वीर अस्पतालमा ३ सय नर्स आउँदै, आईसीयू क्याबिन पनि सुचारु हुने

  २०८१ माघ २ गते १५:०४     विकासन्युज

काठमाडौ । वीर अस्पतालमा बन्द रहेको १६ बेडको क्याविन र १८ बेडको आईसीयू फेरि सञ्चालनमा आउने भएको छ । जनशक्ति अभाव हुँदा लामो समयदेखि बन्द रहेकोमा फेरि सञ्चालनमा आउन लागेको अस्पतालले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लोकसेवा आयोग खोलेर करिब ३ सय जना नर्स दिने बताएपछि आईसीयू र क्याबिन फेरि सञ्चालनमा आउने तयारी भइरहेको अस्पतालका सूचना अधिकारी सीताराम खड्काले बताए । कोरोनाको बेला स्वास्थ्य मन्त्रालयले राखेको ठूलो जनशक्ति एकै पटक कटौती गर्दा आईसीयू बन्द गर्नुपर्ने अवस्था आएको थियो ।

दैनिक हजारौंको भीड लाग्ने वीर अस्पतालले जनशक्ति विशेषगरी नर्स कम हुँदा धेरैजसो सेवाहरू खुम्च्याउनुपर्ने अवस्था छ । अस्पतालले सेवा खुम्च्याउँदा यसको प्रत्यक्ष असर नागरिकमा पर्छ ।

‘अस्पतालले सेवा दिने भनेको जति जनशक्ति भयो त्यति राम्रो अनि छिटो हुन्छ तर यहाँ यस्तो अवस्था छैन,’ खड्का भन्छन्, ‘जनशक्ति कम हुँदै एक जना नर्स र चिकित्सकले धेरै बिरामी हेर्न पर्ने र भएका सेवाहरू पनि खुम्च्याउनुपर्ने अवस्था आउँछ । ’

मन्त्रालयले कोरोनाकालमा काम गरेका २ सय ७६ नर्सलाई एकै पटक हटाएको थियो । २०८० असोजमा आर्थिक अभावले पैसा तिर्न नसक्ने अवस्था आएको बताएपछि कोरोना महामारीको समयमा सेवा खटेका नर्सहरूलाई हटाएको थियो ।

कांग्रेस नेता मोहन बस्नेत स्वास्थ्यमन्त्री रहेको बेला २ सय ७७ नर्सलाई एकै पटक हटाउँदा वीरको सेवा प्रवा प्रभावित भएको थियो ।

त्यो बेलादेखि बन्द भएको १८ बेडको आईसीयू र क्याबिन बन्द गरिएको थियो । करारबाट ल्याएका नर्सलाई एकै पटक हटाउँदा सेवामा प्रभावित भएको थियो । यो हप्ताभित्रै तीन सय जना नर्स आउने तयारी भएकाले सबै सेवा फेरि सुचारु हने अस्पतालले जनाएको छ ।