२०८१ पुष १८ गते १९:२१ विकासन्युज
काठमाडौं । ग्लोबल आइएमई बैंकले १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
वि.सं २०६३ पुस १८ गते स्थापना भएको बैंक बिहीबारदेखि १९औँ वर्षमा प्रवेश गरेको हो ।
वार्षिकोत्सवका अवसरमा बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राखेको र ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राखेर सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए ।
‘अहिलेको बैंकिङ्ग आवश्यकतालाई मध्यनजर राख्दै हामीले हाम्रा सेवालाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक छ । तर, डिजिटल तथा प्रविधिमैत्री गर्दा सुरक्षाको पनि त्यतिकै ख्याल राख्न जरुरी हुन्छ । सुरक्षालाई न्यूनतम शर्त बनाएर डिजिटल प्रविधिलाई अंगिकार गर्ने हो,’ उनले भने ।
बैंकले आफ्नो स्थापनाको १८ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको उनको भनाइ छ । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकका नीतिहरुको परिपालन गर्दै बैंक अहिलेको अवस्थामा आइपुगेको उनले बताए ।
सम्पूर्ण कर्मचारीहरुको अथक मिहिनेत र लगनशिलताका कारण बैंक अहिलेको अवस्थासम्म आइपुगेको बताउँदै अध्यक्ष ढकालले उत्कृष्ट बैंक बनाउन आफ्नोतर्फबाट पुर्याको विशेष योगदानप्रति सबै कर्मचारीहरुलाई धन्यवाद प्रकट गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले बैंकको सेवालाई नविनतम तथा ग्राहकमैत्री बनाउँदै डिजिटल युगमा समयसापेक्ष बनाउने गरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए । आगामी वर्षमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझै गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता सीईओ रेग्मीले व्यक्त गरे ।
बैंकले १८औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा गरेका १६६ कर्मचारीलाई सम्मान गरेको छ । बैंकका अध्यक्ष ढकालले १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीहरुलाई सम्मान गरेका हुन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.