२०८१ माघ १४ गते १४:२५ विकासन्युज
काठमाडौं । समस्याग्रस्त संस्था घोषणा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले एकैपटक १३ वर्षको साधारण सभा डाकेको छ । सञ्चालक समितिको माघ ११ गते बसेको बैठकले कम्पनीको १०औं देखि २२औं सम्मको वार्षिक साधारण सभा फागुन ५ गते काठमाडौंमा डाकेको हो ।
नेपाल राष्ट्र बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई २०६९ माघमा समस्याग्रस्त घोषणा गरेको थियो । त्यसयता कम्पनीले नियमित साधारण सभा गर्न सकेको थिएन । तर, १२ वर्षपछि भने कम्पनीले एकैपटक १३ आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको हो ।
राष्ट्र बैंक स्रोतका अनुसार कम्पनीले वार्षिक साधारण सभा बोलाउनै पर्ने थियो । तर, व्यवस्थापन र सञ्चालक समितिको कमजोरीका कारण हुन सकेको थिएन । राष्ट्र बैंकले दबाब दिएपछि साधारण सभा डाकिएको उनको दाबी छ ।
‘वर्षैपिच्छे वार्षिक साधारण गर्नुपर्ने भएपनि व्यवस्थापन र सञ्चालक समितिको कमजोरीले लामो समयदेखि हुन सकेको थिएन । राष्ट्र बैंकले दबाब दिएपछि त्यो सम्भव भयो । राष्ट्र बैंकको कानुनी व्यवस्थाअनुसार गर्न निर्देशन दिएपछि सभा गर्न लागेका हुन्,’ स्रोतले भन्यो ।
एकैपटक १३ वर्षको साधारण सभा बोलाएपनि कम्पनीको वित्तीय परिसूचकमा भने सुधार नआएको स्रोतको भनाइ छ । अपेक्षाअनुसार कर्जा असुली नभएकाले तत्काल समस्याग्रस्त संस्था घोषणाबाट फुकुवा नगरिने उनले बताए ।
‘वित्तीय सूचकहरू जे छ सोहीअनुसार राष्ट्र बैंकले निर्णय गर्छ । क्यापिटल एडुकेसीलगायत केही वित्तीय सूचकहरू आशलाग्दा र सन्तोषजनक छन् । तर, कर्जा असुलीमा राष्ट्र बैंकले गरेको अपेक्षा अनुसार हासिल गर्न सकेको छैन । कर्जा असुली नहुँदासम्म राष्ट्र बैंकले कम्पनीलाई फुकुवा गर्दैन,’ राष्ट्र बैंक स्रोतले विकासन्युजसँग भन्यो, ‘सबै सूचकमा गहन रूपमा हेरिरहेका छौं । उपयुक्त समयमा उचित निर्णय हुन सक्छ । तर, तत्काल कम्पनीलाई समस्याग्रस्त संस्था घोषणाबाट मुक्त गर्नुपर्ने अवस्थामा छैन ।’
नीति नियमभित्र रहेर कर्जा उठाउन राष्ट्र बैंकले निर्देशन दिइरहेको उनले बताए । वित्तीय सूचकहरू सन्तोषजनक र तोकेका मापदण्ड पुरा भएपछि समस्याग्रस्त संस्था घोषणाबाट मुक्त गरिने उनको भनाइ छ ।
सभाले कम्पनीको नाम संशोधन एंव उद्धेश्य थप गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने छ । साथै उपयुक्त बैंक वा वित्तीय संस्थासँग मर्जर तथा गाभिन सम्पत्ति तथा दायित्व कारोबारको मूल्याङ्कन, मर्जर प्रक्रिया अगाडि बढाई प्रारम्भिक तथा अन्तिम सम्झौता लगायत आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
समस्याग्रस्त घोषणापश्चात् कम्पनीले लगानी गरेका कर्जा असुलीमा कम्पनी र ऋणी तथा जमानीकर्ता पक्षबाट गठित कार्यदलबीच भएको दुई पक्षीय तथा वित्तीय संस्था ऋण चुक्ता कार्यदल र राष्ट्रिय समृद्ध आवास विशिष्टीकृत सहकारी संघबीच भएको त्रिपक्षीय (इस्को) सम्झौता अनुमोदन र सम्झौता कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्नेछ ।
यस्तै, सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना गरी कुल ५ जनाको निर्वाचन गर्नेछ । राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा गरेपश्चात् सञ्चालक समितिको सदस्यहरूमा भएको हेरफेर, नयाँ सञ्चालक समिति गठन र नयाँ गठित सञ्चालक समितिको हैसियतबाट कम्पनीमा तत्कालीन समयमा भएका कार्यलाई अनुमोदन गर्नेछ ।
कम्पनीका अनुसार आर्थिक वर्ष (आव) २०६७/६८, आव २०६८/६९ र आव २०६९/७० को एमबि श्रेष्ठ एण्ड कम्पनी, आव २०७०/७१ को गोपाल श्रेष्ठ एण्ड कम्पनी, आव २०७१/७२, आव २०७२/७३ र आव २०७३/७४ को आरएस एण्ड चार्टर्ड एकाउण्टेण्ट्स, आव २०७४/७५, आव २०७५/७६ र आव २०७६/७७ को वाग्ले एण्ड एशोसिएटस, आव २०७७/७८, आव २०७८/७९ र आव २०७९/८० को विशाल एण्ड एशोसिएट र आव २०८०/८१ को रिजाल एण्ड एशोसिएटस् चार्टड एकाउन्टेन्टस वाह्य लेखा परीक्षकमा नियुक्त भएका थिए । उनीहरूको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै आव २०६७/६८ देखि आव २०७९/८० सम्मको सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.