४३ कित्ता सेयर बिक्रीमा राखेका छन् । उक्त सेयर सर्वसाधारणले समेत खरिद गर्न पाउने छन् । बैंकको सञ्चालक समितिमा नरहेको व्यक्तिले सेयर बिक्री गर्न पाउने व्यवस्था छ । सञ्चालक समितिबाट बाहिरिएको एक वर्षमै सेयर बिक्री गर्न पाउने व्यवस्था छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.