पर्यटन बोर्डलाई एटीएम मेसिन जस्तै बनाइयो

  २०८१ पुष १८ गते ११:०८     विकासन्युज

काठमाडौं । नेपाल पर्यटन बोर्डले आफ्नो स्थापनाकादेखि नै विभिन्न संकटको सामना गर्दै आएको छ । त्यति हुँदाहुँदै पनि बोर्ड बजारीकरण र प्रमोशनमा अघि बढिरहेकै छ । बोर्डले सीमित ठाउँमा पर्यटकीय गतिविधिलाई विस्तार गर्दै आएको छ । हाम्रो उद्देश्य पनि पहिले विदेशी पर्यटक त्यसपछि मात्रै आन्तरिक पर्यटकलाई जोड दिने रहेको छ । त्यसतर्फ हामी लागिपरेका छौं ।

नेपालमा आन्तरिक पर्यटक इतिहास धेरै पुरानो छैन । पछिल्ला १०/१२ वर्षपछि मात्रै नेपालमा आन्तरिक पर्यटकको संख्या बढेको देखिन्छ । पछिल्ला दिनहरूमा स्थिर अवधारणा निकै महत्त्वपूर्ण भएर गएको छ । यसमा पनि हामीले विभिन्न निकायसँग सहकार्य गर्दै अघि बढेका छौं । पर्यटन क्षेत्रको कुरा गर्दा विशेषगरी होटलहरूको क्यापसिटी बढेको छ । अहिले होटलहरूले करिब ४० लाख पर्यटकलाई धान्न सक्ने अवस्था भइसकेको छ । तथापि सन् २०२४ मा १० लाख ५० हजारको हाराहारीमा पर्यटन भित्र्याउन सफल भयौं । सन् २०२३ मा १० लाख पर्यटक नेपाल भित्रिएका थिए । २०२४ मा ग्लोबल रिकोभरी ९७ प्रतिशत भएको छ ।

कतिपय मुलुकहरू २०२२/२३ मा भइसके पनि हाम्रोमा भर्खर रिकभर हुँदैछ । हामीले एक/दुई वर्षअघि विभिन्न कारणले मार्केटको प्रमोशन आक्रामक रूपमा गर्न सकेनौं । यदि गर्न सकेको भए यत्तिबेलासम्म रिकभर भइसकेका हुन्थ्यौं । भूकम्पछि पुन:निर्माण, त्यसपछि कोभिडको कारण यो क्षेत्रले एक किमिसले विश्राम लिनुपर्ने अवस्था आयो । विश्रामपछि पुनः सुरु भएको यो क्षेत्रले विस्तारै लय समातेको अवस्थामा सोचेजस्तो लक्ष्य हासिल गर्न सकेन ।

चुनौती

नेपाल पर्यटन बोर्ड आफैमा सार्वजनिक र निजी साझेदारीमा चलेको संस्था हो । काम गर्न सहज हुन्छ भनेर बोर्डको प्राथमिकता सरकारी निकायमा बढी देखिन्छ । तर आउँदा दिनमा निजी क्षेत्रसँग साझेदारी गरेर अघि बढ्न चाहन्छौं ।

बोर्ड र बोर्डले गर्ने गतिविधिका बारेमा बाहिर वास्तविकताभन्दा फरक ढंगले आइरहेको देख्छु । नेपालमा पर्यटनको क्षेत्रमा बोर्डले मात्रै गर्नुपर्छ, बोर्डको मात्रै जिम्मेवारी हो भन्ने जुन भाष्य निर्माण हुन खोजिरहेको छ, त्यसमा परिवर्तन ल्याउनु जरुरी छ । पर्यटन क्षेत्रको उत्थानको लागि हामी सबैको उत्तिकै दायित्व र जिम्मेवारी छ । बोर्डले मुलतः नेपाललाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने, पर्यटन क्षेत्रमा निजी क्षेत्रले जसरी ठूलो लगानी गर्नुभएको छ, उहाँहरूको लागि सहयोगी भूमिका खेल्दिने हो । उहाँहरूको विषयहरूलाई सहजीकरण गरिदिने हो ।

नेपाल पर्यटन बोर्ड एटीएम कार्डजस्तो भएको छ । प्रपोजल हाल्ने अनि पैसा आइहाल्छ भन्ने धेरैको सोच भएको देख्छु । भन्नैपर्दा यहाँ हरेक दिन ७०/८० देखि सय वटासम्म प्रपोजलहरू आइरहेको हुन्छ । जुन हामीले गर्न सक्ने अवस्थामा छैन । कहिलेकाहीं गर्न सकेनौंभन्दा दु:ख नमान्दिनुहोला । यो सार्वजनिक संस्था हो । बोर्डले धेरै क्षेत्रमा जिम्मेवारी बहन गर्नुपर्ने छ । धेरै सेक्टरमा बजेट बाँडफाँट गर्नुपर्ने हुन्छ ।

धेरैले पर्यटन बोर्डका कर्मचारी विदेशमात्रै घुम्छन्, विदेशको मात्रै चासो हुन्छ भन्ने गरेको पाउँछु । विदेश कर्मचारीको चाहनाभन्दा पनि काम गर्न गएको हो । काम नै त्यही तोकेको छ । अझ कतिले त यो बोर्ड आवश्यक नै छैन बन्द गर्दिनुस् भन्नेसम्म सुनेको छु, हामीलाई के लाग्छ भने यी सबै कुराभन्दा बोर्डलाई बलियो बनाउन सबैको साथको खाँचो छ । सबैले यसमा योगदान गर्नुपर्छ । कहिलेकाहीं बोर्डले प्याकेज बनाएन भन्ने आउँछ । बोर्डले प्याकेज बनाउनेभन्दा निजी क्षेत्रले बनाएका प्याकेजलाई प्रवर्द्धन गर्ने हो ।

