सुलभ बुढाथोकी : १५ सयको जागिरदेखि दुई दर्जन कम्पनी मालिकसम्म, बिलियन डलरको यात्रामा (भिडियो स्टोरी)

  २०८१ माघ ६ गते १४:०१     सन्तोष रोकाया

काठमाडौं । नेपालका निजी तथा सरकारी स्कूल/कलेजले विद्यार्थीहरू पाएनौं भनेर रोइकराइ गरिरहँदा सुलभ बुढाथोकीले सञ्चालन गरेका एक दर्जन शैक्षिक संस्थाहरू भरिभराउ छन् । देश बिग्रियो, आर्थिक मन्दी भयो भन्ने आवाज बढिरहँदा बुढाथोकी भने देश बन्छ, बन्दैछ भन्ने आत्मविश्वास बढाइरहेका छन् । धेरैले देशमा वस्तु आयातमात्रै बढ्यो, व्यापार भएन, अब डलर पाउन पनि हम्मेहम्मे हुन्छ भन्ने धारणा राखिरहँदा उनी भने केही वर्षभित्रै देशमा ‘मिलियन्स अफ डलर’ अर्थात् सयौं मिलियन डलर नेपाल भित्र्याउने रणनीति बुनिरहेका छन् । युवाहरू देशमा रोजगारी पाएनौं भनेर पलायन भइरहँदा उनी आफ्नो प्रत्येक विद्यार्थीलाई पढाइसकेको भोलिपल्टै जागिर लगाउँछन् ।

बुढाथोकी यो किसिमको आत्मविश्वास, यो दृढता र जाँगर कसरी आयो ? हामीले उनलाई सुरुमा यही जिज्ञासा राख्यौं । जवाफमा उनले भने, ‘कसैले तैंले यो काम गर्न सक्दैनन् भन्यो भने मैले त्यो कामलाई जसरी पनि गर्नैपर्छ, एउटा कामको पछि लागेपछि त्यो काम नसकिँदासम्म पछि हट्दिनँ, घरपरिवारले पनि मलाई लिँडे भन्छन्, समस्याबाट भाग्ने बानी ममा छैन, बरु समस्याभित्रै अवसर खोजेर हिँड्छु ।’

सानैदेखि केही पृथक किसिमको काम गर्न रुचाउने बुढाथोकीको जन्म ललितपुरको इमाडोलमा भयो । मीनभवनमा रहेको ईपीएस स्कूलबाट विद्यालय तह पास गरेका उनले सन् १९९४ मा एसएलसी (हालको एसईई) सकाए । शंकरदेव कलेज र मीन भवन क्याम्पसबाट उच्च शिक्षा पुरा गरे । एसएलसी पास गरेदेखि नै सूचना प्रविधि (आईटी) पढ्ने रुचि थियो उनमा । तर त्यतिबेला अहिले जस्तो सूचना प्रविधि पढ्ने कलेज नै खुलेका थिएनन् ।

सुरुमा बुढाथोकीको परिवारको स्टेशनरी कारखाना थियो । मोटरसाइकल चलाउनैका लागि भएपनि त्यो कारखानामा गइरहने दैनिकी थियो उनको । तर, विडम्बना पछि कारखाना बन्द भयो । त्यो तीतो अनुभव सुलभसँग छुट्टै छ । त्यही बेला उनले आईटी पढ्ने योजना बनाए । त्यतिखेर आईटीको औपचारिक शिक्षा थिएन । विगत स्मरण गर्दै उनी भन्छन्, ‘जमलमा रहेको एनएआईएटी नामक ट्रेनिक इन्स्टिच्युटमा तालिम लिएँ, कम्युटरको आधारभूत ज्ञान पनि थिएन, सरले कम्प्युटर बन्द गर्न लगाउँदा मैले अर्कै बटन थिचेको अहिले पनि सम्झिन्छु । बिस्तारै ट्रेनिङ लिँदै सिक्दै गइयो, कम्प्युटरमा लेवलअप गर्दै अघि बढियो ।’

सिकाइसँगै बुढाथोकी कम्प्युटर ट्रेनिङ सेन्टरमा काम गर्न थाले । मासिक १ हजार ५ सय रुपैयाँ तलब थियो उनको । ल्याबमा काम गर्नु र विद्यार्थीलाई पढाउनु उनको दैनिकी बन्यो । तर, विस्तारै त्यो संस्था पनि वित्तीय रूपमा समस्यामा पर्न थाल्यो । विद्यार्थी तीन जना मात्रै बाँकी रहे । सन् २००२ मा सञ्चालकहरूले संस्था नै बन्द गर्ने निर्णय गरे ।

