अटो व्यवसायीबीच ‘सक्ने-सकाउने’ खेल, नियतबस् जुधाइयो नाडा अटो शो

  २०८१ चैत ३ गते १५:०६     नरेन्द्र विष्ट

 

काठमाडौं । अटो व्यवसायीहरूको भित्री विवाद छताछुल्ल भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)लाई विभाजन गरेर नाडाकै अधिकांश पदाधिकारीहरूले नेपाल अटोमोबाइल्स इम्पोर्टस् एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को स्थापना गरेपछि चुलिएको विवादले थप उग्र रूप लिन थालेको छ ।

त्यो विवाद नाडा अटो शोमा पनि जोडिएको छ । अटो व्यवसायीहरूले दसैंका रूपमा लिने नाडा अटो शोमा व्यवसायीहरुले स्टल राखेर सवारीसाधन प्रदर्शन गर्ने गरेका छन् । अहिले नाडा विभाजन भएपछि अधिकांश ठूला व्यवसायी नाइमामा सक्रिय बनेका छन् । यसले नाडा अटो शो संकटमा पर्न सक्ने अनुमान गरिरहेको बेला नाडाले अटो शोका लागि बुकिङ खुल्ला गरेको छ ।

नाडाले १७औं संस्करणको ‘नाडा अटो शो २०२५’ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा गर्ने बताइसकेको छ । प्रदर्शनीको लागि फागुन २७ देखि चैत्र ४ गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरेको छ ।

नाडाले रजिष्ट्रेशन खुल्ला गरेपछि नाइमाले पनि हतार-हतार निर्णय गर्दै नाडा अटो शो हुनुअगावै अर्थात् १५ दिन अगाडि नै अटो शो आयोजना गर्ने बताएको छ । नाइमाले साउन २१ गतेबाट अटो शो आयोजना गर्ने जानकारी दिएको छ । नाइमाको यो निर्णयले नाडाभित्र भूकम्पमात्रै ल्याएको छैन, नाडा अटो शोको भविश्य नै संकटमा पर्ने धेरैको धारणा छ ।

नाइमामा पूर्वअध्यक्षहरूको पनि समर्थन छ भने ठूला अटो व्यवसायी पनि नाइमामा सक्रिय बनेका छन् । त्यसैले पनि नाइमालाई अटो शो आयोजना गर्न खासै ठूलो प्रभाव नपर्ने देखिन्छ भने नाडा अटो शोको भविष्य अन्योल हुने बुझाइ धेरैको छ ।

विगतमा मिलेर नाडा अटो शो आयोजना गर्ने अटो व्यवसायीहरू यस पटक विभाजन गरेर आयोजना गर्नेछन् । यदि १५ दिन अगावै नाइमाले अटो शो गरेको खण्डमा नाडा अटो शो आयोजना हुनु र नहुनुको कुनै अर्थ नहुने जानकारहरू बताउँछन् ।

नाइमा स्थापना गर्नका लागि सुरुवातदेखि नै सक्रिय बनेका एक व्यवसायीले अब नाडाको अस्तित्व सकिएको धारणा राखे । ‘नाडामा गाडी आयातकर्ताभन्दा पनि स्पेयर पार्टस् व्यवसायीहरूको संख्या धेरै छ, नाडामा उनीहरूले नै राज गर्न थाले, त्यसपछि हामीले स्वविवेकले नयाँ संस्था खोल्यौं,’ उनले भने, ‘अब आ-आफ्नो हिसाबले काम गर्छौं, लबिङ गर्छौं ।’

उनले नाडाले डरकै कारण हतार-हतारमा बुकिङ खुल्ला गरेको धारणा राखे । उनले नाडामा आयातकर्ता नभएकोले नाडा अटो शो सफल नहुने तर्क राखे ।

‘नाडामा एक/दुइटा ब्राण्ड बाहेकको गाडी नै छैन, हाम्रोमा सतप्रतिशत व्यवसायी छन्, पूर्व अध्यक्ष र ठूला व्यवसायीको साथ हामीलाई छ, नाडाले डरले छिट्टै बुकिङ खुलाए पनि हामी एक महिनापछि खोल्छौं,’ ती पदाधिकारीले भने ।

नाइमालाई पूर्वअध्यक्षहरूको साथ

हाल नाडामा रहेका अधिकांश ठूला व्यवसायीहरू नाइमामा सक्रिय बनेका छन् । उनीहरूले नाडामा पनि राजीनामा नदिएर नाइमामा सक्रिय बन्ने रणनीति बनाएका छन् । उसो त नाडामा पदाधिकारी रहेकाहरू नाइमामा पनि पदाधिकारी बन्ने तयारी गरिरहेका छन् । स्रोतका अनुसार तदर्थ समितिले ६ महिनाभित्र साधारणसभा बोलाएर साधारणसभा गरेपनि नाडाको कार्यसमितिमा रहेकाहरूले राजीनामा दिएर नाइमामा सक्रिय बन्ने रणनीति बनाएका छन् ।

