किन रोकियो एनआईसी एसिया र नेपाल बैंकको एजीएम ?

  २०८१ माघ २८ गते ११:३९     विकासन्युज

काठमाडौं । अधिकांश बैंकहरूले पुस मसान्तभित्र साधारण सभा सम्पन्न गरिसके पनि नेपाल बैंक र एनआईसी एशिया बैंकको साधारण सभाकाे भने अझै टङ्गो लागेको छैन ।

दुईवटै बैंकको गत पुस मसान्तमा सञ्चालक समितिको बैठकबाट आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारण सभामा पेस गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने र सेयरधनीहरूलाई लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय गरेका छन् । एक महिना पूरा हुँदा पनि दुइटै बैंकले हालसम्म आफ्नो वार्षिक साधारण सभा बोलाउन सकेका छैनन् ।

पुस मसान्तभित्र नसके पनि ढिलागरी प्रभु र एनआईएमबिले साधारण सभा साधारण सभा बोलाए । तर, नेपाल बैंक र एनआईसी एशिया बैंकले भने साधारण सभासम्बन्धि कुनै निर्णय गर्न सकेका छैनन् । बैंकिङ क्षेत्रलाई कर्पाेरेट सुशासनमा सञ्चालन र व्यवस्थापनमा चुस्तदुरुस्त रहेको क्षेत्रका रूपमा हेरिन्छ । हरेक विषय चुस्तदुरुस्त राख्ने भएकाले बाहिरिया नजरमा बैंकिङ क्षेत्र पारदर्शी र सुशासनमा चलेको मानिन्छ ।

समयमा वार्षिक साधारण सभा (एजीएम) गर्नुलाई पनि सुशासनको एउटा अंशका रूपमा लिइन्छ । बैंकहरूले पनि आफ्नो वार्षिक साधारण सभा समयमै गरिरहेका हुन्छन् । सकेसम्म आर्थिक वर्ष सम्पन्न भएको ६ महिनाभित्र साधारण सभा सम्पन्न गर्न बैंकहरू प्रयासरत हुन्छन् ।

यी  दुई बैंकले किन गर्न सकेनन् साधारण सभा ? आम लगानीकर्ताको चासो बनेको छ । नेपाल बैंकले अबकाे केही दिनमा बाेलाउने तयारी गरेकाे बुझिएको छ । नेपाल बैंक स्रोतका अनुसार नेपाल राष्ट्र बैंकबाट एजिएम क्लियरेन्स पाइसकेको छ । यसवर्ष बैंकको अडिरटरबाट लेखापरीक्षण प्रतिवेदन आउन ढिलाइ भएकाले साधारण सभा समेत आह्वानमा ढिलाइ भएको उनले बताए ।

‘अबको एकदुई दिनभित्र हामीले वार्षिक साधारण सभा बोलाउने तयारी छ । हामीले स्वीकृति लिनुपर्ने सबै निकायबाट स्वीकृति लिइसकेको छ । सञ्चालक समितिको एउटा बैठक बाँकी छ । त्यो बैठक सकिने बित्तिकै एक-दुई दिनभित्रै हामी वार्षिक साधारण सभा बोलाउँछौं,’ बैंकका एक अधिकारीले भने, ‘माघभित्रै वार्षिक साधारण सभाको मिति तय हुन्छ । फागुनको तेस्रो साताभित्र साधारण सभा गर्ने गरी बोलाउछौं ।’

एनआईसी एशिया बैंकका कम्पनी सचिव दीपेन कार्कीका अनुसार चाँडै एजीएम बोलाउने तयारी भइरहेको छ । फागुन चैतमा आगामी वार्षिक साधारण सभा गर्ने तयारी भइरहेको उनले बताए ।

‘अडिट पनि फाइनल भइसक्यो । हिसाब मिलान गर्न समय लागेको हुँदा ढिला भएको हो । हामीले समयमा एजिएम क्लिरेन्सका लागि आवेदन दिएका हौँ । तर, राष्ट्र बैंकले स्वीकृति दिन ढिला गर्याे । हामीसँग राष्ट्र बैंकले कुनै जवाफ मागेको छैन,’ उनले भने, ‘अब राष्ट्र बैंकबाट एजिएम क्लिरेन्स पाइसकेको छ । केही समय लाग्छ ।’

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता रामु पौडेल सबै बैंकलाई वार्षिक साधारण सभा गर्न स्वीकृति दिइसकेको बताउँछन् । लाभांश क्षमता नभएका बैंकलाई साधारण सभा गर्न हतारो नभएको हुन सक्ने उनको भनाइ छ ।

‘हामीले सबै बैंकलाई एजिएम क्लियरेन्स दिइसकेका छौं । जुन बैंकको वितरणयोग्य नाफा छ, उहाँहरूले छिटो गर्नु भयो । जसको वितरणयोग्य नाफा थिएन उहाँहरूलाई हतार भएन,’ उनले भने, ‘अडिट प्रक्रियामा समय लागेको हुन सक्छ । कुनै बैंकको अडिटमा समय लाग्छ । त्यसैले ढिला भएको हुन सक्छ ।’