२०८१ पुष २८ गते १७:३२ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापनका लागि राजेन्द्रप्रसाद तिम्सिनालाई छनौट गरेको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै उक्त कम्पनीको व्यवस्थापनका लागि तिम्सिनालाई छनौट गरेको हो ।
यस्तै, राष्ट्र बैंकले छनौट भएका तिम्सिनालाई नियुक्ति लिनका लागि माघ २ गतेभित्र राष्ट्र बैंकको वित्तिय संस्था सुपरिवेक्षण विभागमा सम्पर्क गर्न भनेको छ । यदि माघ २ गतेभित्र नियुक्ति लिनका लागि तिम्सिना उपस्थित नभएमा वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
तिम्सिनाका साथै राष्ट्र बैंकले अन्य २ जनाको नाम वैकल्पिकमा राखेको छ । वैकल्पिकको पहिलो नम्बरमा रामप्रताप यादव छन् भने दोस्रो नम्बरमा प्रकाश घिमिरे रहेका छन् ।
समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापनका राष्ट्र बैंकले एक जना माग गर्दै मङ्सिर १२ गते दर्खास्त खुलाएको थियो।
त्यसको लागि परेका आवेदनहरूमध्येबाट ४ जनाको आवेदन स्वीकृत भएको जनाइएको छ। प्रकाश घिमिरे, कुमार अधिकारी, राम प्रताप यादव र राजेन्द्रप्रसाद तिम्सिनाको आवेदन फारम स्वीकृत भएका मध्ये कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्तापछि राष्ट्र बैंकले फाइनान्सको व्यवस्थापन तथा सञ्चालनको लागि तिम्सिनालाई छनौट गरेको हो ।
राष्ट्र बैंकले तिम्सिनालाई माघ २ गतेभित्र सम्पर्क गर्न अनुरोध गरेको छ । यदि उनले माघ २ गतेभित्र नियुक्ति लिन नगएमा राष्ट्र बैंकले वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिने छ। वैकल्पिक उम्मेदवारमा रामप्रताप यादव र प्रकाश घिमिरे रहेका छन् ।
राष्ट्र बैंकले सो पदको लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी लेखासम्बन्धी कार्यमा न्यूनतम १० वर्षको अनुभव प्राप्त गरेको वा चार्टर्ड एकाउण्टेन्सी (सीए) पास गरी ५ वर्षको कार्य अनुभव हासिल गरेको लेखा विज्ञले आवेदन दिन सक्ने जनाएको थियो ।
नियुक्त भएका उम्मेदवारले करसहित १ लाख ३ हजार ६ सय रुपैयाँ मासिक पारिश्रमिक प्राप्त गर्नेछन्। दशैंखर्चवापत एक महिनाको पारिश्रमिक बराबरको रकम र भैपरिआउने बिदा वार्षिक १२ दिनसम्म प्रदान गर्नेछ ।
छनौट भएका उम्मेदवारले नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको रामशाहपथस्थित कार्यालयमा काम गर्नु पर्ने छ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.