त्यतिबेलासम्म बुढाथोकीले भारतको बैंगलोरमा गएर आईटीमा उच्च शिक्षा पनि हासिल गरेका थिए । आईटीमा राम्रो ज्ञान बनाइसकेका उनीभित्र अमेरिका जाने इच्छा पनि पलाएको थियो । तर, त्यो बन्द गर्ने संस्था नै चलाउने कि भन्ने योजना पनि बनाए उनले । ‘मैले अमेरिका जाने साेंच बनाएको थिएँ । तर, देश छोडेर विदेश किन जानु भनेर यही संस्था किन्ने विचार गरेँ । तर, सुरुमा उनीहरूले दिन मानेनन्, पछि म सक्छु भनेर कन्भिन्स गरेपछि मलाई बिक्री गरे,’ उनी विगत सम्झिँदै भन्छन्, त्यतिखेर वित्तीय रूपमा समस्यामा परेको संस्था नै मैले टेकओभर गरेपछि अहिलेको इस्लिङ्टन र आईएनजी बनेको हो ।’

सुरुको डुबेको बिआरएस इन्फोटेक पछि नाम परिवर्तन गरेर इस्लिङ्टन राखिएको बुढाथोकीको भनाइ छ ।

त्यो संस्था किन्दा उनको परिवार उनीसँग रिसाएका थिए । आईटीमा राम्रो ज्ञान भएको आफ्नो छोरोले राम्रो जागिर खानसक्छ भन्ने आत्मविश्वास उनको आमाबुबामा थियो । उनको बुबाले अमेरिका गए पनि हुन्छ नभनेका होइनन् । किनकि अमेरिकामा उनले राम्रो कमाइ गर्न सक्थे । तर, उनले डुबेको संस्था किने । परिवार भने उनको त्यो निर्णयमा सन्तुष्ट थिएन ।

२ दर्जन कम्पनी हाँक्दै

एक हजार ५ सय रुपैयाँको तलब खाने बुढाथोकी अहिले दुई दर्जन कम्पनीको मालिक बनेका छन् । त्यसमा एक दर्जन शैक्षिक संस्था छन् । तीन जना विद्यार्थी, एक/दुई जना शिक्षक र डुबेको संस्थाबाट सुरु भएको उनको यात्रा लाख बढी विद्यार्थी, सयौं शिक्षक र दर्जन शैक्षिक संस्थामा बिस्तार भएको छ । यो छोटो अवधिमा उनी शिक्षा र सूचना प्रविधिको क्षेत्रमा एक सफल उद्यमीका रूपमा स्थापित भएका छन् ।

अहिले उनले इनोभेट नेपाल ग्रुप (आईएनजी) मार्फत व्यवसाय बिस्तार गरिरहेका छन् । आईएनजी ग्रुपमार्फत् २५ वटा संस्था सञ्चालित छन् । त्यसमध्ये १० वटा स्कुल तथा कलेज छन् । ती शैक्षिक संस्थामा उच्च शिक्षातर्फ ११ हजार, टेक्नोलोजीतर्फ माई सेकेण्ड टिचरमा झन्डै एक लाखको संख्यामा विद्यार्थी रहेको उनले जानकारी दिए ।

बुढाथोकीले ती शैक्षिक संस्थामा १७ सय कर्मचारी रहेको सुनाए । ‘हामीले आईएनजी ग्रुपमार्फत एउटा प्रणाली नै विकास ग¥यौं । माई सेकेण्ड टिचरले स्कुल शिक्षा सुधार गर्छ, त्यस्तै ब्याचलर एजुकेशनको लागि पनि हाम्रो आफ्नै इकोसिस्टमले काम गर्छ । ब्याचलर पूरा गरेर निस्किएको जनशक्तिलाई नै प्रयोग गरेर हामी प्रडक्ट मार्केटमा गयौं, अहिले कक्षा ११ र १२ को एकेडेमिक टिम बाहेक ९० प्रतिशत जनशक्ति हाम्रो आफ्नै विद्यार्थीहरू हुन्,’ उनले भने ।

