एनसेल बन्यो तेस्रो संस्करणको नेपाल सुपर लिगको टाइटल स्पोन्सर

  २०८१ फागुन २३ गते १७:०४     विकासन्युज

काठमाडौं । नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) ले नेपाल सुपर लिग (एनएसल) को तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सरका रूपमा घोषणा गरेको छ ।

एनएसएल नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायीक फुटबल लिग हो ।

शुक्रबार ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा यस साझेदारीको घोषणा गरिएको थियो । यस सहकार्यअन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवर्द्धन गर्दै नेपाली फुटबलप्रेमीहरूको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्नेछ ।

साथै यसले नेपालका उदयीमान खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ ।

सन् २०२१ मा स्थापना भएको एनएसएललाई एनएसईएमले अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा आयोजना गर्दै आएको छ ।

थुप्रै क्षेत्रीय फ्रेन्चाइज टोलीहरूको प्रतिनिधित्व गर्दै यो लिगले नेपालभर फुटबलप्रति व्यापक चासो र सहभागिता बढाइरहेको छ । यसले क्षेत्रीय पहिचान प्रवद्र्धन गर्दै एकता र गौरवको भावनालाई अझ बलियो बनाएको छ ।

एनएसएलको आधिकारिक खेल तालिका २९ मार्च २०२५ बाट सुरु हुनेछ । यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी सहित सात टिमहरूबीच कडा प्रतिस्पर्धा हुनेछ ।

पत्रकारहरूसँग कुरा गर्दै नेपाल सुपर लिगका म्यानेजिङ डाइरेक्टर श्रेयांस कार्कीले यो साझेदारीले नेपाली फुटबललाई नयाँ उचाइँ पु¥याउने बताए ।

त्यस्तै, एनसेलका चिफ कमर्सियल अफिसर (सीसी‌ओ) उमेर मोहसिनले एनएसएलसँगको सहकार्यले खेल विकासप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताए ।