बुवाको पथलाई पछ्याउँदै विधाता, पाँच तारे होटलको नेतृत्व

  २०८१ फागुन २४ गते ११:१३     बबिता तामाङ

काठमाडौं । विधाता श्रेष्ठले होटल क्षेत्रमा लागूँला भनेर कहिल्यै सोंचेकी थिइनन् । उनलाई व्यवसाय नै गरेपनि अन्य क्षेत्रमा लाग्छु भन्ने मनमा थियो । ‘सोंचेजस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ, देखेजस्तो हुन्न जीवन’ भन्ने गीतले भनेजस्तै परिस्थितिले उनलाई अर्कै मोडमा ल्याएर उभ्याइदियो । जहाँ उनलाई ‘नाइँ’ भन्ने छुट थिएन । उनले त्यही बाटोलाई सहजै स्वीकारेर अघि बढ्नु थियो, बढिन् पनि ।

जीवनमा आइलाग्ने अनेकन चुनौतीको सामना गर्दै साहस र समर्पणताका साथ विधाता अघि बढिन् र सफल पनि भइन् । उनले आफ्नो बुवाको अवसानपछि उनकै व्यवसायलाई अगाडि बढाइरहेकी हुन् । बुवाले सुरु गरेको व्यवसायलाई आफ्ना बल, मिहिनेत र सोंचले थप उचाइमा पुर्‍याउन विधाता सफल भएकी छिन् ।

यदि उनले त्यतिबेला आफूलाई सक्दिनँ, गर्दिनँ भनेर पछि हटेको भए सायदै होटल र्‍याडिसन आज नेपालमा हुँदैनथ्यो । आँटिली विधाताले त्यो अवस्था आउन दिइनन्, उनले आज पनि र्‍याडिसनलाई त्यो उचाइँमा पुर्‍याइरहेकी छिन् जति हिजो उनका बुवाले पु¥याउने सपना बोकेका थिए ।

जिम्मेवारीले डोर्याएको यात्रा

सन् १९९० मा काठमाडौंमा जन्मिएकी विधाता माइली सन्तान हुन् । उनका एक दिदी र बहिनी छन् । स्कुलको पढाइ शुभताराबाट गरेकी उनले मल्पी कलेजबाट ‘ए लेभल’ गरेपछि थप पढाइका लागि बेलायत गइन् ।

उनले सन् २०१२ मा बेलायतको युनिर्भसिटी अफ इष्ट आंग्लियाअन्र्तगत नर्विज बिजनेस स्कुलबाट एडभान्स बिजनेस म्यानेजमेन्टमा पोष्ट ग्रयाजुएसन गरिन् । त्यसपछि उनी नेपाल फर्किन् ।

सन् २०१४ मा विधाताले बुवाकै सल्लाहमा होटलमा कर्पोरेट म्यानेजर भएर बुवालाई सघाउन थालिन् । बुवालाई सघाउन र केही सिक्न होटल प्रवेश गरेकी विधातालाई सिंगो होटलको जिम्मेवारी आफ्नै काँधमा आउँछ भन्ने कहिल्यै सोंचेकी थिइनन् ।

उनका बुवा विके श्रेष्ठ र्‍याडिसनका प्रबन्ध निर्देशक थिए । मिजासिलो व्यक्तित्वका रुपमा चिनिने श्रेष्ठ होटल संघ नेपाल (हान) का पूर्वअध्यक्षसमेत हुन् । उनले आफ्नो मिहिनेतले होटल र्‍याडिसनको उचाइँ सधै उच्च नै राख्दै आएका थिए । श्रेष्ठ होटलप्रति मात्रै नभएर परिवारप्रति पनि उत्तिकै जिम्मेवार थिए । सबै कुरामा राम्रै गरिरहेका श्रेष्ठ आफ्नै जीवनबाट भने हारे ।

उनको अवस्था बिग्रँदै गयो, जति उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गयो, त्यति नै बढी जिम्मेवारी माइली छोरी विधाताको काँधमा सर्दै जान थाल्यो । क्यान्सरपीडित श्रेष्ठले सन् २०१७ मा संसारबाट बिदा लिए ।

