अस्ट्रेलियाबाट पूर्व बैंकरको चिठ्ठी

  २०८१ फागुन २० गते ७:५०      खेमराज ढकाल

 नेपालमा कार्यरत सम्पूर्ण बैंकर्स मित्रहरू  नमस्कार,

म पूर्व बैंकर, सपनाको उडान भर्दै हाल अस्ट्रेलियामा बस्दैछु । अष्ट्रेलियाको बीएमसीटीमा काम गर्दैछु । तपाईं यो बीएमसीटी भनेको कुनै ठूलो कम्पनी सोच्दै हुनुहुन्छ होल, मल्टिकम्प्लेक्स ठान्नु भयो होला । हो, त्यस्तै त्यस्तै हो । तर, खास बीएमसीटीको अर्थ पछि भन्नेछु ।

आदरणीय नेपालमा कार्यरत बैंकर साथीहरु । म अर्थात कुनैदिन तपाईं जस्तै चिटिक्क परेको, टाई, कालो कोट, टिलिक्क परेको जुत्ता लगाएर अफिसको एसीभित्र बसेर काम गर्ने एक बैंकर र हाल पूर्व बैंकर । मान्छे प्रगतिवादी हुन्छ । आज जुन ठाउँमा हामी छौं भोलि योभन्दा एक पाइँला अगाडि आफूलाई देख्न खाज्छौं र यो स्वाभाभिक पनि हो ।

म नेपालकै एक प्रतिष्ठित वाणिज्य बैंकमा काम गरिरहँदा र त्यसमा पनि कर्जा शाखा र त्यस भित्र पनि खास गरेर मैले शैक्षिक कर्जा शाखा हेर्ने भएकोले मेरो विभागमा कर्जाको लागि अस्ट्रेलिया, क्यानडा र यूके जानका लागि विद्यार्थीको भीड हुनु स्वाभाविक थियो । मलाई थाहा थियो, नेपालको बैंकिङ क्षेत्र दिनहुँ टफ (गाह्रो) हुँदै थियो । दिनहुँ टार्गेट (व्यवसायको लक्ष्य)को सकस, बिदाको दिन पनि काम गर्नुपर्ने बाध्यता, कोरोनापछि खर्च कटौतीको बाहनामा बैंकरको सुविधा कटौती, पातलिँदै गएको बोनस, कर्जा असुलीमा समस्या, दुर्गा प्रसाई जस्ता अराजक ऋणिले कालोमोसो दल्ने खतरा र मर्जरको नाममा पद घट्ने डर । यी सबै कारणले अस्ट्रेलिया जान पाए हुन्थ्यो भन्ने लहड मेरो मनमा चलिरह्यो ।

अष्ट्रेलियामा गएपछि जीवनशैली धेरै राम्राे हुन्छ, उन्नत हुन्छ, सुविधायुक्त र दुःख मुक्त नै हुन्छ भन्ने विद्यार्थीको कुराले ममा पनि विदेसिने मोह जाग्यो । र, डिपेण्डेड भिसामा कागजी विवाह गरेर बैंकको नोकरी राजीनामा दिँदै म पनि हानिएँ सपनाको देश, सपनाको सहर अस्ट्रेलिया ।

घरमा बिहान ८ बजेसम्म सुतिरहने म । घरमा कुचोसम्म पनि नलगाएको म । जुठो गिलास र कचौरा पनि नमाझेको म । खानाको नाममा चियासम्म पकाउन नजान्ने म । अस्ट्रेलिया पुगेपछि कामको खोजीमा निक्कै महिना भौतारिरहेँ । कागजी विवाह भएकोले उसले (केटी) कलेजमा पढ्नुपर्ने र बदलामा उसको पढाइको सम्पूर्ण खर्च मैले व्यहोर्नु पर्ने सर्त थियो । त्यही कारणले ममा पैसा जसरी पनि कमाउनु पर्ने बाध्यता थियो ।

तर, नेपालमा भनिएजस्ताे अस्ट्रेलियामा जागिर सजिलै पाइने वा रुखमा पैसा फल्छ भनेजस्तो सजिलो नहुँदो रहेछ । अस्ट्रेलिया दुःखको देश रहेछ । दुःखीहरुको सहर रहेछ । हाल म बीएमसीटीको काम गर्दै सोच्दैछु । नेपालकै जागिर ठिक थियो । जागिर छोडेर नआएकै भए ठिक थियो । महिनैपिच्छे ५०/६० हजार रुपैयाँ तलब आइरहन्थ्यो । सस्तो ब्याजमा कर्मचारीलाई ‘होमलोन’ पाइरहेकै थियो क्यारे ! थोरै भएपनि बोनस आएकै थियो ।

सधैं नेपालको बैकिङ क्षेत्र अहिलेजस्तो नरहला नि ! अवस्था राम्रो भएपछि बोनस पनि मोटाउँदै जाने थियो होला । क्षणिक टारगेटको सकसले रन्थनिएर, बिदाको दिन पनि काम गनुपर्यो भनेर रिसको झोकमा राजीनामा दिए । अहिले धिक्कार छु म आफैलाई । खाइपाइ आएको त्यस्तो राम्रो एसीमा बसेर काम गर्ने नेपालको बैंकको जागिर छोडेर अष्ट्रेलिया आएँ । अहिले कसैले अस्टेलियामा के काम गर्छौ ? भनेर सोधे भने भन्न पनि लाज लाग्छ । तर, यहाँ काम गरिरहेको छु बीएमसीटीको । अर्थात् भाडा मस्काउने, चम्काउने र टल्काउने ।