स्वास्थ्यकर्मीलाई सेयरमा लगानी गर्न प्रोत्साहन, ५ लाखको पोर्टफोलियो हुनेले सेवा लिन सक्ने

  २०८१ माघ २ गते १९:१४     विकासन्युज

काठमाडौं । एलिट क्यापिटल लिमिटेडले स्वास्थ्यकर्मीहरुलाई सेयर बजारमा लगानी गर्न सघाउने उद्देश्यले ‘डक्टर्स पिएमएस’ सेवा संचालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट ईजाजतप्राप्त मर्चेन्ट बैंकर एलिट क्यापिटलले आफ्नो ‘लगानी व्यवस्थापन सेवा’ अन्तरगत यो विशेष योजना ल्याएको हो ।

क्यापिटलका चिफ बिजनेस अफिसर ओमकारमणि आचार्यका अनुसार न्यूनतम ५ लाख रुपैंया वा सो बराबरको सेयर भएपछि सो योजनामा सहभागि हुन सकिन्छ । यसमा बार्षिक सेवा शुल्क पुर्ण रुपमा निःशुल्क गरिएको छ ।

लगानीमा भएको नाफामा लगानीकर्तालाई ९० प्रतिशत र एलिट क्यापिटललाई १० प्रतिशत भागबण्डा हुने गरी बाँडफाड गरिने बताएको छ । साथै नाफा भएको रकम त्रैमासिक रुपमा चाहेको बेला झिक्न सकिने र यसमा ५ लाखभन्दा माथि जतिसुकै लगानी गर्न सकिने समेत जनाइएको छ ।
यो योजनामा सहभागि हुने स्वास्थ्यकर्मीका परिवारलाई निःशुल्क डिम्याट खाता तथा मेरो सेयर सेवाको सुविधा समेत प्रदान गरिने जनाइएको छ । साथै यस लगानी योजनामा सहभागी हुने लगानीकर्तालाई निःशुल्क बीमा सुविधा समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसका साथै सेयर बजार सम्बन्धि निःशुल्क तालिम र अन्य परामर्श सेवाहरु समेत निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्य संस्थामा आवद्ध व्यक्तिहरुका लागि यो योजना लागु हुने क्यापिटलले जनाएको छ ।