बुवाको निधनपछि होटल सम्हाल्ने ठूलो जिम्मेवारी विधाताको काँधमा आइपर्‍याे । हुन त उनका बुवाले सानैदेखि तीनै जना छोरीहरूलाई मानसिक रूपमै आफूपछि व्यवसाय अघि बढाउने हिसाबले तयार पारेका थिए । सानैदेखि तीन जना छोरीहरूलाई व्यवसायमा तयार पार्नका लागि प्रयासलाई विधाताले मनन् गरेपनि कहिले कसरी कतिबेला जिम्मेवारी निभाउनुपर्छ भन्ने कुरा थाहा थिएन । यसरी परिस्थितिले उनलाई र्‍याडिसनजस्तो ‘पाँच तारे’ होटल सम्हाल्ने जिम्मेवारी आइपर्‍याे।

बुवाकाे पथ पछ्याउँदै

बुवाको पदमा अर्थात प्रबन्ध निर्देशक भएर कुर्सीमा बस्दै गर्दा सुरुवाती चरणमा विधातालाई चुनौती नै थियो । उनको लागि पहिलो चुनौती भनेकै बुवाले मिहिनेत र संघर्षले स्थापित होटलको साखलाई बचाइराख्नु थियो । दोस्रो बुवाको बाँकी सपनालाई पूरा गर्नु थियो । त्यस्तै, कर्मचारीको विश्वाससमेत जित्नु थियो र यी दुबै कुरामा सचेत थिइन् उनी । उनको लागि प्रबन्धक निर्देशक भएर काम गर्नु सहज पक्कै थिएन ।

सुरुवाती दिनमा केही व्यक्तिहरूले विधाताको क्षमतामाथि प्रश्न उठाउन भ्याएका थिए । सुरुवाती संघर्षका दिन सम्झिँदै विधाताले भनिन्, ‘जब म बुवाको कुर्सीमा प्रबन्धक निर्देशक भएर गएँ, केही व्यक्तिहरूले यसले होटलको नेतृत्व गर्न सक्छ र ? भनेर मेरो क्षमतामाथि प्रश्न उठाए । अविवाहित छे, एक न एक दिन बिहे गरेर गइहाल्छे, त्यसपछि के ? भन्नसम्म भ्याएका थिए ।’

अरूबाट आउने यी र यस्तै अनेक नकारात्मक प्रतिक्रियाहरूबाट विधाता एकरति पनि विचलित भइनन् । अरूले जे भनेपनि उनलाई आफ्नो क्षमतामाथि विश्वास थियो । जसरी पनि काम गर्नुछ, बुवाको सपना पूरा गर्नुपर्छ भन्ने लक्ष्यसहित उनी निरन्तर अघि बढिरहिन् ।

आफ्नो काममा आमा र काकाले त्यतिबेला धेरै नै साथ दिएको कुरा सम्झिन्छिन् विधाता । ‘म एक्लैले होटललाई यहाँसम्म ल्याउन सायदै सकिँदैन थियो होला । तर, मलाई मेरो अंकल (अनलराज श्रेष्ठ) र आमाले धेरै सहयोग गर्नुभयो, त्यसले पनि मलाई अघि बढ्न थप बल पुग्यो’, उनले भनिन् ।

त्यसबाहेकका अरू चुनौती भने एकपछि अर्को गर्दै थपिँदै गएको स्मरण गर्छिन् विधाता । उनले नेतृत्व सम्हाल्न थालेपछि भूकम्पको सामना गर्नुपर्यो । भूकम्पबाट राम्रोसँग ‘रिकभर’ हुन नपाउँदै नाकाबन्दी सुरु भयो । त्यसको असर होटल क्षेत्रमा पुगेको उनले सुनाइन् ।

नाकाबन्दी लगत्तै विश्वभरि नै कोरोनाको महामारी सुरु भयो । भूकम्प, नाकाबन्दी र कोरोनाको कारण विश्व अर्थतन्त्रमै ठूलो असर पुग्यो । त्यसको प्रत्यक्ष असर नेपालको अर्थतन्त्रमा पुग्यो । यसबाट होटल क्षेत्र पनि अछुतो रहन सकेन । होटल क्षेत्रलाई पनि पहिल्यैको लयमा फर्किन समय लाग्यो । अहिले पनि धेरै होटल पहिलेको अवस्थामा पुग्न सकेका छैनन् । यसरी आफ्नो नेतृत्वपछि केही न केही चुनौतीको सामना उनले गरिहनुपर्‍यो । यी सबै चुनौतीबाट पनि उठेर होटललाई राम्रै ढंगबाट व्यवस्थापन गर्न सफल भएको उनले सुनाइन् ।

