२०८१ फागुन ४ गते ९:०८ विकासन्युज
काठमाडौं । नेपाल बीमा प्राधिकरणले एक वर्षमा झण्डै डेढ अर्ब नाफा गरेको छ । नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ३२ करोड ७९ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
आघिल्लो आर्थिक वर्ष २०७९/८० मा प्राधिकरणले १ अर्ब २५ करोड ५४ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा प्राधिकरणले गत वर्ष ५.७७ प्रतिशत अर्थात् ७ करोड २४ लाख ७२ हजार रुपैयाँ बढी नाफा आर्जन गरेको हो ।
गत वर्ष प्राधिकरणले १ अर्ब ६४ करोड ११ लाख रुपैयाँ सञ्चालन आम्दानी, ५० करोड ७८ लाख रुपैयाँ अन्य आम्दानी र २ अर्ब १४ करोड ८९ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो वर्ष प्राधिकरणले १ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ सञ्चालन आम्दानी, ५६ करोड ६६ लाख रुपैयाँ अन्य आम्दानी र २ अर्ब १४ करोड ४६ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।
साथै गत वर्ष प्राधिकरणले कर्मचारीहरूका लागि १९ करोड १९ लाख २० हजार रुपैयाँ खर्च गरेको छ । जबकी अघिल्लो वर्ष प्राधिकरणले १६ करोड १७ लाख रुपैयाँ कर्मचारी खर्च गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष प्राधिकरणका कर्मचारी खर्च १८.६८ प्रतिशत बढेको हो ।
यस्तै गत वर्ष प्राधिकरणले व्यवस्थापक खर्च १६ करोड २४ लाख ९२ हजार रुपैयाँ र कुल खर्च ३७ करोड ८३ लाख १४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष प्राधिकरणले व्यवस्थापन खर्च २८ करोड ३६ लाख रुपैयाँ र कुल खर्च ४६ करोड ८० लाख ८१ हजार रुपैयाँ गरेको थियो ।
गत वर्ष प्राधिकरणले ४४ करोड २६ लाख ६१ हजार रुपैयाँ आयकर तिरेको छ । जबकी अघिल्लो वर्ष ४२ करोड ४७ लाख रुपैयाँ आयकर तिरेको थियो ।
आव २०८०/८१ को असारसम्ममा प्राधिकरणको कुल सम्पत्ति १० अर्ब १५ करोड ७५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कुल सम्पत्ति ८ अर्ब ७६ करोड ८१ लाख रुपैयाँ थियो । साथै गत असारसम्म प्राधिकरणले ६ अर्ब ३२ करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.