व्यवसायहरू
इस्लिङ्टन कलेज, कमलपोखरी
हेराल्ड कलेज, नक्साल
इटहरी इन्टरनेश्नल कलेज
इन्फोमेरिक्स कलेज, पोखरा
विराटनगर इन्टरनेश्नल कलेज
काव्य स्कुल, नयाँ वानेश्वर
एपेक्स कलेज, मध्येवानेश्वर
माई सेकेण्ड टिचर
स्किल एकेडेमी
आईएनजी कन्सल्टिङ
भैरव टेक
इनोभेट टेक
साइबर साथी
आईएनजी फुड
वान मोर कप
वान मोर बाइट
आईएनजी एआरसी
आईएनजी स्टुडियो

कलेजसँगै आईएनजी ग्रुपले नेपालमा पहिलो पटक अर्थात सन् २०११ मा साइबर सेक्युरटीको पनि पढाइ सुरु ग¥यो । आज देशको सबैभन्दा ठूलो साइबर सेक्युरेटी कम्पनीका रूपमा आईएनजी ग्रुपकै भैरव टेक अगाडि छ । ‘आजभन्दा १३ वर्ष अगाडि नेपालमा पहिलो पटक साइबर सेक्युरेटी पढाउन सुरु गर्‍यौं, त्यही प्रडक्ट प्रयोग गरेर आईटी उद्योगको सेटअप गर्‍यौं, आज भैरव टेक नेपालको पहिलो र सबभन्दा ठूलो साइबर कम्पनी भनेर सुन्दा गर्व लाग्छ,’ बुढाथोकीले खुसी हुँदै भने ।

भैरव टेकले यूरोप, अमेरिकादेखि जापान, अस्ट्रेलिया, बंगलादेश लगायतका विकसित राष्ट्रका ठूल्ठूला कम्पनीसँगै कतिपय क्लाइन्टहरूको लागि साइबर सेक्युरेटी सेवा दिँदै आएको छ । नेपालबाट विदेशको सेक्युरेटी कम्पनीले हेरिरहेको छ । टोयोटा फाइनान्सियल सर्भिसेसको साइबर सेक्युरिटी, युनाइटेड नेशन्स स्विट्जरल्याण्डको एउटा पार्ट, केही समयअघि सम्पन्न भएको पेरिस ओलम्पिकको साइबर सेक्युरिटी यही भैरव टेकले गरेको हो ।

आईएनजीको इकोसिस्टममा आज विभिन्न ५५ वटा देशमा उपस्थिति रहेको बुढाथोकीले सुनाए । इस्लिङ्टनले थाइल्याण्डको कलेजलाई यहींबाट व्यवस्थापन गरिरहेको पनि जानकारी दिए । एउटा डुबेको संस्थालाई सुधार्न सक्छु भन्ने जुन आँट र जोश उनले लिए, त्यसले सार्थकता मात्रै पाएको छैन, आज ५५ देशमा आफ्नो उपस्थिति देखाएका छन् ।

‘समस्यासँग लड्दै र जुद्दै अगाडि बढ्दैछु, कोरोना महामारीको बेला धेरै मानिस घरभित्रै बसे, हामीले सबै कलेजलाई अपग्रेड ग¥यौैं, माई सेकेण्ड टिचरको ग्रोथ कोरोनाकै बेला भएको हो, चुनौतीको बेला अरू सुते, हामीले १८ घण्टा काम ग¥यौं, आज यो सफलता मिलेको छ,’ बुढाथोकीले सुनाए ।

अहिले आईएनजीले काठमाडौंसँगै पोखरा, विराटनगर र इटहरीमा कलेज चलाइरहेको छ । काठमाडौंमै प्रविधिबाटै शिक्षा दिने काभ्या स्कूल पनि सञ्चालित छ । माई सेकेन्ड टिचर अहिले देशका एक सयभन्दा बढी विद्यालयमा चलिरहेको छ । एक लाख विद्यार्थीले यसैको प्रविधिबाट पढिरहेका छन् ।

विद्यार्थी नै बिजनेस पाटर्नर

बुढाथोकीले विद्यार्थीलाई पढाएर मात्रै आफ्नो ड्युटी सकियो सोचेका छैनन् । पढेका विद्यार्थीलाई काम दिनुलाई उनले आफ्नै जिम्मेवारी ठाने । ‘यस वर्ष १ हजार ९५७ जनाले स्नातक उत्र्तीण गरे । ‘ग्र्याजुएट भएको एक महिनाभित्र १९०० जनालाई जब जागिर दिलायौं । सम्पर्कमा नआएकाले ५७ जनालाई काम लगाउन बाँकी छ । मेरा विद्यार्थीमध्ये एक जनालाई मात्र जब प्लेसमेन्ट गर्न बाँकी थियो भने तपाईंसँगको अन्तरवार्ता मेरो प्राथमिकतामा पर्दैन थियो,’ उनले भने ।