पुरानै चार्म फर्काउने प्रयास

र्‍याडिसन फ्रेञ्चाइज होटल हो । त्यसैले यसको व्यवस्थापनदेखि सबै सर्भिस अन्तर्राष्ट्रियस्तरको हुन्छ । होटलले अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड पछ्याउनैपर्छ । त्यो अभ्यासमा आफूहरूले सक्दो प्रयास गरेको विधाता सुनाउँछिन् । विधाताले नेतृत्व सम्हाल्न थालेपछि व्यवस्थापनको केही पाटोमा उनले परिवर्तन गरिन् । विशेषगरी जनशक्तिमा ।

‘हामीले अन्तर्राष्ट्रियस्तरको सुविधा दिइरहेका छौं, सबै नियम पालना गरेका छौं । कर्मचारीहरूको सेवासुविधा उनीहरूको लेभलअनुसार दिएका छौं,’ उनले भनिन्, ‘ अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड पछ्याउनका लागि यहाँका कर्मचारीलाई थप तालिम दिएर हुन्छ कि या विदेशबाटै प्रशिक्षकहरू ल्याएर हुन्छ, तालिम दिने गरेका छौं ।’

कर्मचारीहरूसँग पनि राम्रो सम्बन्ध स्थापित गर्न माहिर छिन् विधाता । कम्पनी सुरुवाती चरणदेखिका कर्मचारी यही होटलमा अहिले पनि काम गरिरहेका छन् । पूराना कर्मचारीबाट अनुभव लिने र आफ्नो नयाँ आइडिया सेयर गरेर अघि बढिरहेकी छिन् उनी ।

कर्मचारीसँग घुलमिल हुनेदेखि बाहिर बजारमा विभिन्न व्यक्तिसँग कनेक्ट भएर आफै नै लागिपरेकी छिन् उनी । आफै नलाग्दासम्म अहिलेको प्रतिस्पर्धी बजारमा टिक्न गार्‍हो छ भन्ने उनले राम्रोसँग बुझेकी छन् ।

होटल सञ्चालनमा आएको २५ वर्षभन्दा बढी भइसकेको छ । त्यस हिसाबले होटलको केही पार्ट रिनोभेट (पुनःनिर्माण) भएको छ । विधाताको नेतृत्वपछि नयाँ डिजाइनसहित दुई तल्लाको पुनःनिर्माण भएको छ । आगामी दिनमा लबीहरू परिवर्तन गर्ने तयारी रहेको उनले सुनाइन् ।

त्यस्तै, उनकै बुवाको सपनाअनुसार नयाँ अपार्टमेन्ट निर्माण हुने चरणमा छ । आउने दिनमा ग्राहकको आवश्यकताअनुसार होटलले सेवा थप्दै लैजाने योजना रहेको उनले सुनाइन् ।

होटलमा महिला सहभागिता

विगतको तुलनामा हस्पिटालिटी क्षेत्रमा महिला सहभागिता बढ्दै गएको छ । नेतृत्व तहमा पनि महिला सहभागिता विस्तारै बढ्दै गएको विधाता सुनाउँछिन् ।

‘होटल संघ नेपाल(हान) को नेतृत्व तहमा महिला पुगिसकेका छन् । मेची क्राउन, पार्क भिलेजजस्ता होटलहरूको नेतृत्व महिलाले नै गरिरहनुभएको छ । यसरी हेर्दा विस्तारै यो क्षेत्रमा महिलाहरुको सहभागिता बढ्दै गएको छ । तर, पर्याप्त होइन । अझै महिलाहरु यो क्षेत्रमा आउनु आवश्यक छ,’ उनले भनिन् ।

