२०८१ फागुन १५ गते १९:३० विकासन्युज
काठमाडौं । पछिल्लो समय सुविधा सम्पन्न देशमा पठाइदिन्छु भनेर ठूलो परिमाणमा पैसा ठग्नेहरु बढेका छन् । अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायत देशमा सहज रुपमा पठाइदिन्छु भन्दै सर्वसाधारणबाट पैसा उठाउने र पछि सम्पर्कविहीन हुने गिरोहहरु बढेका छन् ।
यस्तै, एउटा घटना बाहिरिएको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू हुँदै अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार यस्ता तीन जनालाई प्रहरीले पक्राउ गरेको बताएको छ ।
पक्राउ पर्नेहरूमा रूकुम पश्चिम मुसिकोट नगरपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने २४ वर्षीय मनिषराज खड्का, रूकुम पश्चिम मुसिकोट नगरपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने २७ वर्षीय मधु कुमार खड्का र ३४ वर्षीय बिरेन्द्र खड्का रहेका छन् ।
उनीहरूले अमेरिका पठाइदिछु भन्दै २ जना पीडितहरूबाट १ करोड ४४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनिषराजलाई काठमाडौं महानगरपालिका-९ बाट तथा मधु कुमार र बिरेन्द्रलाई काठमाडौं टोखा नगरपालिका-८ बाट पक्राउ गरेको जानकारी दिएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.