माघ ११ देखि २० गतेसम्म आयोजना गर्ने आठौँ संस्करणको विराट एक्स्पो २०२५ को अवलोकन गर्ने उद्योगी व्यवसायीहरूका उद्योग विशेषका समस्यालाई समाधान गर्ने प्रयत्न स्वरूप एक्स्पो स्थलमा बिजनेस क्लिनिक पेभिलियन राख्ने तयारी गरेको हो ।
एक्स्पोमा बिजनेस क्लिनिकलाई भर्चुअल प्लेटफर्मका रूपमा व्यवस्थित गरेर अवलोकनकर्ता उद्योगी व्यवसायीहरूका उद्योग विशेष समस्याहरू दर्ता गर्ने र दर्ता गरिएका समस्याहरूलाई वर्गीकरण तथा आवश्यक प्रशोधन गरी तथ्यमा आधारित समाधान गर्ने गरी बिजनेस क्लिनिक सञ्चालन गर्न लागिएको उद्योग सङ्गठन मोरङले जनाएको छ ।
समस्यालाई गहन छलफल र अन्तरक्रिया गरेर समस्या समाधानको प्रयत्न गर्ने सङ्गठनको योजना रहेको सङ्गठनका अध्यक्ष राकेश सुरानाले जानकारी दिए। सङ्गठनले यो क्लिनिक विगत तिन वर्ष देखि सञ्चालन गर्दै आएको छ ।
त्यस अवधिमा सुनसरी मोरङ औद्योगिक क्षेत्रका विभिन्न ७५ वटा उद्योगको स्थलगत भ्रमण गरेर सम्बन्धित उद्योगका १२२ वटा मुद्दा पहिचान गरी समाधानको पहल भइरहेको उनले जानकारी दिए । फिजिकल अवस्थालाई सङ्गठनले एक्स्पो मार्फत भर्चुअल प्लेटफर्मको रूपमा विकास गर्न खोजेको जनाएको छ ।
यो प्लेटफर्म विकास भएपछि उद्योगीहरूले आफ्नो समस्या उद्योगमै बसेर दर्ता गरेर सङ्गठनको डिजिटल प्लेटफर्ममार्फत समाधान खोज्न सक्ने अवस्थाको सृजना हुनेछ । सङ्गठनले यो क्लिनिकलाई नियमित र व्यवस्थित बनाउन कार्य समिति सदस्य पारस लुनियाको नेतृत्वमा बेग्लै समिति गठन गरेको छ ।
सङ्गठनले सञ्चालन गर्दै आएको यही बिजनेस क्लिनिकको उपलब्धि र अवधारणालाई आधार मानेर चेम्बरहरूले गर्ने बहस पैरवीको क्षेत्रमा नयाँ आयाम थपेको मान्दै कन्फीडिरेशन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एन्ड इन्ड्रष्ट्रिले उद्योग सङ्गठन मोरङलाई गत कात्तिकमा उत्कृष्ट च्याम्वर अवार्ड प्रदान गरेको थियो ।