नाइमालाई अधिकांश ठूला व्यवसायी तथा नाडाका पूर्वअध्यक्षहरूको साथ रहेको बुझिएको छ । देशका ठूला अटो कम्पनी तथा आयातकर्ता युनाइटेड ट्रेडर्स, साइमेक्स इंक, कन्टिनेन्टल ट्रेडिङ, स्याकार ट्रेडिङ, पारामाउन्ट मोर्टर्स, लक्ष्मी इन्टरकन्टिनेन्टल, आइएमई मोटर्स, एसपीजी अटोमोबाइल्स र जिओ फोर्डले नाइमाको सदस्यता लिएका छन् ।

यस्तै, सिप्रदी ट्रेडिङ, अग्नी इन्ककर्पोरेट, हंशराज हुलासचन्द एण्ड कम्पनी र अल्फा अटोमेटिभ पनि नाइमाको सदस्य बनेका छन् । नेपालका बिग कर्पोरेट हाउसले नेतृत्व गरेका यी कम्पनीहरुको कारण नै विगतमा नाडा अटो शो सफलताका साथ सम्पन्न हुने गरेको थियो । तर, अब नाडा अटो शोको भविश्य नै धरापमा परेको छ ।

पूर्वअध्यक्षहरु शौरभ ज्योति, शेखर गोल्छा, अञ्जन श्रेष्ठ, कृष्णप्रसाद दुलाल र धुब्र थापा लगायत पूर्वअध्यक्षहरु नयाँ संस्था नाइमाप्रति केही लचक बनेको देखिन्छ । तर, उनीहरुले खुलेरै कुनै पनि संस्थालाई साथ दिएका छैनन् ।

नाडाका पूर्व निवर्तमान अध्यक्ष धु्रब थापा नाडा विभाजित भएर अर्को संस्था खोलिनु व्यवसायीबिच ठूलो समस्या रहेको बुझ्न सकिने धारणा राख्छन् । नाडामा नयाँ नेतृत्व चयन भएदेखि व्यवसायीहरूबिचको विवाद मिलाउन नसक्दा यस्तो अवस्था आएको उनको भनाइ छ ।

‘दुइटै संस्थाले एकै समयमा अटो शो आयोजना गर्न लागेका छन्, यो राम्रो सन्देश होइन, यस विषयमा सबैले बसेर छलफल गर्नुपर्छ’ उनले भने ।

पूर्वअध्यक्ष कृष्णप्रसाद दुलाल पनि आयातकर्ता अटो व्यवसायीलाई छुट्टै संस्था आवश्यक नै रहेको भए पनि अटोशो भने छुट्टाछुट्टै हुन नहुने धारणा राख्छन् ।

यो समस्यालाई समाधान गर्नका लागि दुई संस्थाबीच छलफल हुनुपर्ने उनको भनाइ छ । उनले नयाँ संस्थामा आवद्ध हुनेहरूले नाडासँग प्रतिस्पर्धा गर्नुभन्दा पनि आयातकर्ता व्यवसायीले नाडा मातहत रहेर काम गर्नुपर्ने धारणा राखे ।

नयाँ संस्थाको यो जन्मले नाडालाई ठूलो प्रभाव पर्न सक्ने उनको तर्क छ । नाडाको वर्तमान नेतृत्वले विभाजन भएका कम्पनी र व्यक्तिहरूलाई मिलाएर अगाडि बढ्न सुझाव दिए ।

कतिपयले अब दुई संस्थाले अटो शो आयोजना गर्दा सवारी साधनको मूल्य सस्तो पर्न सक्ने भन्दै खुसी पनि मनाइरहेका छन् । विगतमा एउटै नाडा अटो शो हुँदा व्यापारीले ठूलो मार्जिन राखेर नाफा कमाउने भएपनि अब दुइटा अटो शो हुँदा प्रतिस्पर्धाकै लागि भएपनि कम मार्जिन राख्दा सवारी साधनको मूल्य पनि सस्तो पर्न सक्ने बताइन्छ ।

नयाँ स्थापना भएको संस्था नाइमाले नाडाभन्दा पृथक काम गर्ने दाबी गर्दै आएको छ । नीति निर्माण, सडक सुरक्षा र यातायात पूर्वाधारका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारी निकायहरुसँग नजिकबाट सहकार्य गरेर अगाडि बढ्ने रणनीति नाइमाको छ ।

नाइमाको तदर्थ समितिको नेतृत्व रितुसिंह वैद्यले गरिरहेकी छन् । हाल नाडाको अध्यक्ष करण चौधरी छन् । चौधरीले नयाँ संस्था स्थापनाको विषयप्रति आपत्ति जनाउँदै आएका छन् ।

व्यवसायी विभाजित भए पनि ‘नाडा अटो शो’ को अधिकार नाडालाई, बिग कर्पोरेट हाउस सहभागी हुनेमा दुविधा