सामुदायिक विद्यालय हाँकिरहेका ‘हेडम्याम’

  २०८१ फागुन २४ गते ११:१२     इन्द्रसरा खड्का

काठमाडौं । एक समयमा महिला चुलो र चौकामा मात्र सीमित थिए । अहिले समय फेरियो । राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा महिलाको सहभागिता बढ्दै छ । कुनै समय विद्यालयमा पढ्नसमेत बन्देज छोरीहरू अहिले त्यही क्षेत्र अर्थात विद्यालयको नेतृत्व गरिरहेकी छन् । उनीहरूले हाँकेका विद्यालयहरूले एसईई लगायत हरेक परीक्षामा उत्कृष्ट नतिजा ल्याइरहेका छन् ।

आज हामी नारी दिवसको अवसरमा काठमाडौं उपत्यकामा रहेका सामुदायिक विद्यालयको नेतृत्व गरिरहेकी महिलाहरुको संक्षिप्त समाचार सामग्री तयार पारेका छौं ।

धुम्रबराह माविको चित्र फेरेकी सुजाता

आजभन्दा करिब २५ वर्षअघि सुजाता राजलवट काठमाडौंको धुम्बाराहीमा रहेको धुम्रबराह माध्यमिक विद्यालय शिक्षकको रूपमा पुगिन् । त्यहाँको अवस्था देख्दा उनलाई अचम्म लाग्यो । काठमाडौंमा रहे पनि सामुदायिक विद्यालयको अवस्था कन्तबिजोग थियो । विद्यार्थीहरू सुकुलमा बसेर अध्ययन गरिरहेका थिए ।

विद्यालयको अवस्थाबारे उनले प्रधानाध्यापकसँग कुरा राखिन् । तर, कुनै प्रगति भएन । सुजातालाई त्यत्तिकै बस्न मन लागेन । उनले विद्यालयको बारेमा समाजमा रहेका अगुवा अनि अभिभावकसँग कुराकानी गर्न थालिन् । विद्यालयको दुरावस्थाको विषयमा कुरा उठाइन् । तर, कुरा कसैले सुनेनन्, किनकि उनी आवाज सुनुवाइ हुने ठाउँमा थिइनन् ।

त्यसको चार वर्षपछि सुजाता त्यही विद्यालयको प्रधानाध्यापक बनिन् । त्यसपछि उनले कडा रूपमा आवाज उठाइन् । उनले विद्यालय वरिपरि रहेका समाजसेवी, बुद्धिजीवीलाई भेटिन् । विस्तारै अभिभावकले पनि यो कुरामा ध्यान दिन थाले । कक्षा ६ सम्म मात्र पढाइ हुने यो विद्यालयमा विस्तारै कक्षा थपिँदै गए । विद्यार्थीले बेञ्चलगायत अन्य भौतिक सुविधा प्राप्त गरे ।

सुजाता राजलवट ।

अहिले २१ वर्ष भयो, यो विद्यालयको नेतृत्व उनै सुजाताले गरिरहेकी छन् । उनी भन्छिन्, ‘भुइँमा बसेर अध्ययन गर्ने विद्यार्थीलाई अहिले डेस्क बेञ्चमा बस्नेमात्र होइन, त्यही अनुसारको शिक्षा दिने विद्यालय बनाउन सफल भएकी छु ।’

सुजाताका अनुसार अहिले यो विद्यालयमा कक्षा १२ सम्म पढाइ हुन्छ । जहाँ अहिले ५ सय भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् भने शिक्षक कर्मचारी १९ जना छन् ।

सुजाता आफूसँग गर्न सक्ने इच्छा र आँट भयो भने नेतृत्वमा पुगेपछि धेरै काम गर्न सकिने दाबी गर्छिन् । उनी काम गर्दै जाँदा आउने चुनौतीको सामना गर्दै अगाडि बढ्न सक्यो भने मात्र जीवन सोंचेजस्तो हुने बताउँछिन् ।

महिलाको एउटैमात्र भूमिका हुँदैन, उसले दोहोरो, तेहेरो भूमिका निभाउनुपर्छ । उनी भन्छिन्, ‘एउटा महिला बिना घरपरिवार, देश मात्र नभइ पुरुष नै अधुरो हुन्छ, यसको मतलब महिलामात्र सबै थोक हो, पुरुष होइन भन्ने होइन ।’ उनी नारीले नेतृत्व गर्ने हरेक संस्था सफल हुने बताउँछिन् ।