विद्यार्थीसँगको सहकार्यमा बुढाथोकीले अर्को राम्रो अभ्यास गरेका छन् । आफ्ना विद्यार्थीहरूलाई सकेसम्म आफ्नै व्यवसायमा जागिर दिने । व्यवसाय गर्न चाहनेलाई व्यावसायिक साझेदार पनि बनाउने । उनको यही रणनीतिअनुसार आईएनजी अन्तर्गतको शैक्षिक संस्थामा आवद्ध अधिकांश कर्मचारी सोही संस्थाका पूर्वविद्यार्थी रहेका छन् भने व्यावसायिक साझेदार पनि उनका विद्यार्थीहरू नै रहेका छन् ।

‘यो ग्रुपको नेतृत्व मैले गरेको छु । तर, मेरो सवल पक्ष भने पनि मेरो मन, मुटु र मस्तिष्क जे भने पनि त्यो सबै मेरो टिम हो, आज आफ्नो टिम देखेर गर्व लाग्छ,’ उनी भावुक हुँदै भन्छन्, ‘मेरो टिमले मभन्दा बढी दुःख गरेको छ ।’

हाल यो ग्रुपको उच्च शिक्षातर्फको नेतृत्व गरिरहेका प्रकाश श्रेष्ठ आईएनजीकै प्रडक्ट हुन् । बुढाथोकी भन्छन्, ‘प्रकाश हाम्रो संस्थामै पढेको, एकदमै दुःख गरेको व्यक्ति हुन्, उनले पढाइ सक्नासाथ टिचिङ असिस्टेन्टबाट काम सुरु गरेर जुनियर लेक्चरल, लेक्चरल हुँदै हेराल्ड कलेजको सीईओ भएर अहिले सम्पूर्ण उच्च शिक्षाको नेतृत्व गरिरहेका छन् ।’

इटहरी इन्टरनेशनल कलेजका सीईओ सत्यव्रत कोइराला, इस्लिङ्टनको सीईओ रोहित पाण्डे, स्किल एकेडेमीका अभिनव दाहाल र साइवर सेक्यरिटीमा संसार हाँकिराखेका भैरव टेकको सीईओ विजय लिम्बु, माई सेकेण्ड टिचरकी मीरा भट्टराई बुढाथोकीकै विद्यार्थी हुन् । उनीहरू सानोबाट अपग्रेड हुँदै अहिले नेतृत्वमा पुगेका हुन् ।

‘यी सबैजना कतैबाट बोकेर ल्याएर नेतृत्वमा राखिदिएको होइन, शून्य अवस्थाबाटै नङ्ग्रा खियाएर दुःख गर्दै माथि पुगेकाहरू हुन्, अरु पनि धेरै जना हुनुहुन्छ मेरो टिममा, ९० प्रतिशत कर्मचारी सानोदेखि नै ग्रुम भएका छन्, उनीहरू नै मेरो भविष्यको बिजनेस पार्टनर हुन्,’ उनले भने ।

बुढाथोकी टिममा विश्वास गर्छन् । टिम नै आफ्नो स्ट्रेन्थ मान्छन् । ‘स्नातक पास गरेका आफ्ना विद्यार्थीलाई विश्वास गर्दै आउँदा आज अधिकांश ९० प्रतिशत नेतृत्वमा हुनेहरू आफैले पढाएकाहरू छन्, उनीहरू नेतृत्वमा छन्, हामीले एक किसिमको इकोसिस्टम विकास गर्न सफल भएका छौं,’ उनले खुसी हुँदै भने ।

विद्यार्थी यस कारण रोज्छन् आईएनजी

अहिले अधिकांश विद्यालय तथा कलेजहरू विद्यार्थी नपाएर बन्द हुने अवस्थामा हुँदा आईएनजीले सञ्चालन गरेका शैक्षिक संस्थामा भने विद्यार्थी भरिभराउ छन् । यो कसरी सम्भव भयो ? बुढाथोकी यसको जवाफ दिँदै भन्छन्, ‘हामीले विद्यार्थीले चाहेको कुरा सिकायौं, व्यवस्थापन, पाठ्यक्रम समयानुकूल हुनुप¥यो, पुराना पाठहरू घोकाएर अहिलेको विद्यार्थी बस्न सक्दैनन् ।’

