ऋणमा डुबेको अमेरिकामा थप तनाव, २०२४ मा ६९४ कम्पनी टाट पल्टिए

  २०८१ माघ २ गते १२:०३     विकासन्युज

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकामा गत वर्ष अर्थात् २०२४ मा ६९४ ठूला कम्पनीहरू टाट पल्टिएका छन् । जुन २०१० पछिको सबैभन्दा उच्च हो ।

गत दुई वर्षमा टाट पल्टिने कम्पनीहरूको संख्या ८७ प्रतिशतले बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । आधिकारिक रूपमा यो स्तर २०२० देखि बढेको हो । त्यसपछि कोरोना अवधिमा ६३८ कम्पनीहरू टाट पल्टिए ।

गत वर्ष गैरआवश्यक वस्तु र सेवा क्षेत्रले सबैभन्दा ठूलो क्षति बेहोरेको थियो । सन् २०२४ मा यस क्षेत्रका १०९ कम्पनीहरू टाट पल्टिएका छन् । यसपछि औद्योगिक क्षेत्रका ९० कम्पनीहरू र स्वास्थ्य सेवा क्षेत्रका ६५ कम्पनीहरू टाट पल्टिए ।

मुद्रास्फीति र उच्च ब्याजदरका कारण कम्पनीहरूको अवस्था खराब छ । यस वर्ष फेड रिजर्भले ब्याजदर घटाउने सम्भावना कम छ । मुद्रास्फीतिको पुनरुत्थान र दीर्घकालीन उच्च ब्याजदरले यस वर्ष धेरै कम्पनीहरूलाई समस्यामा पार्न सक्छ ।

आगलागीले तनाव

क्यालिफोर्नियामा लागेको आगलागीका कारण बीमा, विद्युत् लगायतका क्षेत्रका कम्पनीहरू टाट पल्टिने सम्भावना बढेको छ । यसलाई अमेरिकाको इतिहासमा सबैभन्दा भीषण आगलागी मानिएको छ । यसका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ र हजारौं घरहरूमा क्षति पुगेको छ ।

आगलागीले घाटा १५० अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको छ । यसबाट बीमा कम्पनीहरूले सबैभन्दा बढी नोक्सानी बेहोर्ने सम्भावना छ। आगलागीपछि उनीहरूको बजार पूँजीकरण १९ अर्ब डलरले घटेको छ ।

ऋणमा झन् बेहाल अमेरिका

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र अमेरिकी ट्रेजरीको तथ्याङ्कअनुसार अमेरिकाको ऋण ३६ ट्रिलियन डलर पुगेको छ, जुन कुल गार्हस्थ उत्पादनको करिब १२५ प्रतिशत हो । विश्वको कुल ऋणको ३४.६ प्रतिशत हिस्सा अमेरिकाले ओगटेको छ ।

यो ऋणको ब्याज तिर्न खर्च हुने रकम देशको रक्षा र स्वास्थ्य बजेटभन्दा बढी हुने अवस्था आएको छ ।

अब ब्याज रकमभन्दा सामाजिक सुरक्षा बजेटमात्रै बढी छ । यदि यो अवस्था जारी रह्यो भने आगामी तीन वर्षमा अमेरिकी सरकारको सबैभन्दा ठूलो दायित्व ब्याज हुनेछ ।

ब्युरो अफ इकोनोमिक एनालिसिसको तथ्यांकअनुसार अमेरिकी सरकारको राजस्वको १८ प्रतिशत ऋणको ब्याज तिर्नमात्रै जाने गरेको छ । यो ३० वर्षयताकै उच्च हो । पछिल्लो २४ वर्षमा अमेरिकाको ऋण ६ गुणा बढेको छ ।

कोरोना महामारी सुरु भएयता अमेरिकाको ऋण १६ ट्रिलियन डलरले बढेको छ । अमेरिकाको इतिहासमा सरकारले यति धेरै ऋण पहिला कहिल्यै लिनुपरेको थिएन ।

पछिल्लो २४ वर्षमा अमेरिकाको ऋण ६ गुणा बढेको छ । सन् २००० मा अमेरिकाको ऋण ५.७ ट्रिलियन डलर थियो । यो २०१० मा १२.३ ट्रिलियन र २०२० मा २३.२ ट्रिलियन थियो । यूएस कंग्रेसको बजेट कागजातअनुसार आगामी दशकसम्म देशको ऋण ५४ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ ।

अमेरिकाले दैनिक १ अर्ब ८ करोड डलरभन्दा बढी ब्याज तिर्न खर्च गर्नुपर्ने अवस्था आएको छ । यसले सरकारको आम्दानी घटेको र खर्च बढेको स्पष्ट देखाउँछ ।

अर्थतन्त्र ध्वस्त हुनसक्ने

अमेरिकाको अर्थतन्त्र र राष्ट्रिय सुरक्षाका लागि यति धेरै ऋण राम्रो कुरा नभएको विज्ञहरू बताउँछन् । अबको केही वर्षमा अमेरिकाको ऋण-जीडीपी अनुपात २०० प्रतिशत पुग्न सक्ने अनुमान गरिएको छ । अर्थात् देशको ऋण अर्थतन्त्रको दोब्बर पुग्नेछ ।

यदि यस्तो भयो भने ऋण चुक्ता हुनेबित्तिकै अमेरिकाको अर्थतन्त्र ध्वस्त हुनेछ । जसका कारण सरकारले अनुसन्धान तथा विकास, पूर्वाधार र शिक्षामा कूल खर्चभन्दा ब्याज तिर्न बढी खर्च गर्नुपर्नेछ ।

देशको अर्थतन्त्र राम्रो अवस्थामा रहेका बेला ऋण बढ्नु चिन्ताको विषय हो । सामान्यतया अर्थतन्त्र कमजोर हुँदा सरकारले आर्थिक वृद्धि बढाउन खर्च बढाउँछ ।

बढ्दो ऋणका कारण रिपब्लिकन र डेमोक्र्याट दुवै पार्टीबीच प्रायः विवाद हुन्छ । तर सत्य यो हो कि दुवै पार्टीको कार्यकालमा देशको ऋण बढेको छ । यसको असर देशको क्रेडिट रेटिङमा पनि देखिन थालेको छ ।

गत वर्ष अगस्टमा फिचले अमेरिकाको सार्वभौम ऋणको रेटिङ ‘डबल ए प्लस’ (एए +) बाट घटाएर ‘त्रिपल ए’ (एएए) गरेको थियो । मुडीजले पनि अमेरिकाको एएए कटौती गर्न सक्ने चेतावनी दिएको थियो ।