उत्कृष्ट ज्ञानोदय बनाउने विष्णु

उपत्यकामा रहेका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट विद्यालयभित्र पर्छ ज्ञानोदय माध्यमिक विद्यालय । काठमाडौंको कलंकीमा रहेको यो विद्यालयले एसईईमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । यही कारणले नै यो विद्यालय पढाउन अभिभावकको लाइन लाग्छ ।

विद्यालयमा अहिले ४ हजार ७ सय बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । सामुदायिक विद्यालय भएपनि यो विद्यालयले अहिले अंग्रेजी भाषामा शिक्षण गराइरहेको छ ।

समयको मागअनुसार परिमार्जन भएको विद्यालय देशभरकै उत्कृष्ट विद्यालयभित्र पर्ने गर्छ । इसीडी (प्रारम्भिक बाल विकास) देखि कक्षा १२ सम्म पढाइ हुने यो स्कुलमा विद्यार्थीको निकै आकर्षण छ । यहाँ भर्नाको समयमा ५ सय विद्यार्थीको सिटमा दुई हजार बढी विद्यार्थी भर्ना हुन आउँछन् ।

अहिले यो विद्यालयको नेतृत्व गरिरहेकी छिन् विष्णु घिमिरे रिमालले । मोरङ घर भई काठमाडौंमा शिक्षण पेशामा आवद्ध रिमाल विगत दुई वर्षदेखि यो स्कुलको नेतृत्व गरिरहेकी छन् । दुई दशक बढी समयदेखि शिक्षण पेशामा आबद्ध रिमाल विद्यार्थी, अभिभावक र शिक्षकहरूको त्रिकोणात्मक सहयोगले विद्यालय सञ्चालनमा सहज भएको बताउँछिन् ।

विष्णु घिमिरे रिमाल ।

उनी भन्छिन्, ‘हामी विद्यालयको हरेक काम समूहमा बसेर छलफल गर्छौं, नेतृत्वकर्तासँग समूह राम्रो छ भने हरेक चुनौतीसँग जुधेर अगाडि बढ्न सकिन्छ ।’

महिलामात्र अध्ययनरत पद्मकन्या विद्याश्रम

काठमाडौंको डिल्लीबजारमा रहेको पद्मकन्या विद्याश्रम विद्यालय एउटा यस्तो विद्यालय हो, जहाँ महिला अर्थात छात्रामात्र अध्ययन गर्छन् । यो विद्यालय नेपालको सबैभन्दा पुरानो विद्यालयअन्र्तगत पर्छ ।

रिता तिवारी ।

राणाशासनमा महिलाको अध्ययनका लागि बनाइएको यो विद्यालयमा अहिले ८ सय ६० वटा विद्यार्थी अध्ययन गरिरहेका छन् । जुन विद्यालयको नेतृत्व गरिरहेकी छन् रिता तिवारीले ।

रिताको घर काठमाडौंको कमल पोखरी हो । उनले यो विद्यालयको नेतृत्व सम्हालेको १२ वर्ष भयो । एउटा निजी स्कुलबाट शिक्षकको रूपमा शिक्षण पेसा सुरु गरेकी उनी अहिले यो विद्यालयको प्रमुखका रूपमा काम गरिरहेकी छिन् । शिक्षक हुँदै प्रधानाध्यापकको पदसम्म पुग्दा उनले पनि धेरै संघर्ष गर्नुपर्यो ।

रिता भन्छिन्, ‘सुरु सुरुमा काम गर्न गाह्रो थियो, तर आजभोलि बानी भइसक्यो । काम गर्न पनि पहिलेको भन्दा अवस्था सहज भइसकेको छ ।’

विद्यार्थीलाई विज्ञान र गणित विषयमा अध्ययन गराउँदै आएकी उनी पहिलेभन्दा अहिले समाज परिवर्तन हुँदै गइरहेको बताउँछिन् ।

‘समय परिवर्तन भएको छ, पहिले महिला घरभन्दा धेरै पर जाने अवस्था थिएन, उनीहरूलाई नेतृत्व दिँदासमेत नाक खुम्च्याइन्थ्यो,’ उनी भन्छिन्, ‘अहिले महिला आफै प्रतिस्पर्धा गरेर नेतृत्वमा जानसक्ने भइसकेका छन्, यो खुसीको कुरा हो ।’