स्कुल/कलेजका आन्तरिक व्यवस्थापनदेखि शैक्षिक प्रवृत्तिमा नयाँ जेनेरेशन अनुकूलको वातावरण, अहिलेको पुस्ताको रुचिअनुसारको सिकाइ प्रणाली र सीपयुक्त शिक्षा दिन सकेमा विद्यार्थीहरू विदेश नजाने र विदेश गएकाहरू पनि फर्किने वातावरण बन्ने उनको भनाइ छ ।

देशभित्रको स्कुल/कलेजमा विद्यार्थीको संख्यामा ह्रास आउने, विदेसिनेले डलरमा खर्च गर्नुपर्ने बाध्यताको पछाडि एउटै कारण रहेको बुढाथोकीले सुनाए । विद्यार्थीलाई नचिन्दा र उनीहरूको अपेक्षा पूरा गर्न मद्दत गर्ने शिक्षा नहुँदा अहिले युवाको रोजाइ विदेश बन्ने गरेको उनको भनाइ छ । ‘अहिलेको ‘जेन जी’ जेनेरेशनका विद्यार्थीलाई उही दशकौं पुरानो शिक्षा पद्धतिमा जवर्रजस्त जोड्न खोजेपछि उनीहरूमा सीप र क्षमता विकास कसरी हुन्छ ?,’ उनी प्रश्न गर्दै भन्छन्, ‘अनि समय सुहाँउदो भविष्य खोज्न वैदेशिक शिक्षा र रोजगारीमा विद्यार्थी पलायन नभएर के गरुन् त ?’

‘पढाउने शिक्षण संस्थाको हालत हेरौं, चार÷पाँच पुस्ताले प्रयोग गरेको उही पुरानो फर्निचर, त्यसपछिका पुस्ता आउँदा समेत फेरिएको हुँदैन । हालको जेनेरेशन निकै पर साेंचेर बसेका छन्, उनीहरूको सोचलाई बुझेर सन्तुष्टि दिने किसिमका स्रोतसाधन नेपालका स्कुल÷कलेजमा छैनन्, गतिलो कोर्स छैन, विश्वको कुन कुनामा के भइरहेको छ भनेर विद्यार्थीले घरमै थाहा पाउँछन् अनि स्कुल÷कलेजको त्यो हाल देखेपछि विदेश जान उप्रेरित हुनु स्वाभाविक हो,’ उनी थप्छन्, ‘हाम्रा स्कुल÷कलेज विद्यार्थीलाई ९० को दशकको शिक्षा प्रणालीमै तान्न चाहन्छन्, त्यो कसरी सम्भव छ अबको समयमा ?’

बुढाथोकी विद्यार्थीहरूले राम्रो नम्बर ल्याएर पास गरेपछि राम्रो जागिर पाइन्छ भन्ने मानसिकतालाई त्यागेर घोकेर नम्बर ल्याउनेभन्दा आफै बुझेर सिकेर अघि बढ़ने मनोवृत्ति विकास गर्न आवश्यक रहेको बताउँछन् । शैक्षिक प्रणालीको विकास नै नयाँ तवरले गर्न जरुरी रहेको उनको भनाइ छ ।

अहिले धेरै कम्पनीले सीपयुक्त जनशक्ति नपाएको उनको भनाइ छ । आफूहरूले कम्पनी र विद्यार्थीबीचको दूरीलाई जोड्ने कामको व्यवस्थापन गरिरहेको सुनाए । ‘बालबालिकालाई नम्बरको पछि कुदाएर मात्र सामथ्र्यवान बनाउन सकिँदैन, ‘बच्चाहरूसँग समस्यासँग जुध्न सक्ने क्षमताको विकास गराउन आजको शिक्षाले सकेको छैन, भावनात्मक रूपमा पनि उनीहरू स्वयंलाई सम्हाल्न सक्ने मनोवृत्ति विकास गर्ने शिक्षाको खाँचो छ, त्यसमाथि विश्वविद्यालयसम्म पुगेर डिग्री लिएकालाई पनि डिग्रीको उपयोगिता यो वा त्यो क्षेत्रमा छ भनेर बुझाउनुपर्ने भएको छ । त्यहाँनिर हामी सबैले काम गर्न जरुरी छ,’ उनले भने ।

