कस्तो बनाउने घर ? कति गर्ने लगानी ?

  २०८१ फागुन ११ गते १५:३१      प्रशान्त प्रधान

निर्माण क्षेत्रमा ‘स्किल सेवा’ अर्थात् ‘तपाईंको घरको डाक्टर’को पृथक पहिचान छ । प्रसंगको सुरुवात नामबाट गरौं । धेरैले हाम्रो कम्पनीको नाम घरको डाक्टरको विषयमा चासो राख्नुहुन्छ । सुरुवातमा हामीले नाम राख्नेभन्दा पनि सामाजिक प्रयोगकर्ताले नै हामीलाई घरको डाक्टरका रूपमा चिन्न थाले । त्यही शब्द भन्न थाले । यो कम्पनीको सुरुवात सन् २०१९ मा भएको हो ।

हामीले सुरुवातमा घरमा प्लम्बर, इलेक्ट्रिसिएन र टायल लगाउने मान्छे पठाएर मर्मतका काम गर्‍याैं । घरमा धेरै समस्या देखिने रहेछ भन्ने हामीले महसुस गर्‍यौं । अब एकै पटक सबै समस्या समधान गर्दै जानुपर्छ भन्ने उद्देश्यले हामीले अहिले घर निर्माणको काम पनि गर्छौं । स्किल सेवाले अहिले घरको मर्मत तथा मेन्टेनेन्स नवीकरण, तला थप्ने, घरका कोठाहरू घटाउने तथा बढाउने काम गर्दै आएको छ ।

आवास सबैका लागि अतिआवश्यक नै हो । मध्यम वर्गका मानिस सबैले आफ्नो घर होस् भन्ने चाहन्छन् । कतिपयले काठमाडौंमै घर बनाउन सकियोस् भन्ने इच्छा हुन्छ । काठमाडौंमै नसकेपनि सदरमुकाममा घर बनाउने रहर अधिकांशको हुन्छ । अर्को महत्त्वपूर्ण कुरा घर हाम्रो समाजमा पहिचानको विषय बन्यो । घर कहाँ बनाउने ? कस्तो बनाउने ? कसरी बनाउने र बनाइसकेपछि त्यसको प्रतिफल के भन्ने विषयमा धेरैलाई जानकारी नै हुँदैन । बस् यत्ति थाहा हुन्छ कि घर चाहिं जसरी पनि बनाउनु पर्‍यो ।

घर बनाउनुअघि तपाईंसँग बजेट कति छ ? पहिला त्यसलाई विचार गरेर मात्रै अघि बढ्न सुझाव दिन्छौं । सामान्यतया आजको दिनमा काठमाडौंमा घर बनाउँदा बुढानीलकण्ठमा बनाउनु र गोदाबरीमा बनाउनुमा फरक छ । त्यहाँ लगानी, वातावरणलगायत धेरै कुरामा फरक छ । घरमा कति जनाका परिवार छ ? परिवारको लागि मात्रै हो कि ? भाडामा पनि दिनु हुन्छ कि वा वा अन्य प्रयोजनका लागि भन्ने विषयमा ध्यान दिनुपर्छ ।

आजको दिनमा दरबारमार्ग, बानेश्वर, बागबजार र कोटेश्वरलगायत प्राइम लोकेसनमा घर बनाउँछु भनेर रहर पालेर मात्रै हुँदैन । पैसा हुनेले मात्रै त्यो सम्भव छ, अर्को कुरा आफूसँग आम्दानी आ कुनै आयको स्रोत नभई लगानी गर्नु पनि राम्रो होइन । जसको कुनै प्रतिफल नै छैन । समाजमा छिमेकीभन्दा ठूलो घर बनाउने प्रतिस्पर्धा हुन्छ । घरलाई आफ्नो पहिचान र प्रतिष्ठाको रूपमा हेरिन्छ, जुन गलत मनसाय हो । हाम्रो सुझाव छिमेकीभन्दा ठूलो घर बनाउनु हुँदैन भन्ने रहन्छ । आफ्नो क्षमता र हैसियतअनुसार घर बनाउनुपर्छ ।

