निगमले तेल बेचेर रमाइरहने दिन धेरै छैनन् : उद्योगमन्त्री भण्डारी

  २०८१ पुष २६ गते १४:१५     विकासन्युज

काठमाडौं । उद्योगमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम नयाँ ढंगले नसोच्ने निगम टिकिरहन नसक्ने बताएका छन् । शुक्रबार निगमको ५५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले निगमले तेल बेचेर रमाइरहने दिन धेरै नरहेको बताएका हुन् ।

‘तेलमात्रै बेचेर मुनाफामा रहेको भन्दै रमाउने अब धेरै दिन छैन,’ उनले भने, ‘तेलमात्रै बेचेर नाफा कमायौं भनेर रमाइरहने आगामी दिनका हाम्रा यात्रा सहज छ या जोखिमपूर्ण छ भनेर हामीले सोच्नुपर्ने बेला आएको छ । आयल निगमले जे जति व्यवसाय गर्छ, त्यसका विकल्पहरू आइसकेका छन् । निगमको व्यवसाय घटिरहेको छ । नयाँ विकल्प नखोज्ने हो भने यसको व्यवसाय घटी नै रहन्छ ।’

आयल निगमको व्यवसाय घटिरहेको र यसको विकल्प बढ्दो रहेकाले निगमको व्यापार घट्दो अवस्थामा रहेको मन्त्री भण्डारीले बताए ।

आयल निगमले विकल्प खोज्दै नयाँ योजना अघि सार्नुपर्ने मन्त्रीको सुझाव छ । आयल निगमले नयाँनयाँ चिजको खोजी गरेर गुणस्तरीय सेवा दिन सोच्नुपर्ने उनले बताए ।

निगमले हाल गरिरहेको कामप्रति मन्त्री भण्डारीले असन्तुष्ट जनाए । जनशक्ति धेरै भए पनि सोहीअनुसार काम भने नभएको तर मागमात्रै बढेको उनले गुनासो गरे ।

उनले दैलेख पेट्रोलियम अन्वेषणको कामलाई सरकारले प्राथमिकतामा राखेको र त्यही अनुसार काम भइरहेको उनले बताए ।

४ हजार मिटर गहिराइभन्दा तल पुगेको र यो ऐतिहासिक उपलब्धि हासिल भएको दाबी उनको छ । यस्तै, उनले यसबारे मन्त्रालयले आवश्यक समन्वय गरेर अगाडि कामा बढाउने सुनाए ।

त्यस्तै, उनले दाङ झापामा लगायत पेट्रोलियम पदार्थ भएका अन्य ठाउँहरूमा सम्भाव्यता अध्ययनको काम चाँडै अगाडि बढाइने बताए ।

उनले भने, ‘नयाँनयाँ कुराहरूको हामीले खोजी गर्नु आवश्यक छ । स्वचालित प्रणालीबाट अगाडि बढ्नुपर्छ । आयल निगमलाई सबैले सहयोग गर्नुपर्छ । यसलाई कसरी राम्रो बनाउन सकिन्छ । यससम्बन्धीका सबै प्रस्ताव ल्याएर आउनुस् । सरकार निर्णय गर्न आतुर छ ।’