२०८१ माघ ४ गते १८:१८ विकासन्युज
काठमाडौं । नेपाली बजारमा ‘दीपल एस जेरो सेभेन एल’ भित्रिएको छ । नेपालका लागि चांगन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले शुक्रबार एक कार्यक्रमको आयोजना गरी गाडी सार्वजनिक गरेको हो ।
यो ईभीलाई थप शक्तिशाली मोटर र बढी रेन्जसहित सार्वजनिक गरिएको हो । यो नेपाली बजारमा सफल इलेक्ट्रिक एसयूभी हो ।
गाडीको अनावरण एमएडब्लू वृद्धिका अध्यक्ष अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया र दीपलका ब्रान्ड एम्बेस्डर पारस खड्काले संयुक्त रूपमा गरे ।
कार्यक्रममा एमएडब्लू वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवालले दीपल एस जेरो सेभेन हालसम्म ७०० भन्दा बढी युनिट बिक्री भइसकेको जानकारी दिए ।
आज सार्वजनिक भएको दीपल एस जेरो सेभेन एलले ईभीको पर्फर्मेन्स, रेन्ज ड्राइभिङ एक्साइटमेन्टलाई नयाँ उचाइमा पुर्याउने उनले दाबी गरे ।
यसमा १६० किलोवाटको रियर ह्वील ड्राइभ मोटर र ७९.९ किलोवाट आवरको ब्याट्रीप्याक दिइएको छ । यसको मोटर पहिलेको भर्सनभन्दा ६० किलोवाट धेरै हो ।
यसको ब्याट्रीप्याकसमेत १३.१ किलोवाट आवरले ठूलो छ । साथै यो ईभीले सिंगल चार्जमा ४८५ किलोमिटर डब्लूएलटीपी रेन्ज दिन्छ ।
यस एसयूभीको टप स्पीड १८० किलोमिटर प्रतिघण्टा रहेको छ भने ० देखि १०० किलोमिट र प्रतिघण्टाको रफ्तार मात्र ६.६ सेकेण्डमा हासिल गर्ने क्षमता रहेको छ ।
कम्पनीले एस जेरो सेभेन एलको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यद्यपि आगामी १५ दिनभित्र खरिद तथा बुकिङ गर्नेले ८१ लाख ९९ हजार रुपैयाँमै पाउने कम्पनीले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.