महिलामाथि हेर्ने दृष्टिकोणमा पनि विस्तारै परिवर्तन हुँदै गएको अनुभव उनले पनि गरेकी छन् । महिलाले के गर्न सक्छन् र भन्ने समाजले आज महिलाले गर्न सक्छ भन्ने विश्वास गर्न सक्ने अवस्था सिर्जना भएको उनी बताउँछिन् । महिला सहभागिता बढाउन उनीहरूलाई अवसरको साथसाथै हौसला बढाउनुपर्ने उनले औंल्याइन् ।

होटल क्षेत्रमा चुनौती र सम्भावना

कोरोना महामारीले थला परेको नेपालको अर्थतन्त्र अहिले पनि राम्रोसँग तँग्रिन सकेको छैन । अझै पनि होटल, पर्यटनजस्ता क्षेत्रहरूले आर्थिक रूपमा माथि उठ्न संघर्ष गर्नुपरेको छ । नेपालको अर्थतन्त्रलाई उठाउने एउटा क्षेत्र पर्यटन पनि हो । तर, यो क्षेत्र आफै माथि उठ्न नसक्दा देशको अर्थतन्त्रमा ठूलो धक्का लागेको छ । नेपालमा आउने पर्यटकको संख्यामा समेत सुधार हुन सकेको छैन । नेपालमा सबैभन्दा धेरै पर्यटक आउने भनेको छिमेकी मुलुक चीन र भारतबाटै हो । यी देशबाटै पछिल्लो समय पर्यटकको संख्या घट्दै गएको छ ।

विधाता भारतबाट आउने पर्यटकको लागि टिकट नै महँगो हुँदा नेपाल आउन नखोज्ने औंल्याउँछिन् । पर्यटकको संख्या बढाउन टिकट केही कम गर्नुपर्ने र सडकमार्ग सुरक्षित हुनुपर्ने बताउँछिन् ।

‘भारतलाई यहाँ आउन भिजा महँगो छ जबकि दुबईमा भिजा निःशुल्क छ । कम्तीमा हवाई टिकट मात्रै कम गर्ने र सडक पूर्वाधार समयमै बनाउने हो भने पर्यटक भित्र्याउन समस्या छैन,’ उनले भनिन् ।

नेपालको सडक र हवाई यात्रा सुरक्षित छ भनेर भन्दा पनि असुरक्षित छ भन्ने सन्देश विदेशमा पुगेको छ । यो सन्देश कम हुने गरी नेपालले काम गर्नु आवश्यक औल्याउँछिन् विधाता ।

त्यस्तै, आन्तरिक उडान राम्रोसँग हुन सकेको छैन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन सकेको छैन । यो पूर्ण रूपमा सञ्चालनमा आएपछि नयाँ ढंगबाट गइएन भने पर्यटन क्षेत्र बुम हुन गार्‍हो हुने उनले बताइन् ।

पछिल्लो समय होटलको संख्या बढेअनुसार पर्यटकको संख्या बढ्न सकेको छैन त्यसतर्फ सरकारले सोच्नुपर्ने विधाता बताउँछिन् । उनी भन्छिन्, ‘होटलको संख्या बढेअनुसार पर्यटक बढ्न सकेको छैन । यसमा सरकारले के गर्न सकिन्छ सोंच्ने बेला भएको छ । बैंक मर्जरमा गएजस्तो होटल मर्जरमा जान सक्दैन । त्यस्तो अवस्था नहोस् ।’

नेपाल भन्नेबित्तिकै यहाँ हिमालमात्रै छैन । मुलुक अनेक धर्म र संस्कृतिले भरिपूर्ण छ । नेपाल हिमाल, पहाड र तराई मिलेर बनेको छ । यहाँ पशुपति, मुक्तिनाथदेखि लिएर लुम्बिनीजस्ता ठाउँ छन् । ती सबै क्षेत्रलाई विस्तार गर्नुपर्ने र पर्यटक बढाउनुपर्ने आवश्यक छ । यसमा नेपाल पर्यटन बोर्डले नेतृत्व लिएर पर्यटन क्षेत्रमा काम नाट्टा, टानजस्ता गर्ने संस्थाहरूलाई बजेटिङमा सहयोग गर्नुपर्ने विधाता बताउँछिन् ।