२०८१ माघ ३० गते ९:४७ विकासन्युज
काठमाडौँ । जीवन बीमा कम्पनीहरूले ६ महिनामा साढे ३ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा १४ जीवन बीमा कम्पनीहरूले ३ अर्ब ४८ करोड ८२ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हुन् ।
गत वर्षको पुसमा बीमा कम्पनीहरू ३ अर्ब ३ करोड ७२ लाख ७५ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेका थिए । गत वर्षको तुलनमा चालु आवको पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूको खुद नाफा १४.८४ प्रतिशत अर्थात् ४५ करोड ९ लाख ७६ हजार रुपैयाँ बढी आर्जन गरेका हुन् ।
समीक्षा अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सको नाफा सर्वाधिक बढेको छ । सिटिजन लाइफको खुद नाफा ८६.७८ प्रतिशत बढेर २३ करोड ९ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको पुसमा कम्पनीले १२ करोड ३६ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार एशियन लाइफको नाफा ५६.५४ प्रतिशत बढेर २५ करोड ३ लाख ७ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफको ५१.६९ प्रतिशत बढेर ३५ करोड ३ लाख ९० हजार रुपैयाँ, मेट लाइफको १४.८० प्रतिशत बढेर २२ करोड २५ लाख ५९ हजार रुपैयाँ, आइएमई लाइफको १४.११ प्रतिशत बढेर २६ करोड ७८ लाख ६२ हजार रुपैयाँ आर्जन गरेका छन् ।
समीक्षा अवधिमा नेपाल लाइफको खुद नाफा ९.४४ प्रतिशत बढेर ४६ करोड ८१ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । जुन जीवन बीमा कम्पनीमा सबैभन्दा धेरै रकम हो । गत वर्षको पुसमा कम्पनीले ४२ करोड ७७ लाख ३७ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
रकमका आधारमा सबैभन्दा धेरै नाफा आर्जन गर्ने सूचीको दोस्रोमा हिमालयन लाइफ इन्स्योरेन्स छ । हिमालयन लाइफको नाफा ८.७३ प्रतिशत बढेर ३७ करोड ६२ लाख ८२ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३४ करोड ६० लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा नेशनल लाइफको ९.४० प्रतिशत बढेर २७ करोड ९१ लाख ४० हजार रुपैयाँ, सानिमा रिलायन्स लाइफको ५.४४ प्रतिशत बढेर २३ करोड १६ लाख ८९ हजार रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालको ३.८१ प्रतिशत बढेर १४ करोड १८ लाख ३२ हजार रुपैयाँ नाफा गरेका छन् ।
पुस मसान्तसम्ममा प्रभु महालक्ष्मी लाइफको ३.४९ प्रतिशत बढेर १८ करोड २५ लाख ८६ हजार रुपैयाँ र सूर्यज्योति लाइफको ३.३६ प्रतिशत बढेर १९ करोड ६१ लाख ३९ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।
तर, समीक्षा अवधिमा सन नेपाल लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीको खुद नाफा भने घटेको देखिन्छ । सन नेपाल लाइफको १४.०४ प्रतिशत घटेर २८ करोड २२ लाख ७९ हजार रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीको ४३.५५ प्रतिशत घटेर ८० लाख ६५ हजार रुपैयाँ मात्रै नाफा गरेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.