अर्को पछिल्लो समय स्थानीय तह, प्रदेश जताततै पर्यटक आओस् भन्ने खालको अपेक्षा बढेर गएको पाइन्छ । नेपालमा मुस्किलले १२ लाख पर्यटक भित्रिन्छन् । त्यो पनि सबै ठाउँमा पुग्ने सम्भावना छैन । पर्यटन व्यावसायिक सेक्टर भएकाे हुनाले जहाँ सम्भावना छ त्यहाँमात्रै जोड दिनुपर्छ भन्ने लाग्छ । पर्यटकलाई घरघर लानेभन्दा पनि पर्यटकबाट आएका आम्दानीलाई घरघरसम्म पुर्‍याउने हो । थुप्रै देशमा हेर्ने हो भने निश्चित क्षेत्रमा मात्रै पर्यटकीय गतिविधि हुन्छ ।

त्यस्तै, थुप्रै ठाउँमा भ्रमण वर्ष घोषणा गर्ने त्यसपछि पर्यटनमा कायापलट हुन्छ भन्ने बुझाइ छ । घोषणा आवश्यक छ त्यसले सबै क्षेत्रलाई चलायमान पनि बनाउँछ । त्यसभन्दा बढी हाम्रो ध्यान पर्यटन भित्र्याउनका लागि चाहिने आवश्यक तयारी अझ गर्नुपर्छ ।

आगामी कार्यदिशा

विगतमा भएका विभिन्न गतिविधिबाट हामीले धेरै पाठ सिकेका छौं । विगतका वर्षहरूमा ‘ट्राभल ट्रेड फेयर’ मा हाम्रो सहभागिता धेरै हुन्थ्यो । जुन धेरै खर्चिलो हुने तर खासै उपलब्धि नहुने महसुस गरेका छौं । आगामी दिनमा त्यसमा हुने सहभागी घटाएका छौं । हामी जहाँ गएपनि पर्यटन क्षेत्रको विकास हुने गरी नै अघि बढ्ने नीतिलाई सारेका छौं ।

पछिल्लो समय प्रविधिको द्रुत विकास भएसँगै बोर्डका कामकारबाही एउटै डिजिटल प्लेटफर्मबाट गर्ने भन्ने सोच बनाएका छौं । विश्व यति गतिशील ढंगले अघि बढिरहेको छ, त्यसअनुसार भविष्यका लागि हामी तयार भएनौं भने पर्यटन क्षेत्रबाट सोचेजस्तो उपलब्धि लिन हामी असक्षम हुनेछौं । त्यसलाई ध्यान दिएर भविष्यमा थप पर्यटन भित्र्याउनका लागि हामीले विभिन्न कार्यक्रमहरू अघि सारेका छौं । हामीले दिर्घकालीनमा नतिजा आउने खालका कार्यक्रमहरू ल्याउने तयारी गरेका छौं । अबको तीन महिनाभित्रै काठमाडौं, पोखरा, चितवन र लुबिनीजस्ता ठाउँमा गएर कार्यक्रम गर्दैछौं । त्यसैगरी, हामीले एक/डेढ वर्षदेखि रोकिएका अन्तर्राष्ट्रिय मार्केटिङ प्रमोसनलाई अघि बढाउनेछौं ।

जनशक्ति विकासमा पनि हामीले विभिन्न पर्यटन व्यवसायी, एशोसिएसनहरूसँग समन्वय गरेर काम गर्नुपर्ने भएको छ । अहिले दैनिक चार/पाँच हजार जनशक्ति बाहिरिरहेको अवस्था छ । रोजगारको सिलसिलामा खाडी मुलुकदेखि विभिन्न देशमा जाने युवाको संख्या बढ्दो संख्यामा छ । यसले पर्यटन क्षेत्रले मात्रै नभएर दिर्घकालीन रूपमा देशले समेत ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ । पूर्वाधारमा सुधार भएसँगै त्यो हिसाबले पर्यटक नेपाल भित्रनेछन् । तर पर्यटकलाई सेवा दिने दक्ष जनशक्ति कम हुँदै गएको छ । यसतर्फ सबैले सोच्नुपर्ने बेला भएको छ ।

निजी क्षेत्र र सरकारी दुबैमा डिजिटल इन्टरभेसनको आकर्षण बढ्दो छ । तर आज पनि धेरै चिज म्यानुअलमै गइरहेका छौं । तर हामीले बढ्दो ट्रेनलाई ग्रहण गर्नुपर्छ । सबै नेता, कर्मचारी भ्रष्ट हुन् भन्ने जुन नकारात्मकता बढेकाो छ कि त्यस्ता कुरालाई जति सक्दो छिटो बदल्न सकेनौं भने त्यसले हामीलाई अगाडि बढ्न दिँदैन । यहाँ धेरै राम्रा मान्छेहरू सक्रिय रूपमा लागिरहनुभएको छ । त्यसरी लाग्नेहरूलाई उत्साह प्रदान गरिदिनुहोला । हिजोका दिनमा निराशा हुनैपर्ने केही देख्दिनँ, अबको २ देखि पाँच वर्षको अवधिमा पर्यटन क्षेत्रले राम्रो फड्को मार्छ ।

(जोशी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् )