बैंकको खराब कर्जा ७ प्रतिशतसम्म पुग्यो, आधा दर्जन बढीले लाभांश नदिने निश्चित

  २०८१ माघ ७ गते १२:५७     विकासन्युज

काठमाडौं । लामो समयदेखि कर्जा असुलीमा समस्या भोगिरहेको बैंकिङ क्षेत्र थप समस्यान्मुख भइरहेको तथ्यांक सार्वजनिक भएको छ । चालु आर्थिक वर्षको पुस मसान्तमसम्मको तथ्यांकअनुसार बैंकहरूले अझै पनि कर्जा असुलीमा समस्या भोगिरहेको देखिन्छ ।

बैंकहरूले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणका अनुसार एक वाणिज्य बैंकबाहेक सबै बैंकको खराब कर्जा अनुपात बढेको छ । गत आवको पुस मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा वाणिज्य बैंकहरूको खराब कर्जा औसत १.०९ बिन्दुले बढेको देखिन्छ ।

अहिले बैंकहरूको औसत खराब कर्जा अनुपात ४.४९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा २० वटा वाणिज्य बैंकको एनपीएल ३.४ प्रतिशत थियो ।

यो अवधिसम्म सबैभन्दा बढी खराब कर्जा कुमारी बैंकको देखिएको छ । यस अवधिमा कुमारी बैंकको खराब कर्जा अनुपात ६.९६ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा यस बैंकको खराब कर्जा अनुपात ४.९७ प्रतिशत थियो । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज र प्रभु बैंकको खराब कर्जा अुनपत ५ प्रतिशत नाघेको छ । यी बैंकको खराब कर्जा क्रमशः ५.८६ प्रतिशत, ५.६७ प्रतिशत र ५.०६ प्रतिशत पुगेको छ ।

नेपाल बैंकको खराब कर्जा पनि ५ प्रतिशतको हाराहारी अर्थात् ४.९९ प्रतिशत, हिमालयनको ४.९८ प्रतिशत, प्राइम कमर्सियलको ४.९६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.९६ प्रतिशत, नबिलको ४.९३ प्रतिशत र कृषि विकास बैंकको ४.९ प्रतिशत खराब कर्जा पुगेको छ ।

गत आवको तुलनामा भने सबैभन्दा एनपीएल वृद्धि एनआईसी एसिया बैंकको भएको छ । समीक्षा अवधिमा यस बैंकको खराब कर्जा ३.४२ बिन्दुले बढेको छ । गत आवको पुस मसान्तसम्म १.१९ प्रतिशत मात्रै रहेको यस बैंकको खराब कर्जा अहिले ४.६१ प्रतिशत पुगेको हो ।

नेपाल राष्ट्र बैंकले ५ प्रतिशतको सीमा नाघेमा लाभांश वितरण गर्न दिँदैन भने थप व्यवसाय बिस्तार गर्न नदिएर ऋण असुलीमा फोकस गराउँछ । दोस्रो त्रैमासमा ५ प्रतिशत बढी खराब कर्जा भएका बैंकले लाभांश वितरण गर्न पाउने छैनन् ।

खराब कर्जाहरू धेरै हुन गएमा बैंकहरूको वित्तीय अवस्था नै कमजोर हुने अवस्था सिर्जना हुन्छ । राष्ट्र बैंकको निर्देशनअनुसार खराब वर्गमा वर्गीकरण भएका कर्जाहरुको शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्छ ।

अहिले रिकभरीमा समस्या हुँदा बैंकहरुको खराब कर्जा बढेको बैंकरहरू बताउँछन् । दोस्रो त्रैमासमा पनि अधिकांश बैंकले ठूलो रकम प्रोभिजनिङ गरेका छन् । राष्ट्र बैंकका अनुसार अब अधिकांश बैंकले नयाँ व्यवसायभन्दा पनि खराब कर्जा असुल गर्नुपर्ने तर्फ ध्यान दिनु पर्नेछ ।

यो एक वर्षको अवधिमा एभरेष्ट बैंकको मात्रै खराब कर्जा घटेको देखिएको छ । एभरेष्ट बैंकको खराब कर्जा ०.११ बिन्दुले घटेर ०.६६ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा यस बैंकको खराब कर्जा अनुपात ०.७७ प्रतिशत थियो ।