२०८१ मंसिर २६ गते ११:१८ विकासन्युज
काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षमा कैलाश खड्का निर्वाचित भएका छन् । सोमबार सम्पन्न १९औं महाधिवेशनबाट खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।
महासंघको वरिष्ठ उपाध्यक्षमा महेशराज श्रेष्ठ, प्रथम उपाध्यक्षमा गायत्री जीसी, द्वितीय उपाध्यक्षमा धनबहादुर गिरी, महासचिवमा दाताराम काफ्ले, सचिवमा लिलाम्बर झा, कोषाध्यक्षमा रामपुकार तिवारी निर्वाचित भएका छन् ।
त्यस्तै केन्द्रीय सदस्यहरूमा चन्द्रमा राई, प्रवेश रोक्का क्षेत्री, दीपककुमार कार्की, वेलबहादुर श्रेष्ठ, केशर थापा, रोजिना शाक्य र रामप्रसाद लम्साल चयन भएका छन् ।
महाधिवेशनको उद्घाटन श्रममन्त्री शरतसिंह भण्डारीले गरेका थिए । मन्त्री भण्डारीले वैदेशिक रोजगारमा गएका श्रमिकलाई हिट स्ट्रेस, मृगौला फेल लगायत रोगबाट जोगाउन सरकारले प्रभावकारी स्वास्थ्य परिक्षणमा ध्यान दिइएको बताएका थिए ।
नवनिर्वाचित अध्यक्ष खड्काले मलेसिया जाने श्रमिकको मेडिकल फिट सम्बन्धी रिपोर्ट शतप्रतिशत गुणस्तरीय बनाउने अभियान जारी रहेको बताए ।
महासंघमा आबद्ध सबै स्वास्थ्य संस्थाहरूले अन्तर्राष्ट्रिय स्तरको मापदण्डलाई पूर्ण रूपमा अनुशरण गर्दै आइरहेको भन्दै उनले समय समयमा सरकारी निकायबाट भइरहेको अनुगमनबाट पनि यसको पुष्टि हुँदै आएको उनले बताए ।
कोही कसैलाई श्रमिकको स्वास्थ्यमा खेलवाड गर्ने छुट नभएको भन्दै उनले व्यावसायिक आचारसंहितालाई उच्च मनोबलका साथ प्रर्दशन गर्न कुनै कसुर बाँकी नराख्ने उनले बताए ।
अध्यक्ष खड्काले नेपाल र मलेसियावीच भएको श्रम सम्झौतालाई कार्यान्वयन गर्न आफ्ना सदस्य संस्थाहरूले कहीँ कतै कमजोरी नदेखिएको भन्दै प्रंशसा गरे । महाधिवेशनले महासंघको प्रगति र आर्थिक प्रतिवेदन समेत सर्वसम्मत रूपमा पारित गरेको छ ।
नेपाल स्वास्थ्य व्यवसायी महासंघ वैदेशिक रोजगारीमा जाने श्रमिकको गुणस्तरीय बायोमेडिकल स्वास्थ्य परीक्षण गर्न स्थापित स्वास्थ्य संस्थाहरूको छाता संगठन हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.