विश्वविद्यालयहरूको प्रणाली नै खराब रहेको बुढाथोकी सुनाउँछन् । राजनैतिक नेतृत्व र व्यवस्थापन पक्षले सोंच नै परिवर्तन गर्न नसकेको उनको बुझाइ छ । ‘म आफै पोखरा विश्वविद्यालयमा आवद्ध छु, त्यहाँ पनि सुधार जारी राखेका छौं, यही रफ्तारमा अघि बढे त्यसले नेपालको शैक्षिक प्रणालीमै सुधार ल्याउँछ । तर, हामीले परिवर्तन कहाँ गर्नु पर्छ भने जति धेरै विद्यार्थीलाई विश्वविद्यालयले फेल गरायो उति नै विश्वविद्यालय तगडा हुन्छ भन्ने जुन भ्रम बाहिर छरिएको छ, त्यसलाई जति सक्दो चाँडो चिर्नु आवश्यक छ,’ उनले भने ।

अर्को यति जनाभन्दा विद्यार्थी पढाउन पाइँदैन भन्ने कोटा सिस्टमको थ्रेसहोल्ड हटाउन आवश्य रहेको उनको बुझाइ छ ।

अर्बौंको कारोबार, डलर कमाउने रणनीति

केही वर्षअघि सिङ्गापुरमा बेलायतका स्कुल/कलेजहरूमा आधुनिकीकरणको शिक्षा के कसरी अगाडि बढाउने, अबको डिजाइन कस्तो हुन्छ भन्ने विषयमा एउटा कार्यक्रम भयो । संयोगवस बुढाथोकी त्यहाँ पुग्ने अवसर पाए । छलफलका लागि फिलिपिन्स, भारत, सिङ्गापुर र भियतनाम लगायतका देशका शिक्षाविदहरू त्यहाँ पुगे ।

‘त्यहाँ एउटा डिजाइन तयार भयो । नेपालमा मैले काम गर्छुभन्दा त्यहाँ भएका अधिकांश मानिस हाँसे,’ उनी त्यो क्षण स्मरण गर्दै भन्छन्, ‘उनीहरूले हामीलाई नेपाली भनेर पत्याएका थिएनन्, अहिले पनि नेपाललाई आईटीमा अझै पत्याउँदैनन् । त्यो छलफलमा रहेका मुख्य व्यक्ति र मेरो पनि मेन्टर एवं व्यवसायिक पार्टनर पनि भएकोले अन्तिममा प्रोजेक्ट मैले पाएँ, त्यतिबेला मैले आफ्नै स्रोतसाधनबाट सिस्टम बनाएर दिन्छौं भन्ने सर्त थियो ।’

११ हजार विद्यार्थी, १ हजार ७०० कर्मचारी, २५ वटा कम्पनी, ५५ देशमा आईटी व्यापार गरिरहेको आइएनजी ग्रुपका कार्यकारी अध्यक्ष सुलभ बुढाथोकी आगामी ४ वर्षपछि आफ्नै नेतृत्वमा रहेका कम्पनीले वार्षिक कम्तिमा २०० मिलियन अमेरिकी डलर नेपाल भित्र्याउनेमा विश्वस्त छन् ।

बुढाथोकी आफैले सिस्टम बनाएर दिने, सोही सिस्टम नेपालमा प्रयोग गर्न पाउनुपर्ने, कपिराइट पनि आफ्नो अधिनमा हुनुपर्ने र रोयल्टी फ्रि चलाउन पाउनुपर्ने सर्त राखे । त्यतिबेला प्रोजेक्टको १० मिलियन डलर भ्यालु थियो । तर, उनले पैसा नलिएर नेपालको शैक्षिक गुणस्तर सुधार गर्ने ठाने । अहिले उनलाई नेपाल मात्र होइन, साउथ एसियाकै स्वामित्व छ । यसरी सुरु भएको हो ‘माई सेकेण्ड टिचर’ ।

भारतमा कसैले यो नाममा चलाउन चाहन्छ भने बुढाथोकीको अनुमति चाहिन्छ । अहिले ५१ वटा देशले यो सिस्टम प्रयोग गर्छन् । यसको डिजाइनर क्याम्ब्रिज विश्वविद्यालयका शिक्षाविद्हरू हुन् ।

