बालबालिकालाई स्थानीय तहको संरचनाबारे जानकारी दिन ललितपुर महानगरमा नमूना बाल नगरसभा सुरु

  २०८१ माघ ३ गते १८:४९     विकासन्युज

काठमाडौं । ललितपुर महानगरमा चौथो नमूना बाल नगरसभा सुरु भएको छ ।

नमूना बाल नगरसभा ललितपुर महानगर र महानगर स्तरीय बाल क्लब सञ्जालले अन्य विभिन्न संघसंस्थासँग सहकार्य गरी चौथो नमूना बाल नगरसभाको आयोजना गरेको हो ।

बालबालिकालाई स्थानीय तहको संरचना, कार्यप्रणाली लगायतका विषयमा जानकारी दिन आयोजना गरिएको नमूना बाल नगरसभाको बिहीबार सामाजिक विकास समितिका संयोजक एवम प्रवक्ता राजु महर्जनले उद्घाटन गरे ।

कार्यपालिका, नगरसभा, नगर प्रमुख, ‘उपप्रमुखको जिम्मेवारी थाहा पाउन नमूना बाल नगरसभा महत्त्वपूर्ण रहेको सामाजिक विकास समितिका संयोजक एवम कार्यक्रमका प्रमुख अतिथि राजु महर्जनले बताए । उनले भने,  ‘विद्यार्थीलाई यो कार्यक्रम निकै उपयोगी हुन्छ, सबैभन्दा नजिकको सरकार कसरी सञ्चालन हुन्छ, त्यो बुझ्न सजिलो हुन्छ । ’

सामाजिक विकास समितिका सदस्य एवं वडा नंं.१८का अध्यक्ष दामोदर खड्काले नमूना बाल नगरसभा सिक्ने, सिकाउने महत्त्वपूर्ण ठाउँ भएको बताए । बाल नगरसभामा सहभागी बालबालिका भविष्यका कर्णधार भएको बताउँदै यो कार्यक्रममा सहभागी भएका मध्येबाट नै भविष्यका नगर प्रमुख, उपप्रमुख उत्पादन हुने धारणा राखे ।

बाल नगरसभामा सिकेका कुरा विद्यालय, विश्वविद्यालयमा सिकेको ज्ञानभन्दा पनि महत्त्वपूर्ण हुने बताए ।

सामाजिक विकास समिति सदस्य उमा श्रेष्ठ बज्राचार्यले यो कार्यक्रम उपयोगी भएको बताइन् ।

ललितपुर महानगर सामुदायिक विकास शाखाकी प्रमुख सरिता महर्जनले बालबालिकालाई लोकतन्त्र, लोकतान्त्रिक संस्कृति , नगरसभा, कार्यपालिका गठन, विषयगत समितिको काम, कर्तव्य लगायतका बारेमा जानकारी दिने बताइन् । उनले भनिन्, ‘यी सम्पूर्ण विषयमा विज्ञबाट बालबालिकालाई जानकारी दिन्छौं , त्यसपछि नमूना बाल नगरसभा गर्छौं । ’

यो कार्यक्रम सूचनामूलक, ज्ञानवर्द्धक र उपयोगी भएको उनले बताइन् । कार्यक्रमकी अध्यक्ष प्रार्थना श्रेष्ठले कार्यक्रम उपलब्धिमूलक हुने बताउँदै सक्रिय सहभागिताको लागि अनुरोध गरिन् ।