भानुलाई भव्य बनाउन चाहेकी शारदा

भानु माध्यामिक विद्यालय काठमाडौंको रानीपोखरीमा अवस्थित छ । जहाँ इसीडी देखि कक्षा १२ सम्म पढाइ हुन्छ । यो विद्यालयमा अहिले करिब १ हजार जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।

करिब एक हजार विद्यार्थीका लागि अध्ययन गराउने आन्तिरिक र सरकारी दरबन्दी गरेर अहिले यो विद्यायमा ४३ जना शिक्षक कर्मचारी छन् । यो विद्यालयको नेतृत्व गरिरहेकी छिन् शारदा पौडेलले । उनको घर स्याङ्जा हो । अहिले उनी काठमाडौंमा बस्छिन् । २०७१ सालदेखि भानु माध्यामिक विद्यालयमा आवद्ध उनी २०७८ सालदेखि प्रधानाध्यापकको भूमिकामा काम गरिरहेकी छिन् ।

शारदा अहिले पनि महिलालाई सितिमिति पत्याइहाल्ने समाज नभएको बताउँछिन् । उनी भन्छिन्, ‘पुरुष सहकर्मी धेरै छन्, उनीहरूलाई हरेक पल म काम गर्न सक्छु भन्ने प्रमाणित गरिरहनुपर्छ ।’

शारदा पौडेल ।

शारदा अहिले महिला नेतृत्वमा पुगे पनि गर्न सक्छु भन्ने विश्वास दिलाउन उनीहरूले धेरै मिहिनेत गर्नुपर्ने बताउँछिन् । ‘अहिले पनि म प्रधानाध्यापकको कुर्सीमा बसिरहँदा पनि हेडसर खोइ भनेर धेरैजना सोध्नुहुन्छ,’ उनी भन्छिन्, ‘अझै नेतृत्वतहमा पुरुष नै हुन्छन् र हुनुपर्छ भन्ने सोंच धेरैमा छ ।’

कसरतमा छिन् करुणा

नेपाल आदर्श मावि काठमाडौंको गणबहालमा छ । यो विद्यालयको नेतृत्व तीन वर्षदेखि करुणा प्रधानले गरिरहेकी छिन् । शिक्षण पेसामा लागेको लामो समयपछि अहिले उनी विद्यालयको नेतृत्व गरिरहेकी हुन् ।

विद्यालयमा अहिले ४ सय ८५ जना विद्यार्थी अध्ययन गरिरहेका छन् भने ८५ जना शिक्षक कर्मचारी छन् । काठमाडौंमा जन्मे हुर्केकी करुणा महिलाहरू अहिले हरेक क्षेत्रको नेतृत्व तहमा पुगिसकेको बताउँछिन् ।

करुणा प्रधान ।

‘महिलाले घरलाई सुन्दर बनाउँछिन्, घरभन्दा बाहिर जुन संस्थामा आवद्ध हुन्छिन्, तिनलाई पनि उनले सुन्दर बनाउँछिन्,’ उनी भन्छिन्, ‘महिलाले नेतृत्व गरेका शैक्षिक संस्थामात्र होइनन्, हरेक संस्था कम्पनी उत्कृष्ट बनेका छन् ।’ नेपाली समाज परिवर्तन भइसकेको भन्दै उनी अब पहिलेजस्तो संघर्ष गर्नुपर्ने अवस्था नरहेको बताउँछिन् ।

नन्दी माविमा गीताको नेतृत्व

काठमाडौंको नक्सालमा रहेको नन्दी माविमा कक्षा १ देखि १२ सम्म अध्यापन हुन्छ । जहाँ अहिले ५ सय भन्दा बढी विद्यार्थीहरू छन् भने ३६ जना शिक्षक कर्मचारी छन् ।

गीता काफ्ले ।

यो स्कुलको नेतृत्व अहिले गीता काफ्लेले गरिरहेकी छिन् । वि.सं २०५० सालमा दोलखाबाट शिक्षण पेशा सुरु गरेकी उनी अहिले वि.सं २०६३ सालदेखि काठमाडौंको नन्दी माविमा आवद्ध छिन् ।

शिक्षकको रूपमा यो स्कुलमा प्रवेश गरेकी उनले वि.सं २०७२ सालदेखि यही विद्यालयमा प्रधानाध्यापकको भूमिका छिन् । गीता शिक्षण पेसामा मात्र नभइ हरेक संस्थामा काम गर्दा हुने चुनौतीले नै अवसर सिर्जना गर्ने बताउँछिन् ।