आईएनजी ग्रुपको वार्षिक ३ सय करोडको कारोबार छ । अहिले इस्लिङ्टन कलेज, हेराल्ड कलेज, इटहरी इन्टरनेशनल कलेज, इन्फोमेरिक्स कलेज, विराटनगर इन्टरनेशनल कलेज, काव्य स्कुल, एपेक्स कलेज र माई सकेण्ड टिचर लगायतको माउ अर्गनाइजेसन आईएनजी ग्रुप नै हो ।

‘हाम्रो वार्षिक कारोबार ३ सय करोडको हाराहारीमा पुग्छ, सेल्फमेड आईटीमा आधारित, शैक्षिक, ट्रेनिङ र सामाजिक उद्यमशीलताबाट बिलियन डलर कमाउने युनिकर्न कम्पनी बनाउने लक्ष्य छ । बिलियन डलर कमाउने युनिकर्न कम्पनी बनाउँछु भन्दा धेरैलाई हाँसो लाग्ला । तर, सपना देख्दा मिडियम साइजभन्दा निकै माथि उठेर देख्नुपर्छ,’ उनी भन्छन्, यो एकदिन पक्कै सम्भव हुनेछ ।’

बुढाथोकीले अहिले पनि विदेशबाट नेपालमा डलर भित्र्याउने काम गरिरहेका बताए । उनी भन्छन्, ‘अघिल्लो वर्ष एक मिलियन डलर हामीलाई आएको थियो, कुनै पनि टेक्नोलोजी प्रडक्टमा आइसकेपछि बजारमा पुगेर साइकल समात्न समय लाग्छ । त्यो साइकल कम्तिमा १० वर्षको हुने रहेछ, हामी अहिले छैटाैं वर्षमा छौं । अबको चार वर्षमा जे जति हामीलाई आउँछ, सायद अहिले नेपालले त्यसको कल्पना पनि गरेको छैन, त्यो लेवलको लाभ हामीलाई हुन्छ ।’

अबको चारदेखि पाँच वर्षको समयावधिभित्र कम्तिमा असफल नै भए भने पनि २ सय मिलियन डलर नेपाल ल्याउने लक्ष्य रहेको बुढाथोकीले सुनाए । त्यो भनेको अहिलेको नेपालको २७ अर्ब बढी हो । ‘हामीले जग बलियो हालेका छौं, डिपीसी बाक्लो छ,’ उनी भन्छन्, ‘यही रफ्तारमा गयौं भने टार्गेट पूरा गर्न अर्थात् छत हाल्न धेरै समय लाग्दैन ।’

नेपाल उद्योग परिसंघले आगामी १० वर्षभित्र ३० खर्बको आईटी निर्यात गर्न सकिने प्रक्षेपणसहित सरकारलाई वातावरण बनाउन सुझाव दिएको छ । सरकार पनि सकारात्मक नै देखिन्छ । त्यो लक्ष्य पूरा गर्न निजी क्षेत्रले भरपुर सहयोग गर्ने बुढाथोकीको भनाइ छ ।

‘सरकारले देख्दै नदेखेको आईटी क्षेत्रले गत वर्ष सवा खर्बको आईटी निर्यात गरेको छ, आईटीमा लागेर ८/१० लाखको कमाइ गर्ने धेरै छन् । फ्रिलान्सिङ गरेर पनि एक/डेढ लाख रुपैयाँ कमाइ गरिरहेका छन्, त्यसैले आईटी क्षेत्रको भविष्य निकै उज्वल छ, अवसरहरू धेरै छन्,’ उनी भन्छन्, ‘सरकारले आईटी क्षेत्रलाई अब प्राथमिकतामा नराख्नुको विकल्प छैन ।’

पहिला आफै सस्टेन भएर समाजलाई रिटर्न दिने सामाजिक उद्यमशीलताको मोडलमा आफू लागिरहेको उनको भनाइ छ । ‘शिक्षातर्फ कलेजहरूको नाफाबाट माई सेकेण्ड टिचर बनायौं, आईटीमा भैरवलाई ग्रोथ गरायौं । अबको पाँच वर्षपछि यी दुई संस्थाले २ सय मिलियन डलर नेपाल भित्र्याउँछन्,’ उनी भन्छन्, ‘त्यसपछि युवाहरू किन विदेश जानु प¥यो ?’

