२०८१ मंसिर २६ गते १३:४२ विकासन्युज
काठमाडौं । अमेरिकी अदालतमा घुसखोरीको आरोपको सामना गरेका गौतम अडानी बन्दरगाह परियोजनाबाट पछि हटेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अडानी पोर्ट्सले श्रीलंकामा आफ्नो एउटा बन्दरगाह परियोजनामा अमेरिकाको सहयोग नलिने बताएको हो । यस आयोजनाका लागि कम्पनीले आफ्नै स्रोत परिचालन गर्ने जनाएको छ ।
अडानी समूहको कम्पनी अडानी पोर्ट्स र स्पेसल इकोनोमिक जोन (एपीएसईजेठ) श्रीलंकामा कोलम्बो वेस्ट इन्टरनेसनल टर्मिनल (सीडब्ल्यूआईटी) परियोजनामा काम गरिरहेको छ ।
यो आयोजनाका लागि कम्पनीले अमेरिकी कम्पनी युएस डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डीएफसी)सँग ५५३ मिलियन डलर ऋणका लागि वार्ता गरिरहेको थियो । तर, अब अडानी पोर्टले यो ऋण अनुरोध फिर्ता लिएको छ ।
गत वर्ष सम्झौता
एपीएसईजेठ र डीएफसीबीच गत वर्ष नोभेम्बरमा ५५३ मिलियन ऋण सम्झौतामा हस्ताक्षर भएको थियो । एक डीएफसी प्रवक्ताले लेनदेन २०२३ मा स्वीकृत भएको तर कुनै कोष वितरण नभएको जानकारी दिए ।
अब कम्पनीले के गर्ला ?
इकोनोमिक टाइम्सका अनुसार अडानी पोर्ट्सले मंगलबार राति आफ्नो स्टक एक्सचेन्ज फाइलिङमा यो जानकारी दिएको हो । कम्पनीले डीएफसीसँग रकमको लागि अनुरोध फिर्ता लिएको बताएको छ । अब यो आयोजनाका लागि आन्तरिक स्रोत परिचालन गर्ने कम्पनीले जनाएको छ । यसका लागि आन्तरिक स्रोत र पूँजी व्यवस्थापन रणनीति अवलम्बन गरिनेछ ।
कम्पनीका अनुसार श्रीलंकामा सीडब्ल्यूआईटी परियोजनाको काम तीव्र गतिमा भइरहेको छ । यहाँ नयाँ टर्मिनलको काम भइरहेको छ । आगामी वर्षको सुरुदेखि सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
सीडब्ल्यूआईटी परियोजना के हो?
यो परियोजना अडानी पोर्ट्स र श्रीलंकाली समूह जोन केल्स होल्डिङ्सले निर्माण गरिरहेको छ । यसका लागि अडानी पोर्ट्सले श्रीलंका पोर्ट्स अथोरिटी र जोन किल्स होल्डिङ्ससँग सम्झौता गरेको थियो । यो परियोजना सेप्टेम्बर २०२१ मा सुरु भएको हो । यसले कोलम्बो पोर्टको क्षमता विस्तार गर्ने लक्ष्य राखेको छ ।
सीडब्ल्यूआईटी श्रीलंकाको सबैभन्दा ठूलो र गहिरो कन्टेनर टर्मिनल हुनेछ । यसको लम्बाइ एक हजार ४०० मिटर र गहिराई २० मिटर हुने बताइएको छ ।
कोलम्बो बन्दरगाह हिन्द महासागरको सबैभन्दा ठूलो र व्यस्त ट्रान्स-शिपमेन्ट पोर्ट हो । यसको क्षमतालाई ध्यानमा राख्दै यसको विस्तारको आवश्यकता महसुस भएको थियो । यस नयाँ टर्मिनलको वार्षिक कार्गो ह्यान्डलिङ क्षमता ३२ लाखभन्दा बढी हुने अपेक्षा गरिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.