२०८१ फागुन २५ गते १५:३१ खेमराज ढकाल
उफ ! आज घरमै ६ बजिसके छ । आज पनि फिल्डमा जानु छ । झन् आज त सबैलाई बिहानै बोलाएको थिएँ । तर, के गर्नु हिजो राति अबेरसम्म फिल्डमै काम गरेकोले आज बिहान उठ्नै ढिला भयो । हैन, अघि भर्खर सुतेजस्तो लाग्छ कस्तो चाँडो बिहान भएको ? निद्रा पनि पुगेको छैन, रात छोट्टियो कि क्या हो ?
म एक लघुवित्तमा काम गर्ने कर्मचारी भएकोले अक्सर मेरो कार्यक्षेत्र भनेकै फिल्ड हो । बिहान सबेरै जानु र राति अबेर घर फर्किनु मेरो दैनिकी भइसकेको छ । भन्नलाई र देख्नेहरूको लागि यो लघुवित्तमा काम गर्छ, बैंकमा काम गर्छ भन्छन् । तर, बैंक र लघुवित्त उस्तै-उस्तै संस्था भएपनि हामी लघुवित्तका कर्मचारी कहाँ बैकका कर्मचारी जस्तो हुन पाउँछौं र ?
नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्था भन्छ । एउटै डालोमा राखेर पोलिसी र सर्कुलर निकाल्छ । तर, के हामी लघुवित्तका कर्मचारी र बैंकका कर्मचारी एउटै हो र ? उनीहरू त एसी रूममा बसेर काम गर्छन् । कहिलेकाहीं फिल्डमा निस्किन्छन् । त्यो पनि अफिसकै गाडीमा टाई-सुट, कोट ढल्काएर । तर, के गर्नु हामी लघुवित्तका कर्मचारी एक्लैले १२ गाउँ फेर्नुपर्छ ।
खेत-खेत, आली-आली र कान्ला-कान्लामा हिँड्नुपर्छ । बिहान लगाएको चिटिक्क परेको लुगा फर्किँदा धुस्रे फुस्रे हुन्छ । दैनिक कलेक्सन र लगानीको लागि गाउँ-गाउँ पुग्नुपर्छ । ठूल्ठूला हुनेखाने र पहुँचवाला ग्राहकहरूलाई त बैंकले तानिहाल्छ नि । उनीहरू आफै पनि बैंकसम्म पुगिहाल्छ्न् नि । हामीले हेर्ने र हाम्रो ग्राहक भनेको भित्री गाउँका किसान हुन् । हुने खाने भन्दापनि हुँदा खाने हुन् । दैनिक गुजारा गर्ने व्यत्ति नै हाम्रो ग्राहक भएकोले एकाबिहानै उनीहरूको घर दैलोमा पुग्नु पर्ने बाध्यता छ हाम्रो ।
ढिलो गइयो भने उनीहरू काममा गैहाल्छन् । उनीहरूलाइ भेट्न सकिँदैन । हामीले बिनाधितो लगानी गर्ने भएकोले जोखिम पनि त्यत्तिकै छ । समूह-समूह बनाएर बचत र लगानी गर्ने भएकोले समूहका सबै सदस्यहरू राम्रै हुन्छन् भन्ने छैन । एउटै समूहका कोही नराम्रो सदस्य भए त्यसको कारणले अरू सदस्यलाई पनि गाह्रो हुन्छ । सदस्यहरू पनि बेग्लै किसिमका बाठा छन् । बचतभन्दा पनि ऋणको उद्देश्यले र सजिलै बिनाधितो ऋण पाइने भएकोले एक-दुई महिना बचत गरेर अर्को महिना ऋण मागिहाल्छन् ।
यता अफिसले पनि के हेरेर ऋण दिएको ? दिएपछि उठाउनु पर्दैन ? तिमीले दिएको ऋण कसले उठाउँछ भनेर एकोहोरो पेल्छ । ऋण उठाउन गयो सदस्यहरूले आफ्नै कथाव्यथा सुनाउँछन् । यो महिना गाह्रो भयो । अर्को महिना दुई महिनाको एकैचोटि तिर्छु । छोरी बिरामी भएर तिर्न सकिएन, छोराले विदेशबाट पैसा पठाएको छैनलगायतका कारण सुनाएर ऋण तिर्दैनन् । उनीहरूको पनि पीडा बेग्लै छ ।
