नेप्सेको सीईओका लागि ५ जनाको नाम सर्टलिष्ट, को-को सिफारिस भए ?

  २०८१ चैत ३ गते ७:११     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ जनाको नाम छनोट (सर्टलिष्ट) गरेको छ । सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले चुडामणि चापागाईं, नारद कुमार लुईंटेल, पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याललाई छनोट गरेको हो ।

उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभवको आधारमा ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तर्वार्ताका लागि छनोट गरिएको सीईओ सिफारिस समितिले जनाएको छ । साथै छनोट भएका उम्मेदवारहरूलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि चैत ६ गते अर्थमन्त्रालयमा बोलाइएको छ ।

व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ । नेप्सेको सीईओ बन्न १० जनाले आवेदन दिएका थिए ।

नेप्सेको सीईओ पदका लागि सर्टलिष्ट भएका ५ जनासहित युवराज दाहाल, प्रविण अधिकारी, विमलकुमार तिवारी, कृष्णबहादुर कार्की र मुकन्दराज जोशीले सीईओका लागि आवेदन दिएका थिए ।

सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले फागनु १२ गतेदेखि फागुन २५ गतेसम्म आवेदन आह्वान गरेको थियो । सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयले संयोजक सहसचिव सेवन्तक पोखरेललाई बनाएको छ भने सदस्यहरूमा सहसचिव अमृत लम्साल र विज्ञ सदस्य डा. खोमराज खरेल छन् ।

कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि गत माघ २५ गतेदेखि नेप्स सीईओविहीन छ । कामु सीईओको जिम्मेवारी प्रबन्धक निरञ्जन फुयाँलले सम्हाल्दै आएका छन् ।