क्यालिफोर्नियामा डढेलो : १ खर्ब ५० अर्ब अमेरिकी डलर क्षति, १० हजार घर नष्ट, डेढ लाख मानिसले घर छोडे

  २०८१ पुष २८ गते १०:४८     विकासन्युज

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया मंगलबारदेखि सुरु भएको भीषण ढडेलाले उग्र रुप लिएको छ । निरन्तरको डढेलोले लस एन्जलसका बासिन्दाहरूलाई प्रभावित पारेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हालसम्म डढेलोका कारण १६ जनाको ज्यान गएको छ ।

लस एन्जलस प्रशासनले धुवाँबाट जोगिन घरभित्रै बस्न आग्रह गरेको छ भने अत्यधिक वायुप्रदूषण बढेपछिस्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । सहरमा पसेको आगोले स्वास्थ्य संस्थाहरूमा समेत क्षति पु¥याएका कारण महत्त्वपूर्ण सेवा र स्रोत साधन अवरुद्ध भएको बुझिएको छ ।

सहरमा पसेको आगोले १० हजारभन्दा धेरै घरहरू नष्ट भएको र थप ६० हजार जोखिममा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । हालसम्म १५० अर्ब अमेरिकी डलरभन्दा बढी क्षति भएको हुनसक्ने बताइएको छ ।

लस एन्जलसमा एक लाखभन्दा धेरै घर तथा व्यवसायहरूमा बिजुली आपूर्ति अवरुद्ध भएको छ भने डेढ लाख बढी मानिसले घर छाडेर भागेका छन् ।

प्रशासनले मानिसहरूलाई झ्याल र ढोका थुनेर घरभित्रै रहन प्रदूषित वायुलाई घरभित्र प्रवेश गर्न नदिन वातानुकूलनका लागि प्रयोग हुने एअर कन्डिसनर उपकरण प्रयोग गर्न भनेको छ । सहरमा छ वटा मुख्य डढेलो सक्रिय रहेको बुझिएको छ ।