उनी भन्छिन्, ‘यात्राको दौरानमा कोही न कोही पछाडि कुरा काट्ने मान्छे आवश्यक हुँदो रहेछ, जसले थप संघर्ष गर्न दबाब सिर्जना गर्छ, जसको दबाबले राम्रो पदमा पुग्न मान्छेलाई सफल बनाउँछ ।’

गीता चुनौतीसँग लडेर सफलतामा पुग्नु नै रमाइलो हुने बताउँछिन् । उनी कुनै पनि नेतृत्वमा पुगेका महिलाले समयअनुसार आफूलाई अपडेट र आफ्नो समूहलाई मिलाएर लैजाने सामथ्र्य राख्न सके कसैले प्रश्न गर्ने ठाउँ नहुने उनको अनुभव छ ।

पद्मोदयको प्रमुख पोखरेल

काठमाडौंको पुतलीसडकमा रहेको पद्मोदय माध्यमिक विद्यालय सामुदायिक विद्यालय हो । यो विद्यालयमा पनि विद्यार्थीको आकर्षण बढेको छ । यहाँ ईसीडीदेखि कक्षा १२ सम्म अध्ययन गराइन्छ ।

एसईई र प्लस टुमा राम्रो नतिजा आउने यो विद्यालयमा विद्यार्थीको भर्नाको समयमा निकै सकस हुने गरेको शिक्षकहरू बताउँछन् । तर, भवनको अभावमा विद्यार्थी आएजति भर्ना गर्न सकिने अवस्था छैन । अहिले कक्षा १ देखि १० कक्षामा मात्र ६ सय बढी विद्यार्थी अध्ययन गरिरहेका छन् ।

डा. शर्मिला पोखरेल ।

यसैगरी, प्लस टुमा ७ सयभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । यो विद्यालयको नेतृत्व अहिले डा. शर्मिला पोखरेलले गरिरहेकी छिन् । ‘पद्मोदयको इच्छा, संस्कारयुक्त गुणस्तरीय शिक्षा’ भन्ने नारा दिएर सञ्चालनमा आएको यो विद्यालयको नेतृत्व गरिरहेकी शर्मिला विद्यार्थीलाई शिक्षामात्र नभई संस्कार दिन आवश्यक रहेको बताउँछिन् ।

जबरजस्त नेतृत्व गरेकी जानुका

गुणस्तरीय शिक्षा दिँदै आएको अर्को विद्यालय हो नीलबाराही माध्यमिक विद्यालय, जुन काठमाडौंको टंकेश्वरमा रहेको छ । हाल एक हजार बढी विद्यार्थी अध्ययनरत रहेका यो विद्यालयमा ईसीडीदेखि कक्षा १२ सम्म अध्ययनपन हुने गर्छ ।

डा. जानुका नेपाल ।

सामुदायिक विद्यालयमा राम्रो नतिजा ल्याउन सफल यो विद्यालयको प्रधानाध्यापक हुन् डा. जानुका नेपाल । काभ्रेको साँगामा रहेको जनज्योति माविबाट शिक्षणको काम सुरु गरेकी जानुका हाल २० वर्षदेखि यो विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीमा रहेकी छिन् ।

३३ वर्षदेखि शिक्षण पेशामा आवद्ध जानुका विभिन्न चुनौतीसँग लड्दै यो स्थानसम्म आइपुगेकी हुन् । नील बाराहीको नेतृत्व गर्दा पनि उनले निकै चुनौती खेप्नु परेको थियो । महिलाले नेृतृत्व गर्न सक्छन् र भन्ने पुरुषवादी सोंचका कारण प्रधानाध्यापक बन्न नै संघर्ष गर्नुपरेको उनले बताइन् ।

विद्यालयमा प्रधानाध्यापकको भूमिका खाली हुँदा विद्यालय व्यवस्थापन समिति र त्यो बेलाको वडा सचिवले जानुकालाई विश्वास गर्न सकेनन् । प्रधानाध्यापक बाहिरबाट ल्याउनुपर्छ भन्ने कुरा उठिरहेको बेला जानुकाले म जिम्मेवारी लिन्छुभन्दा पनि स्वीकार गर्न सकेनन् ।

‘विद्यालयका अन्य शिक्षकहरूले म्याडमले नै नेतृत्व गर्न सक्नुहुन्छ भनेपछि बल्ल मलाई पत्याएको हो, यो समाज सितिमिति महिलालाई विश्वास गर्न सक्दैन,’ जानुकाले भनिन् ।