अर्को भाडामा लगाउने गरी पनि घर बनाउनु हुँदैन । करोडौं लगानी गरेर घर बनाइएको हुन्छ तर त्यसको प्रतिफल भाडाबाट असुल्न सकिँदैन । सबै ठाउँमा भाडामा जान्छ भन्ने पनि हुँदैन । एउटा घरको फ्ल्याटको तयारी गर्न न्यूनतम ३० लाख रुपैयाँ लाग्छ । त्यो फ्ल्याटको मासिक भाडा २० हजार रुपैयाँ पनि आउँदैन भने लगानी किन गर्नु ? काठमाडौंमा जग्गाको मूल्य धेरै महँगो छ तर उपत्यका बाहिर यति धेरै महँगो छैन । यति धेरै महँगो भएपनि मान्छेहरू काठमाडौंमै घर बनाउन लालायित हुन्छन् ।

घर आफूलाई पायक पर्ने ठाउँमा लगाउने हो । तर, घरमा लगाइने लगानीको विषयमा भने ध्यान दिनुपर्छ । ३ करोड रुपैयाँ लगानी गरेर घर बनाइँदैछ भने त्यसको प्रतिफल के हो ? भन्ने विषयमा ध्यान दिनुपर्छ । काठमाडौं देखाउनकै लागि भएपनि भनेर करोडौं लगानी गरेर घर बनाउनु राम्रो होइन ।

पछिल्लो समय नेपालमा भविष्य नदेखेर एउटा राम्रो घरघडेरी जोड्नैका लागि भएपनि युवाहरू विदेश गइरहेका छन् । उसो त नेपालमा पनि व्यापार व्यवसाय गर्न सहज छैन । हामीलाई पनि यो व्यवसायमा लागेकाो सात वर्ष भइसकेको छ । सात वर्षको अवधिमा हामी स्वरोजगार मात्रै भएका छैनौं, हामीजस्ता अरू चार सय जनालाई पनि रोजगारी दिएका छौं । अझै यसलाई बढाएर लैजाने तयारी छ । विदेश मात्रै सबथोक होइन, नेपालमा पनि धेरै सम्भावनाहरू छन् । लाखौं लगानी गरेर विदेशिनुभन्दा सानो पुँजीबाट स्वदेशमै व्यवसाय गर्नु राम्रो हो ।

विदेश जानुभन्दा स्वदेशै सीप सिकेर काम गर्न सकिन्छ । हामीले पनि दक्ष जनशक्ति नपाइरहेको अवस्था छ । नेपालमा अहिले पनि दक्ष जनशक्ति विदेशबाट ल्याउनुपर्ने अवस्था छ । आफूसँग व्यवसायका लागि पैसा भएपनि जनशक्ति विदेशबाट ल्याउनु पर्ने बाध्यता हामीले हटाउनुपर्छ । स्वदेशमै सीप सिकेको छ भने विदेश जानै पर्दैन । नेपाली व्यवसायीले पनि दक्ष जनशक्ति पाइरहेका छैनन् ।

हामीले घर बनाउनुअघि अध्ययन गर्दा धेरै घरधनीहरू ठगिएको पायौं । तयसपछि नै हामी आफैले घर निर्माण गर्ने योजनामा पुगेका हौं । अर्को नयाँ काम भनेको उपभोक्ताहरूलाई जग्गा खोजीदिने र घर बनाउने जनशक्ति जुटाइदिने काम पनि हामीले गर्छौं । उनीहरूको डिजाइनअनुसार घर बनाइदिने काम सुरु गरेका छौं, जसले गर्दा न उपभोक्ताहरु ठगिन्छन् न त कमसल सामान नै प्रयोग हुन्छ । यसैलाई मध्यनजर गरेर आगामी फागुन १५ गतेदेखि १७ गतेसम्म घरनिर्माणसम्बन्धि एउटा कार्यक्रम गर्दैछौं । त्यसबाट के कस्ता घरनिर्माण गर्ने भन्ने सम्बन्धी धेरै कुरा सिक्न सकिन्छ ।

(प्रधान तपाईंकाे घरको डाक्टर अर्थात् स्किल सेवाका सञ्चालक तथा व्यवस्थापक हुन् । उनीसँग गरिएको कुराकानीको सम्पादित अंश)