एनएमबि बैंकले ‘इनहाउस’बाटै रोज्यो सीईओ, घिमिरेले पाए अवसर

  २०८१ फागुन २३ गते २३:५३     विकासन्युज

काठमाडौं । एनएमबी बैंककाे प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा गाेविन्द घिमिरे नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको फागुन २३ गते बसेको बैठकले घिमिरेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

घिमिरेलाई आगामी ४ वर्षकाे लागि बैंककाे सीईओको जिम्मेवारी दिइएको हो । यसअघि घिमिरे वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा कार्यरत थिए ।

साथै, बैंकका सीईओ सुनिल केसीको कार्यकाल फागुन मसान्तमा सकिदैछ । उनी दुई कार्यकाल बैंकको सीईओ बनिसके ।

सन् १९९५ बाट तत्कालीन नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका छन् ।

सन् २००९ देखि एनएमबी बैंकमा आवद्ध उनी २०७९ असोज ११ गते डीसीईओमा बढुवा भएका थिए । उनी ब्रान्च बैंकिङ र कर्जा बैंकिङमा विशेषज्ञ बैंकरको रुपमा चिनिन्छन् ।