‘हामीले एउटा इकोसिस्टम बनाएका छौं, अब नेपालमै युवाहरूलाई रोजगारी दिएर राख्छौं । युवा सक्षम हुनासाथ उसको परिवार सुखी हुन्छ, उनीहरू सक्षम भएपछि समाजलाई कुनै न कुनै रूपमा सेवा गर्छन्, त्यसरी नैं अघि बढ्दै जाने हो भने देश बन्छ । मैले गर्न चाहेको सामाजिक उद्यमशीलता पनि यही नै हो,’ उनी भन्छन्, ‘आपसमा जोडिएर आफू पनि ग्रोथ गर्ने समाजलाई पनि हेर्ने योजना छ।’

देशमा भविष्य छैन भनेर पलायन भइरहेका विद्यार्थीका लागि एउटा उदाहरण हुन् बुढाथोकी जसले सुरुमा अमेरिका जाने योजना बनाएर पछि आफ्नै देशमा केही गर्ने प्रण गरे । डुबेको संस्थालाई किनेर एउटा ब्राण्ड स्थापित गरे । ‘विद्यार्थी भाइबहिनीलाई नेपालमै अवसर छ भन्ने सन्देश हामीले दिएका छौं, स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्दैछौं, हामीसँग जोडिएका विद्यार्थीलाई ग्रुम गर्दै अगाडि बढाइरहेका छौं, आईएनजी आफू सफल हुँदै गर्दा स्टेक होल्डर्सलाई समेत सफल बनाउन काम गरिरहेका छौं,’ उनी भन्छन्, ‘परिवर्तन छिट्टै देखिने छ ।’

व्यवसायीप्रतिको दृष्टिकोण

नेपालमा व्यवसायीलाई हेर्ने हेय दृष्टिकोणले धेरै व्यवसायी तथा उद्यमी आजित छन् । व्यवसायमा सफल भएकाहरूलाई माफियाको ट्याग लगाउने समाजले उनीहरूलाई निरुत्साहित बनाउँछ । तर, बुढाथोकी यो भाष्य चिर्नतर्फ लागेका छन् ।

‘मिहिनेत गरेर सफल हुँदा पनि माफिया भइन्छ, व्यापारी जति सबै ठग हुन् भन्ने भ्रम चिर्न जरुरी छ, त्यसको पहल राज्यले नै गर्नुपर्छ,’ उनी भन्छन्, ‘पहिलो कुरा त राज्यले व्यापारीजतिलाई एउटै टोकरीमा राख्यो, यो विलकुल गलत हो । व्यापारी को पनि वर्ग छुट्याएर प्रस्ट्याउन सकियो भने सुधार हुन्छ ।’

म्याद नाघेका वस्तुलाई जालझेल गरेर बेच्दै हिँड्नेहरू पनि व्यापारी बनेका छन्, नराम्रो बाटोमा लागेका पनि व्यापार गरेकै छन् । राज्यले सबैलाई एउटै टोकरीमा राख्दा समस्या सिर्जना भएको उनको बुझाइ छ ।

‘समाज र राज्यलाई सेवा दिएर त्यहींबाट आर्जन गर्छु, देशमै रोजगारी सिर्जना गर्छु, समाजलाई नि बनाउँछु आफू पनि बन्छु भनेर लागेका पनि होलान् नि,’ उनी भन्छन्, ‘यसैका लागि अब व्यवसायीको पनि वर्ग छुट्याउनुपर्छ ।’

देश बनाउने जिम्मा राजनीति गर्नेहरूको मात्र हो भन्ने गलत भाष्य पनि समाजका लागि खतरा हो । निजी क्षेत्रबाट लागेका व्यवसायीको देश निर्माणमा महत्वपूर्ण भूमिका हुन्छ । राजनीतिक दलका शीर्ष नेतालाई गाली गरेर पनि केही नहुने बुढाथोकीको तर्क छ । ‘उहाँहरूले आफ्नो काम गरिसक्नु भएको छ, कुनै बेलाको बन्द समाजलाई उहाँहरूले खुल्ला बनाइदिनुभयो, प्रजातन्त्रदेखि लोकतन्त्र-गणतन्त्र ल्याइदिनु भयो, संविधान बनाइदिनु भयो, डेलिभर गर्नुपर्ने जति गरिसक्नु भयो, अब पनि त्यही पुस्तासँग हामीले अपेक्षा गर्ने होइन,’ उनी भन्छन्, ‘एउटै जमातसँग हामीले भएभरको विकासको आशा र अपेक्षा धेरै गरेर मात्र त्यो पूरा हुँदैन, अब देश निर्माणका लागि हामी आफै जाग्नुपर्छ ।’