ग्राहकलाई सुनौं, ऋण नउठ्ने, लघुवित्त नै डुब्ने डर । नसुनौं, उपाय छैन । कहिले त अति भएर मन नलागी–नलागी कर्मचारी भएर के गर्नु, उनीहरूको गोठमा काँधेको खसी समेत लिनुपर्ने अवस्था सिर्जना हुन्छ । आजभोलि त ऋणीहरू नै तिर्दिनँ के गर्छस् भन्ने धम्की नै दिन थालेका छन् । २० लाख रुपैयाँसम्मको ऋण त मिनाहा हुँदैछ मेरो त, एक लाख रुपैयाँ मात्रै भनेर भन्ने गरेका छन् । कालो मोसो खोजेको हो ? भन्न थालेका छन् । कति साथीहरूलाई त दली पनि सके ।
ऋणीले ऋण तिर्दिनँ भन्छन् । अराजक तत्व उक्साइरहेका छन् । अफिसले जसरी पनि ऋण उठाऊ भनेर दबाब दिन्छ । बीचमा हामी कर्मचारी छौं । हामी लघुवित्तका कर्मचारी गाउँ-गाउँ र फिल्डमा जानुपर्ने भएकोले सबै ठाउँमा बाइक पुग्दैन । भनेको बेला सबै बैठकमा आइपुग्दैनन् । खेतखेतमा पुगेर भेट्नुपर्छ । कोही खेतमा काम गर्दै हुन्छन्, कोही रुखमा चढेर रुख काटदै हुन्छन् । रुख चढ्न त मिलेन तर उसले रुख नकाटुन्जेल भुइँमा पर्खिनुपर्छ ।
बाटोमा कलेक्सन गरेको पैसा लुटिने डर उस्तै हुन्छ । यो पीडाको विषयमा न राष्ट्र बैंक बोल्छ न हाम्रो मुख्य कार्यालयले केही बोल्छ । केही गरी लुटियो भने महिनौं र वर्षौंसम्म तलब पाइँदैन । लघुवित्तको महत्त्वको विषयमा धेरै अनभिज्ञ छन् । न्यून आयस्तर भएको वर्गलाई आर्थिक रूपमा सबल बनाउन लघुवित्त आवश्यक पर्छ । सीप भएका तर पुँजी नभएकालाई लघुवित्तले सहयोग गर्छ । ग्रामीण भेगका मानिसलाई वित्तीय पहुँचका लागि पनि लघुवित्त अपरिहार्य छ । त्यसैले त लघुवित्त गाउँ-गाउँ पसेको हुन् । काठमाडौंका न्यूरोड, रत्नपार्क, बानेश्वरलगायत ठाउँमा त वाणिज्य बैंक नै पर्याप्त छँदैछन् नि ।
कहिलेकाहीं आफ्नै संस्थाले पनि कर्मचारीको पीडा नबुझ्दा दुःख लाग्छ । कर्मचारीको प्रोत्साहनका लागि लघुवित्तले कुनै पनि काम गरेको हुँदैन । हेड हफिसबाट निर्देशन दिएर सबै काम फत्ते हुन्छ सोंच्छन् लघुवित्त संस्थाको हेड अफिसमा बस्नेहरू । एउटा जोखिम लिएर विकटका गाउँगाउँमा डुल्ने कर्मचारीको सुरक्षाको लागि लघुवित्तले केही सोंच्दैन । न उनीहरूको बीमा, न सुरक्षाको ग्यारेन्टी न त काममा प्रोत्साहन नै ।
अहिले दिनप्रतिदिन लघुवित्त क्षेत्र सबैको तारो हुँदैछ । अहिले आएर लघुवित्तको ब्याज धेरै भयो भनेर विरोध भइरहेको छ । नियामकले पनि लघुवित्तमाथि नै अंकुश लगाइरहेको छ । लघुवित्तको खराब कर्जाको वृद्धि अनुपातमा नियामक चिन्तित छ । तर, खराब कर्जा किन बढ्यो, ऋण किन उठ्न सकेन भन्ने र यसको समस्या समाधानमा नियामकको पनि ध्यान छैन । लघुवित्तको नाफाको विषय पनि बहस भइरहेको हुन्छ । लघुवित्तमा पनि कसैको लगानी छ, उसले पनि प्रतिफल चाहन्छ । नाफा नखोज्ने हो भने लगानी किन गर्छन् ?
हामी रातदिन भनेर सेवाग्राहीको लागि खटिन्छौं । न समयमै खाना, न सामाजिक काममा सक्रिय, न आफन्त, न त परिवारसँग मेलमिलाप । हामी हरेक समय हाम्रा सेवाग्राहीसँग हुन्छौं । आफ्नो जीवनलाई जोखिममा लिएर काम गरिरहेका हुन्छौं तर हाम्रो यो पीडा न परिवार, न समाज न आफ्नै काम गर्ने अफिस नत नियामकले नै नबुझिदिँदा हाम्रो मन कत्ति अमिलाे हुन्छ होला ?
Copyright © 2025 Bikash Media Pvt. Ltd.