२०८१ माघ २८ गते १९:०५ विकासन्युज
काठमाडौं । गुगलको डीपमाइन्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेमिस हासाबिसले डीपसीकको एआई मोडेल चीनबाट आएको ‘सबैभन्दा राम्रो काम’ तर प्रचार ‘अतिरञ्जित’ भएको बताएका छन् ।
उनले डीपसीकमा कुनै नयाँ वैज्ञानिक प्रगति नदेखिएको दाबीसमेत गरे ।
पछिल्लो महिनामा चीनको डीपसीकले एउटा अनुसन्धान पत्र प्रकाशित गरेको थियो, जसले विश्वव्यापी बजारलाई हल्लाइदियो । उक्त पत्रमा डीपसीकले आफ्नो एआई मोडेललाई अन्य प्रमुख एआई कम्पनीहरूको तुलनामा निकै कम लागतमा र कम विकसित एनभीडीया चिपहरू प्रयोग गरेर प्रशिक्षण दिएको दाबी गरेको थियो ।
डीपसीक ६ मिलियन डलरभन्दा कम खर्चमा बनेको हो । जसले गर्दा अहिले ठूला प्रविधि कम्पनीहरू एआई पूर्वाधारमा धेरै खर्च गरिरहेका छन् कि भनेर व्यापक बहस चलिरहेको छ ।
सीईओ हासाबिसले डीपसीकको मोडेललाई ’एक प्रभावशाली काम’ भनेर प्रशंसा गरे ।
‘मलाई लाग्छ यो चीनबाट आएको सबैभन्दा राम्रो काम हो,’ हासाबिसले आइतबार पेरिसमा आयोजित गुगलको कार्यक्रममा भने ।
यो कार्यक्रम एआई एक्शन समिटको पूर्वसन्ध्यामा आयोजना गरिएको थियो ।
डीपमाइन्डका सीईओले डीपसीकको मोडेलले उनीहरूले ’एकदमै राम्रो इन्जिनियरिङ’ गर्न सक्ने देखाएको र यो ’भू–राजनीतिक रूपमा पनि परिवर्तन ल्याउने’ काम गर्न सक्ने बताए ।
तर प्रविधिको दृष्टिकोणले हेर्दा हासाबिसले यसमा ठूलो परिवर्तन नभएको दाबी गरे ।
‘प्रचार भएजस्तै, यहाँ कुनै नयाँ वैज्ञानिक खोज छैन… यो पहिल्यै प्रचलित प्रविधिहरू प्रयोग गरिरहेको छ,’ उनले भने ।
साथै उनले डीपसीकको प्रचार ’अलिकति अतिरञ्जित’ भएको बताए ।
डीपमाइन्डका सीईओका अनुसार गुगलले हालै सार्वजनिक गरेको जेमिनी २.० फ्लास मोडेलहरू डीपसीकको मोडेलभन्दा बढी प्रभावकारी छन् ।
डीपसीकको कम लागत र प्रयोग गरिएका चिपहरूबारेका दाबीहरू विशेषज्ञहरूले प्रश्न उठाएका छन् । उनीहरूका अनुसार चिनियाँ कम्पनीले आफ्नो मोडेल विकास गर्न अनुमान गरिएकोभन्दा बढी खर्च गरेको हुनसक्छ ।
एजीआई ५ वर्ष टाढा
एआई जगतमा वर्षौंदेखि कृत्रिम सामान्य बौद्धिकता (एजीआई) कहिले आउँछ भन्ने बहस चलिरहेको छ । एजीआई भनेको मानिसहरूभन्दा बढी बुद्धिमान एआईलाई जनाउँछ ।
हासाबिसका अनुसार एआई उद्योग ’एजीआई’ को मार्गतर्फ अघि बढिरहेको छ,’ जुन उनले ’मानिसहरूसँग भएको सम्पूर्ण संज्ञानात्मक क्षमताहरू प्रदर्शन गर्ने प्रणाली’ भनेर वर्णन गरे ।
‘मलाई लाग्छ, अब हामी धेरै नजिक छौं । सम्भवतः त्यस्तो प्रणाली बनाउन मात्र ५ वर्ष जति बाँकी छ, जुन निकै असाधारण हुनेछ,’ हासाबिसले भने ।
‘मलाई लाग्छ, समाज यसका लागि तयार हुनुपर्छ र यसले ल्याउने प्रभावहरूबारे सोच्नुपर्छ । हामीले यसको फाइदाहरू लिनुपर्छ, ताकि पूरै समाज लाभान्वित होस्, तर हामीले यसका जोखिमहरू पनि व्यवस्थापन गर्नुपर्छ,’ उनले थपे ।
हासाबिसका विचारहरू अन्य एआई नेताहरूका विचारसँग मेल खान्छन् ।
यसै वर्ष ओपनएआईका सीईओ साम अल्टम्यानले भनेका थिए कि ‘हामीले परम्परागत रूपमा बुझेअनुसारको एजीआई कसरी निर्माण गर्ने भन्ने जान्दछौं ।’
तर, धेरै विशेषज्ञहरूले एजीआईसँग सम्बन्धित विभिन्न जोखिमहरूबारे चेतावनी दिएका छन् ।
सबैभन्दा ठूलो चिन्ता के हो भने मानिसहरूले आफैले निर्माण गरेका प्रणालीहरूमा नियन्त्रण गुमाउन सक्छन् । एआई वैज्ञानिकहरू म्याक्स टेगमार्क र योशुआ बेन्जियो ले हालै सीएनबीसीसँग कुरा गर्दै एजीआईको जोखिमबारे आफ्नो चिन्ता व्यक्त गरेका थिए ।
एकदिनमै विश्वको एआई उद्योग हल्लाउने डीपसीकका संस्थापक को हुन् ? कति छ उनको नेटवर्थ ?
चिनियाँ एआई मोडल डीपसीकको फन्दामा अमेरिका, सामान्य पृष्ठभूमिका लियाङ ‘मास्टरमाइन्ड’
Copyright © 2025 Bikash Media Pvt. Ltd.