बाढीले खायो निर्जीवन बीमाको १.८३ अर्ब रुपैयाँ नाफा, २ कम्पनी घाटामा

  २०८१ माघ ३० गते १३:३५     विकासन्युज

काठमाडौं । बाढी पहिरोका कारण निर्जीवन बीमा कम्पनीहरूको नाफामा ठूलो असर पुगेको छ । प्राकृतिक विपत्ति बाढी-पहिरोले बीमतिहरूलाई पनि असर परेको हुँदा त्यसको प्रत्यक्ष प्रभाव नाफामा परेको बीमा कम्पनीहरूले जनाएका छन् । बीमतिहरूको क्षतिलाई पूर्ति गर्नु कम्पनीको महत्त्वपूर्ण जिम्मेवारी भएकाले छिटोछरितो दाबी भुक्तानी गरिरहेको कम्पनीहरूको भनाइ छ ।

प्राकृतिक विपत्तिले निम्त्याएको क्षतिका कारण निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा १ अर्ब ३५ करोड ८४ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । जबकी गत वर्षको पुसमा बीमा कम्पनीहरूले ३ अर्ब ९ करोड ७८ लाख २८ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेका थिए ।

गत वर्षको तुलनमा चालु आवको पुस मसान्तमा निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा ५९.३७ प्रतिशत अर्थात् १ अर्ब ८३ करोड ९३ लाख ८३ हजार रुपैयाँ घटेको हो ।

समीक्षा अवधिमा ३ वटा बीमा कम्पनीको मात्रै नाफा बढेको छ भने अन्य सबै कम्पनीको नाफा घटेको छ । सानिमा जीआईसी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको मात्रै नाफा बढेको छ ।

सानिमा जीआईसी इन्स्योरेन्सको १५.२५ प्रतिशत बढेर १२ करोड १६ लाख ९८ हजार रुपैयाँ, प्रभु इन्स्योरेन्सको १०.५३ प्रतिशत बढेर १२ करोड ४९ हजार रुपैयाँ र शिखर इन्स्योरेन्सको २.४८ प्रतिशत बढेर २५ करोड ७३ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

गत वर्षको पुसमा सानिमा जीआईसीले १० करोड ५५ लाख ९१ हजार रुपैयाँ, प्रभु इन्स्योरेन्सले १० करोड ८६ लाख १२ हजार रुपैयाँ र शिखर इन्स्योरेन्सले २५ करोड ११ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

समीक्षा अवधिमा दि ओरियन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सको नाफा भने ऋणात्मक छ । यस अवधिमा द ओरियन्टल इन्स्योरेन्सको १९ करोड ७५ लाख ४१ हजार रुपैयाँ र नेशनल इन्स्योरेन्सको ३६ करोड ९८ लाख ६८ हजार रुपैयाँ नोक्सानीमा छ । गत वर्षको पुसमा द ओरियन्टल इन्स्योरेन्सले २५ करोड ८३ लाख १७ हजार रुपैयाँ नाफा गरेको थियो भने नेशनल इन्स्योरेन्सको नोक्सानी १ करोड ७ लाख ५५ हजार रुपैयाँ थियो ।

पुससम्ममा नेपाल इन्स्योरेन्सको ८२.७१ प्रतिशत घटेर ८ करोड ६० लाख २७ हजार रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ६७.२१ प्रतिशत घटेर ६ करोड ५८ लाख ५३ हजार रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको ४७.१६ प्रतिशत घटेर ६ करोड ९६ हजार ८३ हजार रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४१.५६ प्रतिशत घटेर १५ करोड ९८ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

सार्वजनिक वित्तीय विवरणअनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३७.६६ प्रतिशत घटेर २२ करोड ५० लाख रुपैयाँ, नेको इन्स्योरेन्सको २९.४८ प्रतिशत घटेर १५ करोड ६० लाख ३० हजार रुपैयाँ, आइजीआई प्रुडेन्सियलको २२.१४ प्रतिशत घटेर १४ करोड ३० लाख ९७ हजार रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको १८.८५ प्रतिशत घटेर ३४ करोड ६६ लाख ८८ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सको १४.८९ प्रतिशत घटेर ७ करोड ४५ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।